लघु कथा “उपाय”

रमेश मानन्धर “अणु”
साहित्यकार
लघु कथा “उपाय”
“कासिम दाई, मलाई यसमा ५०० रुपियाँ थपेर दिनुस् न । मलाई खाँचो परीराखेको छ ।”
“अब तँलाई सँधै दिने जति त दिइ हालें नि, किन चाहियो बढी पैसा ?” कासिमले आफ्नो पर्स पाइँटको खल्तीमा राख्दै बोल्छ ।
“अब कुनबेला कहाँ कहाँबाट आएको मान्छेसँग सुत्नु पर्छ ठेगान छैन । अब काम नै यस्तो छ यो । मास्क लगाएर हुंदै हुन्न । बरु जिउको लुगा पुरै खोल्नु पर्दैन । मास्क त खोल्नै पर्ने । काम शुरु गर्नु अगाडि सम्पूर्ण अंगमा चुम्बन गर्नै पर्ने । काम गर्दा गर्दै पनि रोक्नै नहुने । अहिले भर्खरै पनि तपाइले मेरो मास्क खोल्न लगाउनु भो । अनि आफूले पनि खोल्नु भो । हिजोदेखि जिउ भारी भए जस्तो भै राखेकोले एकपटक कोरोना (पिसिआर) टेष्ट गरौं कि भनेर सोच्दै छुँ । पैसा नपुग भइराखेकोले केही बढी मागेको ।” रमैया आस गरेर कासिमको मुख हेरी रहन्छे ।
एकछिन बिचार गरेर कासिमले भन्छ, “एउटा उपाय छ मान्ने हो ?”
“भन्नुस न । मिल्ने भए मानौंला ।”
“तिमीले भनी हाल्यौ । मलाइ पनि डर भो । भोलि गएर म कोरोना छ छैन चेक जाँच गरेर आउँछु । यदि पोजेटिभ आए तिमी र म सँगै क्वारेन्टाइनमा बस्न जाने । नेगेटिभ आए मैले चेक गर्दा लागेको खर्च तैंले आधा व्यहोर्ने है त ?”
“मसंग पैसो भे पो व्यहोर्ने ।”
“धत् लाटी, तैंले व्यहोर्न पैसै चाहिन्छ ? यी यसो आउँदा पैसा नलिए त भै गो नि ।” भन्दै फेरि रमैयालाई आफ्नो अंगालोमा लिन्छ ।
“कासिम दाइ, आजलाई भो भने । विलासले पनि फोन गरेथ्यो आउँदै होला ।”
तर कासिम मान्ने वाला थिएन ।