संस्कृति

महिलाहरूको महान चाड हरितालिका तीज आज

भदाै ७, काठमाडाैं ।

आज हिन्दू नेपाली महिलाहरूको महान चाड हरितालिका तीज अन्र्तगत ऋषिपञ्चमी पर्व मनाउँदै छन । हिन्दू संस्कारअनुसार ऋषिपञ्चमीको महत्वलाइ हेर्ने हो भने नारीहरू रजस्वला हुँदा जानेर वा अन्जानमै गरिएका पापहरूबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत बस्ने गर्दै आएको हो । आजको दिन राजधानीको कामपा वडा न १२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । त्यस्तै ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने प्रचलन रहिआएको छ ।
रजस्वलाका समयमा छोइछिटो लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ । नारी रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन ३६५ वटा दतिवनका दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुने विस्वास रहिआएको छ ।
नारीहरू आजको दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ । त्यस्तै आजको दिन ऋषिपञ्चमीको अवसरमा भक्तपुरको गुप्तेश्वर महादेवको मन्दिरमा पनि भव्य मेला लाग्दछ । त्यस्तै काठमाडौं पश्चिमभेगमा अवस्थित विष्णुदेवी मन्दिर परिसरमा, भक्तपुरको बालकोट, सिरुटार र ललितपुरको टीकाथलीमा रहेका सप्तऋषिको मन्दिरमा पूजा गर्ने महिलाहरुको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ ।
यसपाली कोभिड १९ को महामारीका कारण गरिएको निषेधाज्ञाले गर्दा मन्दिरहरुमा जमघट नाचगान प्रायः शुन्य नै रहेको छ ।

कामपा वडा न १२ टेकुस्थित ऋषेश्वर महादेव दर्शनार्थ लाम लागेका भक्तजनहरु (फाइल फोटो)
कामपा वडा न १२ टेकुस्थित ऋषेश्वर महादेव दर्शनार्थ लाम लागेका भक्तजनहरु (फाइल फोटो)

ऋषिपञ्चमी व्रतकथा 

एकपटक विदर्भ देशमा उत्तङ्क नामका ब्राह्मण आफ्नी पतिव्रता पत्नीका साथमा निवास गर्दथे। उनको परिवारमा एउटा पुत्र र एउटी पुत्री थिए। पुत्रको नाम सुविभूषण थियो, नामजस्तै ऊ बुद्धिद्वारा विभूषित थियो। ब्राह्मणले आफ्नी छोरीको विवाह एकजना असल ब्राह्मणसँग गरिदिएका थिए तर भाग्यवश उनकी पुत्री विधवा हुन पुगेकी थिइन्। उनी आफ्नो वैधव्य माइतमैं बसेर गुजार्दै थिइन्। उत्तङ्क ब्राह्मण आफ्नो आउँदो वृद्धावस्था र दुःखी कन्यालाईसमेत लक्षित गरी पुत्रलाई घरव्यवहार जिम्मा लगाएर आफ्नी स्त्री र पुत्रीका साथमा गङ्गाका तटमा आश्रम बनाएर बस्न थाले। कन्याले पनि आफ्ना वृद्ध मातापिताको सेवाका साथै आफूलाई ईश्वर आराधनामा लगाउन थालिन्। एक दिन दिनभरि काम गरेर थाकेकी ती ब्राह्मणपुत्री आश्रम नजीकै एउटा ढुङ्गोमा अडेस लागेर आराम गर्ने उद्देश्यले पल्टिइन्। आधा रातमा ती कन्या निदाएकै बेला उसको शरीरमा किरा उत्पन्न भए। बिहान बिउझँदा आफ्नी छोरीको शरीरमा किरा परेको देखेर ब्राह्मणी असाध्यै विलाप गरी रुन थालिन् र रूँदारुँदै बेहोस भइन्। होश फर्किएपछि कन्यालाई बोकेर आफ्ना पति ब्राह्मण उत्तङ्क ॠषि भए ठाउँमा लिएर गइन् अनि पुत्रीको अवस्था किन त्यस्तो हुन गयो भनी अनुरोध गरिन्। ब्राह्मणीका कुरा सुनेर उत्तङ्कले आफ्ना आँखा थुनी ध्यानदृष्टिले विचार गरी भने- हाम्री छोरी पूर्वजन्ममा कुनै एउटी ब्राह्मणी थिइन्। यिनले एक पटक रजस्वला हुँदा घरका समस्त भाँडाकुँडा चलाउनुका साथै स्पर्सस्पर्साको ख्यालै राखिनन्।

