लुँति अजिमा (इन्द्रायणी) जात्रा शुरु
मंसिर २८, काठमाडौं ।
बालाचःह्रे जात्राको पहिलो दिन मार्ग कृष्ण त्रयोदशी अर्थात् कछलागा त्रयोदशीका दिन गुथियारको घर, जसलाई नेपालभासाको बोलिचालीमा द्यःछेँ भनिन्छ, बाट विशेष पूजाआजा गरी परम्परागत सांस्कृतिक बाजागाजा सहित जात्रा गर्दै देवतालाई शक्तिपिथमा लगि बिराजमान गराए पश्चात बालाचःह्रे जात्रा शुरु हुन्छ ।



यस वर्ष कोभिड महामारीका कारण बालाचःह्रे जात्राका मुख्य देवता लुँति अजिमा (इन्द्रायणी) जात्रा गरी शक्ति पिथमा लगिएन भने अन्य देवताहरु शोभा भगवति, भुँडि गणेश, स्वाँछपु गणेशका मूर्तिलाई जात्रा गरि शक्तिपिथमा बिराजमान गराएको छ ।
दोश्रो दिन शक्तिपिथमा भक्तजनहरुको अत्यन्त भिड हुने गर्दछ भने सोही दिन पिथबाट खटमा बिराजमान गराई थँहिति चोकमा भक्तजनहरुको दर्शनार्थ राखिन्छ । भोलिपल्ट देय् जात्रा अर्थात् नगर परिक्रमा गरी भक्तजनबाट पूजा लिई पुनः द्यःछेँमा भित्र्याएपछि जात्रा समाप्त हुन्छ ।

लुँति अजिमाको सन्दर्भमा धेरै नै किम्बदन्तीहरु पाइन्छ । आमा बत्सलेश्वरी माईका काठमाडौं रहेका सबै छोरीहरुलाई पाँहाचह्रेमा घरमा बोलाई भोज गरेर मिठो मिठो खानेकुराहरु ख्वाएर पठाउछिन् । लुँति अजिमा एकदमै गरिब र धेरै बच्चाहरु भएका कारणले भोलि पल्ट बोलाउँछ । आमाको घरमा पुगेर दिदीबहिनीहरु खोइ त भनी सोध्दा उनीहरुलाई हिजै बोलाई सके भनी बासी खाना खुवाएर पठाउँछन् । यही कुराले लुँति अजिमाको चित्त दुख्छ र उनी र उनका सन्तानहरु खाना नखाई भोकै घर फर्किन्छन् । बाटामा तिनीहरुलाई साह्रै भोक लाग्छ । फसिकेबमा पुगेपछि त्यहाँबाट एउटा फर्सी टिपेर आफ्नो गन्तव्यतिर लाग्छन् । आफ्नो सहन् शक्ति घट्दै गएपछि साह्रै दुखः दिने बच्चाहरुलाई भने लुति अजिमाले बाटोमा छोड्दै जान्छन् । स्वाँछपु गणेशलाई थँहिति र छत्रपतिको बिचमा, भुँडी गणेशलाई धोबिचौरमा छोडेर अन्यलाई आफै सँग राखे र शोभा भगवती विष्णुमती खोला पारी । घर पुगेर फर्सि पकाउँदै गर्दा बच्चाहरुसँगै आफै पनि सुते । भोलिपल्ट बच्चाहरुलाई खुवाउनुप–यो भनी भाँडो खोली हेर्दा फर्सी सुनमा परिणत भई सोही बेलादेखि लुँति मरु अजिमा लुँति अजिमा भए । अर्को वर्ष पाहाँचह्रेको दिन आफू सुनचाँदी हिरामोतीबाट झकिझकाउ भै बालबच्चालाई पनि उस्तै गरी आमाकोमा भोज खान जान्छ । अरु दिदीबहिनीसँगै बसी भोज खाँदा मलाई होइन मेरो सम्पत्तिलाई खुवाएको भनी सुनलाई खुवाउँन थाल्छ । यसै रिसको झोकमा दिदी बहिनीहरुलाई देखाउन तिमीहरुको भन्दा अगाडि मेरो जात्रा चलाउँछु भनी पाहाँचह्रे भन्दा अगाडि नै लुँति अजिमाको जात्रा चलाए रे ।


