खेलसमाचार

स्पोर्टस् अफ अल कमिसनको अध्यक्षमा विष्णुगोपाल श्रेष्ठ

मंसिर २०, काठमाडौं ।

विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्टस् अफ अल कमिसन शुक्रबार गठन गरिएको छ । कमिटी अन्तर्गत रहने कमिसनमध्ये सबैभन्दा सक्रिय रहदै आएको यस कमिसनले अबको वर्षमा खेलकूदबारे जनचेतना ल्याउन विविध कार्यक्रम पनि गर्ने भएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठनको कार्यक्रममा शुभकामना व्यक्त गर्दै यस संस्थाले आम नेपालीमा खेलकूदको महत्व र आवश्यकताबारे बुझाउन सफल हुने कामना गर्नुभयो । उहाले भन्नुभयो, ‘खेलकूद खेलाडीसँग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक भाग हुनु पर्छ ।’

कमिसनका अध्यक्ष श्रेष्ठले भने आउने वर्षमा खेलकुदबारे जन चेतना बढाउन धेरै भन्दा धेरै कार्यक्रम गर्ने बताउनु भयो । उहाँले थप्नुभयो, ‘खेलकूद सबै बर्गलाई चाहिन्छ । खेलकूद प्रतियोगिता र पदक जित्ने भावनामा मात्र सीमित छैन, यो स्वास्थ्य क्षेत्रसँग पनि सम्बन्धित छ । कुनै न कुनै खेलमा सहभागी भएर स्वास्थ्य लाभ गर्न सकिन्छ ।’

यसअघिको स्पोर्टस् अफ अल कमिसन पनि श्रेष्ठकै अध्यक्षतामा रहेको थियो । यसले प्रत्येक वर्ष जुन २३ मा ओलम्पिक डे मनाउदै आएको छ । यसपल्ट पनि यो दिनलाई अझ प्रभावकारी तरीकाले मनाउन कमिसनले कार्यक्रम बनाउने भएको छ । नयाँ कमिसनको कार्यसमिति ११ सदस्यीय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *