ऐतिहासिक दस्तावेज “खड्ग पायः जात्रा” को लोकार्पण
मंसिर ३, ललितपुर ।
ललितपुर थेच्वका सांस्कृतिक अभियन्ता, सांस्कृतिक पत्रकार एवं नवदुर्गा भवानी देवी गुथी संरक्षण समिति, थेच्वका अध्यक्ष प्रशान्त मालीद्वारा लिखित “खड्ग पायः जात्रा” को लोकार्पण प्रमुख अतिथि माननिय कृष्णलाल महर्जनको प्रमुख आतिथ्यतामा गत आइतबार ललितपुर दरबार स्क्वायर स्थित पाटन संग्रहालयमा सम्पन्न भयो ।


सो पुस्तकको लोकार्पण माननिय सांसद् कृष्णलाल महर्जन, प्रदेश सभाका सासंद शोभा शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन तथा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले संयुक्त रुपमा गरिएको थियो ।
ललितपुर उद्योग वाणिज्य संघ र यल सांस्कृतिक पर्व संरक्षण समितिको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा स्थानिय खलः पुचः लगायत पुस्तक प्रकाशनमा सहयोग गर्ने संस्कृतिप्रेमीहरुलाई सम्मान समेत गरिएको थियो ।
पुस्तकमा काठमाडौंमा हुने खड्ग सिद्धि जात्रा लगायत ललितपुरको पायः जात्रा र सो सँग सम्बन्धित अन्य जात्राहरु थेच्व नवदुर्गा भवानी जात्रा, मनमानेश्वरी देवी जात्रा लगायत ललितपुर दरवार क्षेत्र भित्र मनाइने जात्राको बारेमा विस्तृतरुपमा वर्णन गरिएको छ ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरका सांस्कृतिक धरोहरहरुलाई जीवन्त राख्न ललितपुर महानगरपालिका हरदम सक्रिय रहेको जगजाहेर रहेको बताउँदै पायः जात्रा जस्ता अभिलेखिकरण योग्य पुस्तक प्रकाशनमा ललितपुर महानगरपालिका संलग्न हुन नपाएकोमा दुःख व्यक्त गर्नुभयो ।




लेखक प्रशान्त मालीले कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा पुस्तक प्रकाशनमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिंदै रोकिएका सांस्कृतिक धरोहरहरुलाई पुनः सञ्चालनमा ल्याउन सकेकोमा आफू लगायत यस महत्वपूर्ण कार्यमा सरिक सम्पूर्ण संस्कृतिप्रेमी खुशी रहेको बताउनुभयो ।


