पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्रा अन्तर्गत ग्वय् दां तयेगु सम्पन्न
२८ असार २०८०, शरण डंगाेल, काठमाडौं ।
पचली भैरवको १२ वर्षे खड्गसिद्धि जात्रा शुरू भएको छ । श्रावण कृष्ण एकादशी अर्थात कामिका एकादशिका दिन गुथिका नायः, गुरू, देवगण र श्रद्धालु भक्तजनहरु बाजागाजा सहितं हनुमानढोका गद्दी बैठकमा मल्लकालिन राजखड्गमा ग्वय् दां तयेगु कार्यक्रम सम्पन्न भयो । यहि दिन नायः र गुरू प्रजापतिकोमा गई चा पूजा (माटोलाई पूजा) गरी माटो ल्याई पूं (चित्रकार) लाई हस्तान्तरण गरेको छ जसबाट चित्रकारले जात्राको लागि मुकुण्डो बनाउँछ । तत्पश्चात् पचली शक्ति पिठमा गै पूजा गरी देवताको प्रतिक रुपमा देवगण हुने गुथिका सदस्यहरुलाई प्रसाद वितरण गरे पश्चात गुथिको निती नियममा बस्नै पर्ने हुन्छ भने भने गथांमुगः (घण्टाकर्ण चतुर्दशी) का दिन शक्ति पिथमा पूजाआजा गरी ‘द्यः सालाहया द्यःछेँसं विधिवत रुपं स्थापना यायेगु’ (देवताको अंश देवघरमा ल्याई जात्रा अवधिसम्मको लागि स्थापना गर्ने) कार्य पश्चात विधिवत रुपमा दैवी नृत्य सिकाउने कार्य शुरु गरिन्छ ।
पचली भैरव
विभिन्न किंवदन्ति तथा जात्रा, पर्व तथा स्थान विशेषसंग सम्बन्धित कथाहरुले काठमाण्डौं उपत्यकाको सांस्कृतिक जीवनमा ठूलो महत्व राखेको पाइन्छ र हालसम्म पनि यिनै कथाहरुको सेराफेरोमा उपत्यकावासीहरुले बर्षभरीका विभिन्न चाडपर्वहरु बडो हर्षोल्लासकासाथ मनाउँदै आएका छन ।
नेपालको इतिहासमा विक्रमको बाह्रौं तेह्रौं शताब्दीतिर पालवंशी वैश्यठकुरीहरू निकै प्रभावशाली भई निस्केका थिए । यस बेला शिवदेव, इन्द्रदेव आदि राजाहरू नेपाल उपत्यकामा शासन गर्दथे तापनि उनीहरू शक्तिहीन भएको मौका पारी ती वैश्यठकुरीहरू राज्यको विभिन्न भागमा अधिकार जमाउँथे । गोपालराजवंशावलीको वर्णनबाट हामी यो कुरो बुझ्दछौं ।

दक्षिणकोलिग्राम वा यंगलको इलाकामा हुने पचलीभैरवको जात्रा संस्कृति र इतिहासको दृष्टिले विशेष चाखलाग्दो देखिएको छ । पचलीभैरवको अर्को नाम स्वच्छन्द भैरव हो । यस देवताको जात्रा गर्दा शहर घुमाइने धातुनिर्मित घ्याम्पोमा स्वछन्द भैरवको मूर्ति अंकित गरिएको छ । यसको पीठ काठमाडौं शहरबाहिर दक्षिणपट्टि रहेको छ तापनि जात्रामा शहर घुमाइने घ्याम्पो भने गुठियारहरूको परम्परागत वासस्थानमा एकेक वर्षको पालो गरी राखिन्छ । ती सबै बासस्थान काठमाडौं शहरको दक्षिणी भागमा पर्ने यंगलकै इलाकाभित्र पर्दछन् ।

स्वच्छन्द भैरवसंग सम्बन्ध राख्ने केही हस्तलिखित तान्त्रिक ग्रन्थ राष्ट्रिय अभिलेखालयमा सुरक्षित छन् । तिनमध्ये स्वच्छन्दललितभैरव नामक ताडपत्रमा लेखिएको एउटा प्राचीन ग्रन्थमा पचलीभैरवसँग सम्बन्ध राख्ने एउटा महत्वपूर्ण उल्लेख प्राएको छ । त्यस ग्रन्थको अन्तिम पत्रमा ने. सं. ३१६ (बि. सं. १२५२) फागुनमा दक्षिणेश्वर स्वच्छन्दमहादेवको प्रतिष्ठा भयो भनी लेखिएको छ । पचलीभैरव काठमाडौं शहरको दक्षिणी भागका देवता भएकोले र भैरव महादेवकै अर्को रूप हुनाले उक्त ग्रन्थमा दक्षिणेश्वर स्वच्छन्दमहादेवको प्रतिष्ठा गरियो भनी जुन लेखिएको छ, सो पचली भैरवलाई नै लक्ष्य गरी लेखिएको हुनुपर्छ भन्ने बुझिन्छ ।

नेपालको इतिहासमा विक्रमको बाह्रौं तेह्रौं शताब्दीतिर गाेपालवंशी वैश्यठकुरीहरू निकै प्रभावशाली भई निस्केका थिए । यस बेला शिवदेव, इन्द्रदेव आदि राजाहरू नेपाल उपत्यकामा शासन गर्दथे तापनि उनीहरू शक्तिहीन भएको मौका पारी ती वैश्यठकुरीहरू राज्यको विभिन्न भागमा अधिकार जमाउँथे । गोपालराजवंशावलीको वर्णनबाट हामी यो कुरो बुझ्दछौं ।
काठमाडौँमा पुस्तैनी अधिकार जमाएर बसेका तिनै वैश्य ठकुरीहरूका सन्तानहरूलाई हराई रत्नमल्लले काठमाडौंमा अधिकार जमाएका थिए । तिनका वंशजहरु काठमाडौंमा अद्यापि छन् ।

भाषावंशावली अनुसार तत्कालिन राजा शिवसिंहले पचलीभैरवको धातु निर्मित घ्याम्पो बनाइदिएका थिए । त्यसभन्दा पहिले सो घ्याम्पो माटोको थियो ।
विगतदेखि हालसम्म उक्त घ्याम्पो राजाहरूले नै निर्माण गरिदिने चलन देखिन्छ । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवले २०४८ सालमा उक्त घ्याम्पो बनाएका थिए भने २०५८ सालमा ज्ञानेन्द्र शाहले तथा पुनः जीर्ण भएपछि वि.सं २०७३ सालमा ज्ञानेन्द्र शाहले नै नयाँ मूर्तिको निर्माण गरि दिएका हुन् । घ्याम्पो जीर्ण हुँदा र राज्याभिषेक हुँदा पनि नयाँ फेर्ने र सो काम राजदरबारबाटै हुने गर्दथ्यो ।

पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्रा
पचली भैरव र उनका अष्टमातृका गण सहितको प्राचीन नाच काठमाडौं शहरमा निश्चित समयमा अद्यापि नचाइन्छन् । मोहिनीविनोद शर्माको वंशावली अनुसार सो नाच नचाउने प्रथा राजा अमरमल्ल (वि.सं. १५६८–१६१७ आ.) ले चलाएका थिए ।
श्री पचली भैरवको बाह्रवर्षे जात्रा अन्तर्गत स्थानिय मालि समुदायले खँ प्याखँ निकालि श्री भैरवले भुतिसःमा राजासँग र मल्लकालीन राज खड्गसँग आफ्नो खड्ग साट्ने गर्दथ्यो । यसरी खड्ग विनिमय गर्ने भएकाले यस जात्रालाई खड्ग सिद्धि जात्रा पनि भनिन्छ । नेपालको सांस्कृतिक इतिहासमा यो खड्गसिद्धि नामले यो रीति प्रख्यात रहेको छ । देश काल समय र परिस्थितिले हाल यो खड्ग साट्ने प्रचलनमा केही हेरफेर आएको देखिन्छ ।
यस जात्रामा शक्तिपिथमा रहेका देवगणहरु कै प्रतीक स्वरुप अष्टमातृका देवगणहरु पचली भैरव, नै अजिमा, बाराही, गणेश, कुमारी, ब्रम्हायणी, इन्द्रायणी, नारायणी, रुद्रायणी, महालक्ष्मी, सिंगीनी, व्यांघिनी र श्वेत भैरव रहेका हुन्छन् ।

हरेक १२ वर्षमा निस्कने यो खड्ग सिद्धी जात्रा पहिलो दिन तल्लो र माथिल्लो टोलमा पूजा लिई देश परिक्रमा गराइन्छ । तत्पश्चात भलभलअष्टमीका दिनसम्म उपत्यका मुख्य मुख्य स्थानहरु नासलचोक, हनुमानढोका, मरु, चिकंमुगल, लगन, गोफल, श्वेतभैरब, बाह्रबर्षे इनार, ह्यूमत, मखन, इन्द्रचोक, असन, जनबहाल, क्षेत्रपाटी, भगवानबहाल, टेबहाल, टोखा, नक्साल, टुप्या, चपली, गोकर्ण र उपत्यकाबाहिर चांगु, भक्तपुर, ललितपुर आदि ठाउँहरुमा दैवी नृत्य पश्चात भलभल अष्टमीका दिनमा सिजा (अन्तिममा खुवाउने भात) नाच पछि मरुटोल स्थित थस्वः हितीमा पानी खुवाइ पचली पीठमा पूजा सकाई टेकू दोभानमा मुकुट (ख्वाःपाः) को अन्त्यष्टी पश्चात जात्रा सकिन्छ ।

यसमा दुई प्रकारको नृत्य हुन्छ पहिलो दिनको नृत्य (न्हिःखः) र दोश्रो रात्रीको नृत्य (चाःखः) भनिन्छ । त्यसमध्ये रात्रीको नृत्यमा निस्कने श्वेत भैरव नृत्य विशेष आकर्षणको केन्द्र रहेको हुन्छ । तर यो नृत्य माथि उल्लेखित सम्पूर्ण स्थानमा निकालिदैन । यसको लागि विशेष रकमको आवश्यकता पर्ने हुनाले आयोजकहरुको विशेष अनुरोधमा श्वेत भैरवको नृत्य प्रदर्शन गरिने गरिन्छ ।
आफ्नै गुथि भित्रका देवगण हुन योग्य व्यक्तिहरु छानिसकेपश्चात कामिका एकादशिका दिन राज खड्गमा ग्वय् दां चढाउने गरिन्छ । जसमा १० वटा ग्वँय्, ५ वटा चाँदिको दाम, पञ्चरंगी पशुका र भुइसिन्ह सहित पूजा आजा गरि उक्त सामाग्रीहरु अर्पण गरिन्छ जसलाई यहाँको बोलिचालीमा “ग्वय् दां तयेगु” भनिन्छ । यसको अर्थ यस वर्ष श्री पचली भैरवको १२ वर्षे खड्गसिद्धि जात्रा निकालिन्छ है भन्ने सूचना दरबारसम्म पु-याएको मानिन्छ ।

यहि दिन देवगणको ख्वाःपाः (मुकुट वा मुकुण्डो) बनाउनको लागि आवश्यक माटो प्रजापतिको गई पूजा आजा गरी पूजा थालीमै राखेर ल्याई पूँ (चित्रकार) लाई जिम्मा लगाईन्छ ।
गथांमुगको दिन नृत्यनाथ र शक्तिपिथको पूजा आजा गरी द्यःसालेगु (देवताहरुलाई आह्वान गर्ने) गरी ज्याबहाः स्थित देवघरमा स्थापना गरी औचारिक रुपमा नृत्य सिकाउन शुरु गरिन्छ । चार महिनाको नृत्य सिकाई पछि विजयादशमीको दिन खड्गसिद्धि जात्रा हुन्छ । जसमा श्री पचली भैरवले बाजाको तालमा नृत्य गर्दै खड्ग साट्ने गरिन्छ ।