यत्ति दोषका कारण यस जन्ममा यिनको शरीरमा किरा परेका हुन्। शास्त्रअनुसार रजस्वला भएर बिटुलिएका स्त्रीहरू पहिलो दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघाती, तेस्रो दिन पवित्र धोबिनीसमान हुने गर्दछन् र चौथो दिन स्नानपश्चात् शुद्ध हुने गर्दछन्। घरव्यवहारमा शुद्ध मानिए पनि पाँचौं दिनमा मात्र देवकार्यका निम्ति र सातौ दिनमा पितृकार्यका निमित्त योग्य हुने गर्दछन्। पछि जब ऋषिपञ्चमीको व्रतको अवसर प्राप्त भयो र आफ्ना सँगीसाथीले व्रत लिन सुझाव दिँदा समेत वास्ता गरिनन्। व्रत र पूजाआजाको दर्शन मात्रले गर्दा यिनले ब्राह्मण कुल प्राप्त गरिन्। तर यिनले व्रत लिन तिरस्कार गरेकी हुनाले यिनको शरीरमा किरा परे। ब्राह्मणीले पतिका कुरा सुनेपछि यस्तो आश्चर्यमय व्रतका बारेमा, जुन लिनासाथ पाप नष्ट हुने गर्दछ, हजुरले कृपा गरी मलाई बताउनुहवस्। त्यसपछि श्री कृष्णले युधिष्ठरलाई सुनाउनुभएको कथा ब्राह्मणले पत्नी र पुत्रीलाई सुनाए।

सत्ययुगमा विदर्भ नगरीमा श्येनजित नामक राजा सुखपूर्वक राज्य गर्दथे। ती ॠषितुल्य थिए। उनको राज्यमा एक जना सुमित्र नामका कृषक थिए। किसानकी पत्नीको नाम जयश्री थियो, उनी अत्यन्त पतिव्रता थिइन्। एकपटक वर्षा ॠतुमा खेतीको काममा व्यस्त रहेका बेला ती रजस्वला भइन्। उनले आफू नछुने भएको त थाहा पाइन् तर त्यसलाई वास्ता नगरी उनी आफ्नो काममा खटी रहिन्, छोइछिटोमा पनि यादै गरिनन्। समय बित्दै गयो। आयु पूर्ण भएपछि ती दुबै मृत्युवरण गर्न पुगे। अर्को जन्ममा रजोवती हुँदा नियम र मान्यतालाई पालना नगरेकाले जयश्रीले कुकुर्नी भएर र परसरेकी स्त्रीको सम्पर्कमा आउनाले सुमित्रले गोरु भएर जन्मनु पर्‍यो। बास्तबमा ॠतुदोषबाहेक ती दुबैले केही अपराध र पापकर्मा गरेकै थिएनन्। उनीहरूलाई पूर्वजन्मका समस्त विवरणको सम्झना थियो। संयोगले ती दुबै कुकुर्नी र गोरुका रूपमा आफ्नै छोरो सुचित्रका घरमा बस्नथाले। उनीहरूको छोरो धर्मात्मा थियो। ऊ शास्त्रीय मर्यादालाई पालना गर्नुका साथै समस्त जीवजन्तुमा समेत दयाभाव राख्दथ्यो। एकपटक आफ्ना पिताको श्राद्धका दिन उसले ब्राह्मणभोजनका लागि ब्राह्मणहरूलाई निमन्त्रणा गरेको थियो र उसकी पत्नी उक्त प्रयोजनका लागि अनेक परिकार तयार गर्न व्यस्त थिई।

त्यसै समयमा उसकी स्त्री कुनै काम विशेषले भान्साबाट बाहिरिएकै अवसरमा एउटा सर्पले भान्साघरमा प्रवेश गर्‍यो र पायस पकाएको भाँडोमा विष वमन गरेर अलप भयो। उता कुकुर्नीका रूपमा ढोकामा बसेकी सुचित्रकी आमाले त्यो घटनालाई नियाली रहेकी थिइन्। आफ्ना छोराबुहारीलाई ब्रह्महत्याको पापबाट जोगाउन त्यस कुकुर्नीले बुहारी भान्सामा फिर्ता आएपछि उसले देख्दादेख्दै त्यस खिरको भाँडोमा मुख गाडिदिई। सुचित्रकी पत्नी चन्द्रवतीले कुकुर्नीको त्यो कृत्य देख्न सकिन र उसले चुलोबाट बल्दै गरेको दाउरो झिकेर त्यस कुकुर्नीलाई हिर्काई। कुटाइ र पोलाईबाट तिलमिलाएकी त्यो कुकुर्नी यताउता कराउँदै कुद्न थाली। सम्पूर्ण पक्वान्न फ्यालेर सुचित्रकी पत्नीले पुनः खाद्यसामग्री तयार गरी ब्राह्मणभोजन गराई। ब्राह्मणहरू आशीर्वाद प्रदान गर्दै ती जोइपोइसित विदावारी भैइ आ-आफ्ना गन्तव्यतर्फ लागे। उता दिनभरि व्यस्तरहँदा र कुकुर्नीको कृत्य सम्झँदै त्यस दिन कुकुर्नीलाई खान पनि दिएनन् भने गोरुलाई पनि घाँस हाल्न बिर्सिए ।राती भोक र प्यासले व्याकुल भई त्यो कुकुर्नी गोरुका रूपमा रहेका आफ्ना पतिसामु गई बिलौना गर्न थाली- हे स्वामी! आज म असाध्यै भोकाएकी छु, हुन त मेरो छोरू सधैं मलाई बोलाएर खानेकुरा दिने गर्थ्यो, तर आज सम्झँदा पनि सम्झिएन। छोराबुहारीलाई ब्रह्महत्याको दोष नलागोस् भनेर मैले विषयुक भोजनमा जुठो हालेकाले वास्तविकता नबुझी बुहारीले पनि बेस्सरी कुटी। पत्नीका कुरा सुनेर त्यस गोरुले भन्यो- हे भद्रे! तेरा पापका कारणले नै म पनि आज यस योनिमा जन्मन पुगें अनि भारी बोक्दाबोक्दा हत्तुहैरान भैसकें। आज त अझ बढी भारी बोक्नु परेकाले मेरो कम्मरै भाँचिएको छ।

अझ मैले यस्तो अवस्थामा समेत आज दिनभरि हलो जोत्नु पर्‍यो। कार्यव्यस्तताले हो कि किन हो आज मलाई घाँसपात समेत दिएको छैन। विचरा उसले हामीलाई चिनेको छैन, हाम्रै लागि गरेको आजको श्राद्ध पनि हाम्रो   निष्फल हुनेभयो। सुचित्र धर्मात्मा थियो, ऊ पशु बोलीलाई बुझ्दथ्यो। उसले कुकुर्नी र गोरुको संवादलाई प्रष्ट सुन्यो र ती दुई त आफ्ना बाबुआमा भएको थाहा पायो। त्यसपछि सर्वप्रथम उसले दुबैसित क्षमायाचना गर्दै पेटभरि खान दियो। अनि मातापिताको दुःख निवारणको उपाय पत्ता लगाउन ऊ वनतर्फ प्रस्थान गर्‍यो। वनमा गएर ॠषिहरूसँग जिज्ञाशा राख्यो- मेरा मातापिता कुनकुन कर्मका कारणले यस्तो नीच योनिमा प्राप्त भएका हुन् र अब कसरी वहाँहरूले छुटकारा पाउन सक्नुहुनेछ।

किसानपुत्र सुचित्रका जिज्ञाशा सुनेपछि ऋषिसमूहमा व्यापक चिन्तनमनन भयो। अन्त्यमा ती मध्ये एकजना सर्वतमा नामक ॠषिले भने- हे भद्र! तिमी आफ्ना मातपिताको मुक्तिका निमित्त पत्नीसहित भई ॠषिपञ्चमीको व्रत लेऊ र त्यसको फल आफ्ना माता-पितालाई अर्पण गरिदेऊ। भाद्र महिनाको शुक्लपक्षको पञ्चमीका दिन शुद्धाचरण गरी मध्यान्हकालमा नदीको पवित्र जलमा स्नान गर्नु र नयाँ रेसमी लुगा लगाएर अरूधन्तीसहित सप्तॠषिहरूको पूजा गर्नु। ऋषिका यस्ता आज्ञा प्राप्त गरेपछि सुचित्र आफ्नो घर फर्कियो र आफ्नी पत्नीसहित विधिविधानपूर्वक पूजा र व्रत गर्‍यो। यसको पुण्य मातापितालाई समर्पण गरेपछि ती दुबै पशुयोनिबाट मुक्त भए।

त्यसैले जुन स्त्रीले श्रद्धापूर्वक ॠषिपञ्चमीको व्रत लिने गर्दछिन्, ती समस्त सांसारिक सुखलाई भोग गरी अन्त्यकालमा वैकुण्ठ पुग्दछिन्। जुन स्त्रीले रजस्वला हुँदा घर नित्यकर्ममा संलग्न हुने गर्दछिन् तिनले नरक जानुपर्दछ किनकि पूर्वजन्ममा वृत्रासुरको बधको परिणामले इन्द्रलाई ब्रह्महत्याको महान् पाप लागेको थियो। त्यस समय ब्रह्माजीले इन्द्रमाथि कृपा गर्दै त्यस पापलाई चार स्थानमा बाँडे। पहिलो अग्निमा (धुँवामिश्रित प्रथम ज्वालामा), दोस्रो नदीमा(वर्षाकालको गाँज र मैलोयुक्त पानी), तेस्रो पर्वतमा(जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र चौथो स्त्रीमा (रजस्वला अर्थात् मासिक धर्ममा)। स्त्रीमा रहेको यही ब्रह्महत्याको दोष निवारण गर्न प्रत्येक स्त्रीले ॠषिपञ्चमीको व्रत गर्नु अनिवार्य छ। पतिदेवका मुखारविन्दबाट ऋषिपञ्चमीको महात्म्य सुनेर ती ब्राह्मणी र उनकी छोरी दुबैजनाले विधिविधानपूर्वक ऋषिपञ्चमीको व्रत लिए र उक्त व्रतको प्रभावले कन्याको शरीर स्वस्थ भयो। तिनीहरूले जीवनभरी सुखसम्मृद्धि पाउनुका साथै मरणोपरान्त उत्तमलोक प्राप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *