होलि पर्व र यस भित्रका केही कुरा

–लेखक तथा फोटोग्राफर शरण डंगोल
ऋतुराज बसन्तको आगमनसँगै नेपाल उपत्यकामा जात्रा पर्वको शुरुवात हुने हुन्छ । त्यसै क्रमको एउटा पर्व हो होली । जसलाई फागु पनि भनिन्छ । अबिरको जात्रा पनि भनिन्छ । हिन्दूहरुले मनाउने यो पर्व नेवार समुदायमा पनि अत्यधिक प्रभाव रहेको छ । जसमा एउटा निकै नै गीत प्रचलित छ ‘अबिरया होली तं चायाला ल्यासे, अबिरं छंगु ख्वा हिसी दयेका बि’ । प्राचीनकालदेखि प्रचलित हुँदै आएको यो पर्वलाई बसन्तोत्सवको रुपमा पनि लिइने गरिन्छ । विभिन्न प्राचीन ग्रन्थहरु कामसूत्र, लिङ्गपुराण, वराहपुराण, भविष्योत्तरपुराण, महाभारत आदिमा यस पर्वलाई आ–आफ्नै कथा वस्तु अनुसार होली या फागुको वर्णन गरिएको पाउँछौ ।

गोपालराज वंशावली अनुसार नेपालमा यो पर्व पूर्व मध्यकालदेखि शुरु भएको इतिहास पाइन्छ । होली फाल्गुण अष्टमीका दिन चिरोत्थान पश्चात आठ दिनसम्म मनाइन्छ र पूर्णिमाको दिन चिरदाह पश्चात यो पर्वको समाप्ति हुन्छ ।
आख्यान अनुसार भगवान् श्री कृष्णको समयमा गोपिनीहरू यमुना नदीमा सर्वाङ्ग नाङ्गो रही नुहाउने गर्दथे । सर्वाङ्ग नाङ्गो भई नुहाउनु अशोभनीय कार्य हुँदा श्रीकृष्णले ती गोपिनीहरूलाई ठीक बाटोमा ल्याउने उद्देश्यले तिनीहरू नुहाइरहेको बेला तिनीहरूका लुगा फाटो सम्पूर्ण रूखमा झुण्ड्याइदिएका थिए । पछि ती ग्वालिनीहरूले आइन्दा नाङ्गो भई ननुहाउने बाचा गरेपछि भगवान् श्रीकृष्णले उक्त लुगाहरू तिनीहरूलाई पुनः फर्काइदिएका थिए । चिरोत्थान गर्दा रूखमा विभिन्न रंग विरंगी कपडाका टुक्राहरू झुण्ड्याउने जुन परम्परा छ त्यसको सम्बन्ध उपर्युक्त आख्यानसित नै सम्बद्ध रहेको स्पष्टतः देखिन आउँछ ।
त्यस्तै अर्को आख्यान अनुसार दानवराज हिरण्यकशिपुले आफ्ना विष्णुभक्त पुत्र प्रल्हादलाई बहिनी होलिकासँगै आगोमा राखी दाह गर्ने प्रयास गरेको, तर प्रल्हादलाई आगोले नछोएको र अग्निले नछुने वरप्राप्त होलिका स्वयम् नै दाह भएको घटनालाई लिई तिनकै नाममा होली उत्सव मनाई चिरदाह गरिएको सित सम्बन्ध रहेको स्पष्टतः देखिन आएको छ ।
आज यहाँ यस पर्व भित्र लुकेको केही कुरा राख्न चाहन्छु । यो पर्व चिरोत्थानका लागि खट्ने स्थानिय धालासिक्व मानन्धर समूहलाई महाशिवरात्री पर्वको केही दिन पछि देखि नै होलि पर्वले छोइकेको हुन्छ चिरोत्थानको लागि नभै नहुने ३२ हात लामो बाँसको खोजिबाट । अब त यो बाँस पनि बस्ति विकाससँगै उपत्यकाबाट हराउन थालेको र अबको ६/७ वर्षको लागि मात्र पुग्ने बाँस बाँकी भएको बताउँछन् गुथियार सदस्यहरु । भालुबाँस, सायद भालुको मनपर्ने खाना भएकोले यसको नाम भालुबाँस रहन गएको हो की (लेखकको बिचार), हत्तपत्त जोगाउन मुस्किल । तामाको लागि यसको मुना अति आवश्यक, यो भएन भने सायदै हामीले खान पाउँछौं होला ‘आलु तामा‘ । ‘आलु छ्वं’ (आलु तामा) नेवारी समाजमा अतिव महत्व छ, कुनै पनि भोजमा यसको अनुपस्थिति कमै होला । अबको केही वर्ष पश्चात पर्व चलाउन यो भालुबाँसै नपाउला की भन्ने चिन्ताले यसलाई सुरक्षित गर्न गुथियारहरु र स्थानिय सरकारबीच छलफल अघि बढि सकेको रहेछ ।
संस्कृतिविद् हरिराम जोशीका अनुसार तीन तहको चीर स्वर्ल्लोक, मत्र्यलोक र पाताललोकको प्रतिक स्वरुप रहेको बताउनुहुन्छ । पहिले पहिले चिर ढालीसकेपछि जात्रा गर्दै लगिने बाटामा रहेको कपडा पसलहरुबाट सित्तैमा कपडा दिन्थ्यो रे । खर्च वर्चको लागि उहिले सरकारबाट ‘च्यानछ धेबा’ (३३ पैसा) बाट काम गर्थ्यो रे गुथियारका पुर्खाहरुले । जोशीका अनुसार ३३ पैसाको अर्थ हाम्रो हिन्दू धर्म शास्त्र अनुसार ३३ कोटी देवताको प्रतिक रुपमा रहेको पनि बताउनु हुन्छ । सायद उहिले जात्रा पर्वलाई धर्ममा जोड्ने क्रममा ३३ कोटी देवताको उपस्थिति गराई यो होली पर्व अवलोकन गर्न गराएको आभाष दिन पनि हुन सक्छ जात्राको लागि ३३ पैसा दिने चलन चलाएको । केही वर्ष अघिसम्म एक हजार रुपैया दिने गरिएकोमा हाल केही थप भएको छ जसबाट समेत यो पर्व चलाउन धौ धौ भैरहेकोमा नपुग रकम गुथियारहरु आफैले जोरजाम गरी पर्व निरन्तररुपमा संचालन गर्दै आइरहेकोमा वहाँहरु धन्यवादका पात्र हुनुहुन्छ हाम्रो संस्कृतिलाई जीवन्त बनाउन सफल हुनु भएकोमा ।
फूर्सद छैन वहाँहरुलाई विहानदेखि कपडा किन्न जाने, ल्याएर साइज अनुसार काट कुट गर्ने त्यो पनि पालै पालो । कोही चिया बनाएर खुवाउँदैछन् । अलि पाको, जान्ने बुझ्नेले, आफूले जानेबुझे अनुसार यो भएन, यसरी भएन, यसरी गर्नु पर्छ भन्दै नयाँ पुस्तामा पर्व तयारीको ज्ञान बाँड्दै छन् ।
चिरमा झुण्ड्याइने रङ्गी बिरंगी कपडाका टुक्राहरुलाई मिलाएर सिलाउनको निमित्त सरकारी तवरबाट सुचिकारको आवश्यकतालाई परिपूर्ति हुँदै आइरहेको छ । परापूर्व कालमा राजामहाराजाबाट, पछि श्री ५ को सरकारले यसलाई निरन्तरता दिएको थियो भने अहिले नेपाल सरकारको गणतन्त्रात्मक व्यवस्थासम्म आउँदा ७२ वर्षिय श्री भीम बहादुर दमाई (परियार) लाई यसको जिम्मेवारी सुम्पेको छ । दरबारबाट आफ्नो सरकारी सेवा शुरु गरेका, झण्डै आधा शताब्दी अर्थात विगत वि.सं. २०२६ सालदेखि निरन्तररुपमा चिरमा झुण्डीरहेको कपडाका रङ्गीचङ्गी टुक्राहरु सिलाउनको लागि बालकोट भक्तपुरका भीमबहादुर दमाई, जो हरेक जात्रा पर्वहरुमा सरिक हुँदै आउनु भएको छ, लाई खटाइएको छ । काजमा खटाएको चिठ्ठी देखाउँदै धर्म कर्म जात्रा पर्वमा रमाउन पाएकोमा खुशी हुनुहुन्छ । श्री ५ को सरकारको राज्यव्यवस्थादेखि हाल गणतन्त्रात्मक व्यवस्थासम्म सरकारी सेवामा लागि यहाँका हरेक जात्रा पर्वहरुमा संलग्न हुँदै आइरहेको इतिहास छ वहाँमा । श्री पञ्चमी, इन्द्रजात्रा, दशैं लगायतका जात्रा पर्वहरुमा उहाँको संलग्नता रहँदै आएको छ । वहाँको काममा सघाउन वहाँको परिवार पनि संलग्न रहँदै आएको देखियो । वहाँको धर्मपत्नी र छोरी पनि सँगै चिरमा झुण्ड्याउने कपडाका टुक्राहरु सिलाउँदै गरेको पाइयो ।
यहाँ मनाइने कुनै पनि जात्रा पर्वमा एकै जातिको मात्र संलग्नता नभई विविध जात जातिको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहेको पाइन्छ । त्यसमा पनि कुनै कुनै जात्रा पर्वलाई राजकिय सम्मान पनि दिने गरिंदै आएको छ । त्यस्तै यस होली पर्वमा पनि मानन्धर, मारवाडी र दमाई जातिको प्रत्यक्ष संलग्नता रहेको देखिन्छ । नेवार समुदायको मानन्धरहरुबाट चिरको लागि आवश्यक सरसामानको व्यवस्था गरी तयार गरी राजकिय सम्मान साथ गुरुजुको पल्टनसहित चिर ठड्याइन्छ भने चिरमा रहेका कपडाहरु मिलाएर सिलाउन सुचिकार (दमाई) को व्यवस्था सरकारबाट मिलाइएको छ । अन्तमा चिर ढाली टुँडिखेलमा चिर दाह गर्ने गरिन्छ ।
सोही दिन साँझ जहाँ किलागलका ज्यापु समुदायले एक मुरी चामलको भात र एउटा सिंगै राँगोको मासुको परिकार बनाएर लगि टुँडिखेलमा ‘गुरुमापा’लाई भोज खुवाउने गरिन्छ ।
(साभार ः स्वतन्त्र सञ्चारग्राम साप्ताहिक, २०७५ चैत्र १ गते)