श्री पचली भैरव १२ वर्षे खड्ग सिद्धि जात्रामा चःचाको तालमा खिं, ताँ, वभु, भुस्या, छुस्या र पाेंगा बाजाहरूको धूनमा शास्त्रोक्त विधि अनुसार आ–आफ्ना मुकुट तथा पहिरनहरू लगाई आ– आफ्ना साज–सज्जा, हातहतियारहरू लिई आ–आफ्ना मुदूामा यी देवदेवी तथा गणहरू वडो आकर्षक ढंगवाट नृत्य गर्दछन् । हरेक पात्रले नाचको शुरू र अन्त्यमा नृत्यनाथलाई अभिवादन गर्दछ र त्यहाँ बजाईने सवै बाजाहरूलाई ढोग्दछ । यसरी ढोग्दा र पूजाआजा गर्दा सवै काम देब्रे हातले गर्ने चलन छ । यी नाचहरूमा गणेशको सम्पूर्ण आवरण सेतो हुन्छ । ब्रह्मायणीको मुकुट पहेलो र बस्त्र सेतो हुन्छ । रूद्रायणीको मुकुट र वस्त्र सबै सेतो हुन्छ । कुमारीको मुकुट र वस्त्र सवै रातो हुन्छ । वैष्णवीको मुकुट र वस्त्र सबै हरियो हुन्छ । वाराहीको मुकुट र वस्त्र रक्त वर्णको हुन्छ । इन्द्राायणीको मुकुट कुमकुम वर्णको र पोशाक सेतो हुन्छ । चामुण्डा भद्रकालीको मुकुट र पोशाक नीलो रंगको हुन्छ र कम्मरमा बाघको छालाले वेरिएको हुन्छ । सिंहिनीको सबै कुरा रातो हुन्छ र व्यांघिनीको मुकुट पहेलो र पोशाक रातो हुन्छ । भैरवको मुकुट र वस्त्र दुवै नीलो रंगको हुन्छ र कम्मरमा बाघको छाला बाँधेको वैष्णवीको मुकुट र पोशाक दुवै हरियो हुन्छ । श्वेत भैरवको मुकुट र वस्त्र दुबै सेतो हुन्छ ।
एक किंवदन्ती अनुसार पचली भैरवका पूजारी राजोपाध्यायको शरीरमा प्रत्यक्ष भएर भैरवले सिधै कुराकानी गर्ने गर्दो रहेछ । एकदिन भैरवलाई फूल पु-याउन आएका गथु (माली, प्राचीनकालमा यो समुदायको मुख्य काम फूलबारीको काम गर्ने) ले पुजारीले देवतासँग कुरा गरिरहेको देखेछ । तत्कालै पचली भैरव पनि उही गथुको शरीरमा प्रवेश गरी अबदेखि गथुकै नेतृत्वमा गण नाच नचाउनु भन्ने आज्ञा भए । सोही बेलादेखि गथु समुदायले नै हालसम्म गण नाच नचाउँदै आएको हो भनिन्छ ।

सरकारी नाचको लागि सरकारबाटै व्यवस्था गरिदै आएको पाइन्छ । साथै यो जात्राको लागि जनसमुदायबाट पनि उत्तिकै चाख राखेको पाइन्छ । आफ्नो टोल बस्तीमा जात्रा हुँदा आवश्यक सामग्री जनस्तरबाटै संकलन गरी जात्रा संचालन गर्दै आएको पाइन्छ । उदाहरणको लागि २०६९ साल जेष्ठ ३० गतेका दिन उक्त १२ वर्षे जात्राको अन्तिम दिन थियाे। उक्त दिनमा हुने जात्रालाई “सिं जा नकेगु” भनिन्छ । यसको लागि आवश्यक सामग्रीहरु मालपुवा, स्वारी, चियापत्ति, चिनी, समयबजी, चिउरा, अदुवा, बोडी, माछा, राँगाको मासु, आलु, कालो भटमास, अण्डा, मास, साग, कालो तेल, भटमासको तेल, नुन, खुर्सानी, बेसार, जिरा, ग्याँस, मट्टितेल, दुना, टपरी र नगद रु. ५००० (झण्डै) संकलन गरी सफलतापूर्वक जात्रा संचालन गरेको पाइन्छ ।

फाेटाे ः शरण डंगाेल र वियुष डंगाेल