जात्रा पर्वफाेटाे फिचरसंस्कृति

नरदेवी १२ वर्षे नाच कालभैरव पछाडिको डबलीमा सम्पन्न आजबाट अगाडिको डबलीमा

७ मंसिर, २०८१ ।
शरण डंगोल, काठमाडौं ।
झण्डै ५० वर्षपछि हनुमानढोका दरबार क्षेत्र अन्तर्गत कालभैरव अगाडि र पछाडि रहेको डबलीमा श्री नरदेवी १२ वर्षे जात्रा भइरहेको छ ।
मंसिर ५ गते साँझ नेतपाच्वस्थित देवघरबाट देवगणहरु कालभैरव पछाडिको डबलीमा नृत्य प्रस्तुत गर्न निस्केको थियो । मध्यरातसम्मको नृत्य पश्चात नृत्यले विश्राम लिएको थियो भने ६ गते बिहानैदेखि नृत्य प्रस्तुत गर्दै साँझ समाप्त भएको थियो ।
देवगणहरु देवघरबाट नरदेवी मन्दिर, यतखा, कम्फुकोट हुँदै हनुमानढोका दरबार क्षेत्रमा प्रवेश गरेपश्चात् हनुमानढोका दरबार क्षेत्र परिक्रमा गरी कालभैरव पछाडिको डबलीमा प्रवेश गरेको थियो । यस अघि देवगणहरु हनुमानढोका दरबार क्षेत्रतर्फ न्ह्यासुलंकेगु गर्दा नरदेवी मन्दिर चौबाटोमा श्री अजिमा र श्री कुमारीको विशेष गुह्य पूजा गरिएको थियो भने स्थान विशेषमा सम्पूर्ण देवगणहरुले द्यःल्हायेगु नृत्य पनि प्रस्तुत गरेको थियो ।
यसरी १२ वर्षे नृत्य प्रस्तुत गर्ने क्रममा दुबै दिन बलि सहितको तान्त्रिक पूजा हुने हुन्छ भने देवगणहरुको नृत्य पनि तन्त्रमा आधारित रहेको हुन्छ । सोभन्दा अघि देवघरभित्र पनि बलि सहितको गुह्य तान्त्रिक पूजापश्चात देवगणहरु जात्राको लागि गन्तव्यस्थलतर्फ प्रस्थान गरेको थियो ।
स्थानिय बोलिचालिमा ङतभुलु अजिमा भनिने यस देवीको १२ वर्षे जात्रामा सुथमाजु, गणेश, कुमार, महादेव, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी (वैष्णवी), महालक्ष्मी, बाराही, कुमारी, भैरव, अजिमा, चण्डेश्वरी, सिगिनी, ब्यांगिनी, चन्डासुर दैत्य, ध्वचा र खिचाको नृत्य प्रस्तुत गर्ने गरिन्छ । यस नृत्यमा प्रयोग गरिने बाजाहरुमा दंगखि, पोंगा, भुस्याः, छुस्याः र ताः रहेको पाइन्छ भने चचा गीतमा पनि नृत्य प्रस्तुत गर्ने गरिन्छ ।
आज र भोलि अर्थात ७ र ८ गते कालभैरव अगाडिको डबलीमा १२ वर्षे जात्रा प्रस्तुत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *