युवा जनशक्ति विदेश पलायन भएकोप्रति माननीय बसन्त मानन्धरको चिन्ता
८ भाद्र २०७९, केके मानन्धर भक्तपुर ।
वागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय बसन्त मानन्धरले युवा जनशक्तिलाई स्वदेशमै आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् । भक्तपुरको थिमिस्थित सिवा सायमि खलःले सम्पन्न गरेको नागरिक अभिनन्दन पत्र हस्तान्तरण कार्यक्रममा मन्त्री मानन्धरले सांस्कृतिक सेतुमार्फत युवाहरुलाई स्वदेशमै आकर्षित गर्न सकिने तर्क गरे । ‘सांस्कृतिक गतिविधि गर्नैपर्छ । त्यसको अलावा पेशागत र व्यावसायिक क्षेत्रमा प्रोत्साहित गर्न सके युवाहरुलाई स्वदेशमै आकर्षित गराउन सकिन्छ ।’ मन्त्री मानन्धरको भनाइ थियो ।
हुनपनि राजनीतिले वैचारिक समुहलाई विभक्त गर्ने र सांस्कृतिक गतिविधिले जोड्ने सैद्धान्तिक अवधारणा छ । यसलाई सन्तुलित ढंगले आत्मसाथ गराउन सके युवाहरुलाई स्वदेशमै आकर्षित गराउन सकिन्छ । सांस्कृतिक पर्यटनको विकास गरी युवा जमातलाई अर्थव्यवस्थासँग जोडेर रोजगारी सिर्जना गरी कला र संस्कृतिमा रमेका युवाहरुलाई स्वरोजगार बनाउन सकिन्छ ।
एउटा फरक सन्दर्भमा उहाँले भक्तपुर जिल्ला मानन्धर युवा संघसँगको समन्वयमा भक्तपुर चेम्बर अफ कमर्सले अगाडि सारेको तोरीको तेललाई ब्राण्ड बनाउने योजनालाई प्रशंसा गरे । मन्त्री मानन्धरले स्थानिय उत्पादनको रुपमा रहेको तोरीको तेल, जुजु धौ, कालो टोपी, चिउरा, लोकल रक्सी लगायतलाई प्रवद्र्धन गर्ने क्षेत्रमा आफ्नो साथ र समर्थन रहने समेत बताए ।
खलःले गत महिना सम्पन्न गरेको २४ औं साधारणसभा तथा ८ औं अधिवेशनमा घोषणा गरे बमोजिम मन्त्री मानन्धरलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेको हो । खलःका अध्यक्ष मनोज लाल मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा खलःका पूर्व अध्यक्ष न्हुछेरत्न मानन्धर, अष्टरत्न मानन्धर, कुमारलाल मानन्धर लगायतले आ–आफ्ना विचार राखेका थिए ।