संस्कृतिस्थानिय समाचार

स्व. लक्ष्मी नारायण महर्जन ९७औं स्मृति सभाः सम्पन्न

काठमाडौं, १६ माघ २०७७ ।

हिजो २०७७ माघ १५ गते विहिवार नरदेवी श्री श्वेतकाली गुठीका पूर्व मूलधामी तथा परम्परागत ङ्यत त्वाःका पूर्व त्वाःनायः स्व. लक्ष्मी नारायण महर्जनको सम्झनामा ९७औं स्मृति सभा सम्पन्न भयाे ।

का.म.पा. १८ वडा नरदेवी स्थित समिमुग गल्लीमा वि.सं. १९८१ पौष शुक्ल पूर्णिमाका दिन पिता जोगमान महर्जन तथा माता लक्ष्मी थुकुं महर्जनको कोखबाट जन्मिनु भएका वहाँका तीन छोराहरु देवकृष्ण महर्जन, श्यामकृष्ण महर्जन र शुरेस महर्जन रहेका छन् भने दुई छोरीहरु छोरी महर्जन र स्व. मय्जु महर्जन रहेका छन् । वहाँ २०७४ माघ ४ गते स्वर्गवास हुनुभएको थियो ।


बाल्यावस्था देखिनैं धार्मिक साँस्कृतिक क्षेत्रमा लगाव भएका वहाँ वि.सं १९९२ सालमा “तोपु” (श्री श्वेतकाली अजिमाको सुकुन्दा बोक्ने) का रुपमा श्वेतकाली गुठीमा प्रवेश गर्नु भएका वहाँ २००६ सालमा “उजाखालः“ (श्री श्वेतकालीको परम्परागत देवीनाचको वाद्यवादन समुह) मा प्रवेश हुँदै श्रीको देवीनाचका साथै परम्परागत धार्मिक साँस्कृतिक पर्व कार्यमा आफ्नो सकृयता देखाउनु भयो । यसै क्रममा श्री श्वेतकालीको धार्मिक परम्परा अनुसार २०१८ सालमा श्री श्वेतकालीको परम्परागत देवीनाचमा श्वेतकालीका प्रतिक प्रवेश गर्दै सो देवीनाच गुठीको मूल नाइकेका रुपमा जिम्मेवारी बहन गर्दै सम्पूर्ण रुपमा श्रीको सेवामा समर्पित हुनु भएको थियो । तत् पश्चान नरदेवी श्री श्वेतकालीको नित्यपुजा, प्रत्येक अष्टमी र चह्रेका दिन हुने सुदिरवढि २४ पर्वपुजाका साथै वालाचतुर्दशी, गठेंमंगल चह्रे, विजया दशमी खड्ग जात्रा, पाहाँचह्रेका दिन हुने श्रीको परम्परागत देवीनाच लगायत वर्षैभरि हुने विशेष पर्वपुजाका सम्पूर्ण कार्य वहाँकै नेतृत्वमा सम्पन्न हुँदै आएको थियो । त्यसैगरी परम्परागत ङ्यत त्वाःको त्वाःनायः र कजिका रुपमा जीवन पर्यन्त त्वाःगुठीको धार्मिक, साँस्कृतिक, सामाजीकका साथै सर्वाङ्गिन विकासकार्यमा नेतृत्वदारी भुमिकामा रहनुभएको थियो ।

यसैगरी श्री श्वेतकालीको परम्परागत देविनाच गुठीमा श्वेतकालीका प्रतिक भई श्रीको देवीनाच लगायत सम्पूर्ण गुठीको संरक्षकत्व प्रदान गर्दै गुठीको संरक्षण सम्वर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनु भयो । त्यसै क्रममा वहाँको नेतृत्वमा २००८ सालमा श्री श्वेतकलीको परम्परागत १२ वर्षे देवीनाच (काठमडौं, ललितपुर, भक्तपुर, वनेपा, किर्तिपुर गरी १२ स्थानमा) सम्पन्न भएको थियो । त्यसैगरी २०२२, २०३६ र २०६६ सालको १२ वर्षे देवीनाच पर्व पनि वहाँकै प्रमुख नेतृत्वमा सुसम्पन्न भएको थियो । पछिल्लो पटक २०७४ भाद्र ३१ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यतामा हनुमानढोका दरवार स्थित नासल चोकमा भएको श्रीको परम्परागत १२ वर्षे देवीनाच पर्व समापन कार्यक्रम पनि वहाँकै नेतृत्वमा सम्पन्न भएको थियो ।

यसरी आफ्नो ९३ वर्षे जीवनकालको सम्पूर्ण समय नरदेवी श्री श्वेतकाली (ङ्यतभुलु अजिमा) को सेवामा समर्पण गर्दै त्वाःगुठीको सर्वाङ्गिण विकासमा गर्नुभएको अमुल्य योगदानलाई मनन गर्दै स्व. लक्ष्मी नारायण महर्जन प्रति श्रद्धा सुमन अर्पण गरिएको छ ।

नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाज, परम्परागत ङ्यत त्वाःको आयोजनामा भएको यस स्मृति सभा नरदेवी ङ्यतपाचो स्थित श्री श्वेतकालीको मूल द्यःछेँ घरमा भएको हो भने सभाको अध्यक्षता संरक्षण समाजका अध्यक्ष सत्यनारायण डंगोलज्यूले गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *