समाचार

नेवार पत्रकारहरुको केन्द्रीय अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ निर्विरोध

२४ पुस २०७९ ।
नृपेन्द्रलाल श्रेष्ठ नेतृत्वको १९ सदस्यीय नयाँ कार्यसमिति छनोट गरी नेवाः पत्रकार राष्ट्रिय दबूको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । संस्थाको दसौं वार्षिक साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन, उपाध्यक्षद्वय क्रमशः सुरेन्द्रभक्त श्रेष्ठ, रचना श्रेष्ठ तथा चितवनका सन्दीपकुमार श्रेष्ठ छन् । महासचिवमा कृष्णकाजी (केके) मानन्धर, सचिव राजु नापित, कोषाध्यक्ष बाबुकाजी श्रेष्ठ, सहसचिवहरुमा प्रजित शाक्य, सुनिता महर्जन र काभ्रेका विजयराम कर्माचार्य छन् । सहकोषाध्यक्षमा तेजनारायण महर्जन निर्विरोध हुँदा सदस्यहरुमा रत्नकृष्ण श्रेष्ठ, भक्तपुरका पूर्णभक्त दुवाल, दानदास श्रेष्ठ, अनिता डंगोल, अनुप प्रधान, मीना बज्राचार्य र गोर्खाका उत्तमकुमार श्रेष्ठ (गण्डकी प्रदेश) निर्वाचित भएका छन् । पत्रकार राष्ट्रिय दबूको विधान बमोजिम लेखासमिति संयोजकमा विगेन तुलाधर छानिएका छन् । अधिवक्ता किरण शाक्यको संयोजनमा वरिष्ठ पत्रकारद्वय सुरेश किरण मानन्धर र ईश्वर जोशी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमिति छानेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रधान एवं भौतिक योजना तथा पूर्वाधारमन्त्री माननीय नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सरकार लागिपर्ने बताए । उनले जातीय विविधताको सम्बोधन, सामाजिक न्यायको लागि पत्रकारहरु संवेदनशील हुनुपर्नेमा जोड दिंदै समावेशी पत्रकारिताको विकास र मातृभाषाको पत्रकारितालाई विकास गर्नुपर्ने विषयमा राज्यको ध्यानाकर्षण भएको बताए ।
कार्यक्रममा देशभरका नेवारहरुको साझा संस्था नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रूपमा स्वीकार्नु गर्नुपर्नेमा जोड दिए । वि. सं. २००८ सालमा नेपाल पत्रकार संघ स्थापना गरी सम्पूर्ण नेपाली पत्रकारहरूलाई संगठित गरेका श्रेष्ठको तथ्य र इतिहास मेटाएकोप्रति उहाँहरुले असन्तुष्टि जनाए । नेपाल पत्रकार संघलाई पुनर्गठन गरी बनाएको नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अगाडि सारेकोमा विरोध जनाएका थिए ।
कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार राष्ट्रिय दबूको संघीय स्मारिका र काभ्रे जिल्ला शाखा नेवाः पत्रकार राष्ट्रिय दबूको ‘सुकुन्दा’ नामक स्मारिका विमोचन गरेका थिए ।

कार्यक्रममा पत्रकारितामार्फत विशेष योगदान दिएका छ जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा वरिष्ठ पत्रकार नरेशवीर शाक्य, काभ्रेका सूर्यप्रसाद लाकोेजु, सरस्वती कर्माचार्य, अनुशा बज्राचार्य, भक्तपुरका सुरेश ख्वाखः श्रेष्ठ, हेटौँडाका सुरेश श्रेष्ठ छन् ।
वरिष्ठ पत्रकार नरेशवीर शाक्यले ज्ञानदेवी–मणिरत्न स्मृति पत्रकारिता पुरस्कार, काभ्रेका सूर्यप्रसाद लाकोेजुले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार, सरस्वती कर्माचार्यले ज्ञानज्योति–लक्ष्मीप्रभा पुरस्कार, अनुशा बज्राचार्यले भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार, सुरेश ख्वाखः श्रेष्ठले बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार, हेटौंडाका सुरेश श्रेष्ठले श्रीराम स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका हुन् ।
सुरजवीर बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेवाः पत्रकारहरुको संस्थागत गान समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, नेवाः पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, नेपाल पत्रकार महासंघका सचिव नारायण सुन्दर, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झपेन्द्र भुसाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, मधेशी पत्रकार समाजका मोहन सिंह, राष्ट्रिय दलित पत्रकार संघका गोपाल बराइली तथा देशभरबाट २९ जिल्लाका नेवार पत्रकारहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *