पीतपत्रकारिताको अर्को शिकार पत्रकार हिमेश रत्न बज्राचार्य

काठमाडौं, १० फागुन २०७७ ।

पछिल्लो समय सस्तो लोकप्रियताका लागि पीत पत्रकारिता गर्ने सञ्चारमाध्यमहरुको बिगबिगी बढेको छ । सस्तो लोकप्रियताका लागि सञ्चारको मूल मन्त्र सत्य तथ्य र निष्पक्षतालाई तिलाञ्जली दिई एकपक्षीय, तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण गरेर व्यक्तिगत र सामूहिक चरित्र हत्या हुने किसिमको समाचार प्रशारण गर्नुलाई नै केही सञ्चारमाध्यमले आफ्नो धर्मका रुपमा लिएको पाइएको छ ।

पत्रकार आचार संहिताको कुनै पनि बुँदा पालना नगरी आफ्नो मनमानी समाचार सिर्जना गरेर त्यसबाट समाज र व्यक्तिमा कस्तो असर पुग्छ भन्ने सामान्य मानवीय भावनाको समेत ख्याल नगर्ने यस्तो प्रवृत्तिले आम जनतात पीडित थिए नै पछिल्लो समय पत्रकारिता क्षेत्रमै समर्पित व्यक्ति पनि यसको शिकार बन्न पुगेको छ ।

“चिसो काठमाडौंमा चिसै मन भएका निर्दयी घरबेटी” शिर्षक दिएर एक टेलिभिजन च्यानलले प्रशारण गरेको समाचार कपोलकल्पित र भ्रामक भएको पत्रकार एवम् घरधनी हिमेशरत्न बज्राचार्यले बताएका छन् । उनले आफ्नो मखन कामपा २४ वडास्थित घरमा डेरा गरी बस्ने ललिता श्रेष्ठलाई जबरजस्ती कोठामा रहेको सामान फ्याँकेर निकालेको भनेर योहो टेलिभिजनले दिएको समाचार एकपक्षीय, भ्रामक र कपोलकल्पित हो भनेका छन् ।

उनले यसमा श्रेष्ठ परिवारको बदनियत देखिएको र एक सामान्य डेरा बसेको कोठा छोडेर जाने कार्यलाई नचाहिँदो रुपमा भ्रम सृजना गरेर आफ्नो प्रतिष्ठामा नै आँच पु¥याउने कार्य गरेको बताए ।

पत्रकार बज्राचार्यले लामो समयदेखि कोठा भाडा पनि नतिरेको र घरमा ट्यांकी राखेर पुनःनिर्माण गर्नुपर्ने भएकोले कोठा खाली गर्न ३ महिना अगावै सूचना दिएको बताएका छन् । यस अघि पनि पटक पटक कोठा खाली गर्न अनुरोध गरेको र कोठा खालि गर्ने दिन आफ्नै सहमतिमा सामान ओसारेर चोकमा थुपारेको र कामपा २४ वडा कार्यालयमा बाँकि घरभाडा तिर्न मञ्जुरीनामा समेत गरेको बताए ।

पत्रकार बज्राचार्यले आफू र आफ्नी श्रीमती पूजा शाक्यले ललिता श्रेष्ठ र उनका छोरा प्रज्वल श्रेष्ठलाई कुनै दुव्र्यवहार नगरेको बताउँदै यसअघि पनि कोठाभाडाको विषयमा विवाद हुँदा बाँकि रहेको कोठाभाडा तिर्न मञ्जुरी गरी महानगरीय प्रहरी परिसर जनसेवामा कागज गरी दिएको जनाए ।

टोलछिमेकका मानिसहरुले समेत ललिता श्रेष्ठको काम र व्यवहार उचित नभएको गुनासो आएको बताउँदै बज्राचार्यले ललिता श्रेष्ठ र उनको छोरा २०७६ फागुनमा कोठा डेरामा लिएर बस्न आएको समयमा आफूहरुसँग सम्पर्क समेत नगरेको तथा २०७७ भदौमा मात्र आंशिक रुपमा कोठाभाडाबापतको रकम प्राप्त भएको बताए ।

यसै सन्दर्भमा कामपा २४ वडाका सदस्य सुमन स्थापितले भने, ‘घरबेटीबाट ललिता श्रेष्ठ र उहाँको छोरा प्रज्वल श्रेष्ठलाई कुनै पनि किसिमको गलत आसयबाट काम भएको छैन । घरधनी हिमेशरत्न वज्राचार्य र उहाँकी श्रीमति पूजा शाक्यबाट कोठाको सामान फ्याँकेका होइनन्, बरु श्रेष्ठ परिवारले नै सामान ओसारेका हुन् । कुनै किसिमले जोरजबरजस्ती भएको छैन । आफैले सामान ओसारेर पछि हाम्रो सामान फ्याँकि दियो भनेर आरोप दिन्छ भनेर कसरी पत्याउने ?’

यसै सन्दर्भमा जनसेवाका डीएसपी दीलबहादुर मल्लले भने, ‘घटनाबारे जानकारी आउनासाथ प्रहरी पठाएका छौं । स्थानीयबासीसँग सोधपुछ गर्यौं । स्थानीयवासीले दिएको जानकारी अनुसार कोठा भाडामा बस्नेको धेरै नै कमजोरी रहेको देखिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *