काठमाडौं महानगरमा नेपालभाषा शिक्षणका लागि प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं, २० फागुन २०७७ ।

हिजोबाट काठमाडौं महानगरपालिकाले ‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ सुरु गरेको छ । वडा २२ को नेपाल आदर्श माध्यमिक विद्यालयमा प्रशिक्षण शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको सम्पदा संरक्षण गर्ने क्रममा यहाँको स्थानीय भाषा नेपालभाषामै स्थानीय पाठ्यक्रम पठनपाठन गर्न लागिएको बताउनुभयो । ‘हामीले नगर सभाबाट सर्वसम्मत निर्णय गरेर स्थानीय पाठ््यक्रम तर्जुमा गरेका हौं । यो महानगरपालिकाको संस्थागत निर्णय हो । थालनी भएकोले यसमा केही सुधार गर्नुपर्ने पक्ष हुन सक्छन् ।’ शाक्यले थप्दै भन्नुभयो, ‘नीतिगत यसका व्यवस्थालाई व्यवहारिक कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक छ । ’पाठ्यक्रम सुधारमा सबैबाट सुझावको अपेक्षा गर्दै प्रमुख शाक्यले सुझाव आत्मसात गर्दै अघि बढ्ने बताउनुभयो ।

३ दिनसम्म चल्ने प्रशिक्षण नेवाः स्यनामि दबू नेपाल मण्डलको संयोजनमा महानगरको शिक्षा विभागले आयोजना गरेको हो ।

त्यस क्रममा बोल्दै वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले भन्नुभयो — ‘स्थानीय नेपालभाषाको माध्यमबाट स्थानीय पाठ््यक्रम पठनपाठन गर्ने मेयर विद्यासुन्दर शाक्यको यो निर्णयले भाषा आन्दोलनका अभियन्ताहरूले दशकौंदेखि उठाइरहेको मागको सम्बोधन भएको छ । आफ्नो वडाका विद्यालयहरूमा यसको कार्यान्वयन गर्न म सक्रिय हुनेछु ।’

शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार निर्णय कार्यान्वयन गराउन सबै संयन्त्र र प्रणालीलाई सक्रिय बनाइएको छ । यो कार्यान्वयनमा आए पछि अरु भाषाहरूलाई पनि आ–आफ्ना भाषामा पठनपाठन गराउन प्रेरणा मिल्नेछ ।’

कार्यक्रममा नेवाः स्यनामि दबूका पदाधिकारीहरू कृष्णभक्त श्रेष्ठ र वरुणप्रसाद वैद्यले महानगरको सम्पदा, संस्कृति र परम्पराको पुस्तान्तरण तथा विस्तारका लागि यो महानगरको महत्वपूर्ण निर्णय भएको बताउनुभयो ।

काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’ पठनपाठन गराउन १७२ जना प्रशिक्षण सहायकसँग करार सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रक्रियाबाट छनौट भएर आउनेहरूलाई अहिलेको तालिमका सहभागी प्रशिक्षकहरूले शिक्षण प्रशिक्षण गर्नेछन् ।

नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव मोती खनालकाअनुसार ‘पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय समेटिएका छन् । ‘पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन । परम्परागत ज्ञान सीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको हो । खनालकाअनुसार बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुनेछ । त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *