विजयश्वरीको “तिसा सिलेगु” जात्रा सम्पन्न
मंसिर २८, काठमाडौं ।
हिजाे मङ्सिर कृष्ण त्रयोदशी अर्थात् कछलागा त्रयोदशी दिन विजयश्वरी मन्दिर परिसरमा “तिसा सिलेगु” अन्तरगत देवताका गरगहना सरसफाइ गर्ने कार्य सम्पन्न गरियाे । यस दिन गर्भगृहमा रहेको सबै देवीहरुको गर–गहनाहरु लगायत ढोका समेत निकाली धुने र सफा गर्ने गरियाे । जसलाई तिसा जात्रा पनि भन्ने गरिन्छ ।


हिजाेकाे दिन वर्षमा एकपटक देवीको सम्पुर्ण गर–गहनाहरु निकाली सफा गरि मन्दिर परिसरमा सुकाइन्छ । तत्पश्चात् गहनाहरुको मर्मत गरी पहिलेकै जस्तो बनाइन्छ । साँझपख सबै गहनाहरु लगाइ सबै देवीहरुको तान्त्रिक विधि अनुसार पूजा गरिछ ।
यस दिन देवीको गहना निकालेर खाली गर्ने भएकोले गहना निकालिसकेपछि मन्दिरमा रहेको मूल मुर्तिको दर्शन गर्न नदिई सम्यक महादान तथा अन्य विशेष पर्वहरुमा दर्शनको लागि निकालिने विजयश्वरी देवीको अर्को मुर्तिलाई खटमा राखी मन्दिर प्रवेश गर्ने मूलद्वारबाट दर्शनको लागि राखिन्छ ।
साँझ सो मूर्तिलाई जात्रा गरी मन्दिरमा भित्र्याएपछि यस वर्षको “बिज्यासःया तिसा सिलेगु” जात्रा सम्पन्न हुन्छ ।

यस शक्तिपिथका एक सदस्य दिपंकर रत्न शाक्यका अनुसार यी भगवानलाई बिज्यासः, विद्याधरी, विजयश्वरी, बेसःअजिमा आदि इत्यादि नामले पनि पुकारिन्छ भने हरेक १२ वर्षमा कलेवर फेर्ने जात्रा पनि हुन्छ ।


