कपालको सम्पूर्ण समस्या समाधान हुने दाबी गरिएको यचु तेल हिजोबाट बजारमा
८ साउन २०७९, काठमाडौं ।
कामपा उपप्रमुख सुनिता डंगोलले स्थानीय आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ । हिजो काठमाडौंमा भूमि एमडिआर इन्डस्ट्रिजले आयोजना गरेको यचु हेयर आयल प्रडक्ट लन्च कार्यक्रममा बोल्दै काठमाडौं महानगर उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा डंगोलले आधुनिकताको नाममा आदिवासी अभ्यासलाई बिर्सिँदा अरूको भर पर्नु परेको विचार राख्नुभयो । ‘हामीहरूले प्रुफ गरेर एप्रुभ गरिदियोस् भनेर कुरेर बस्छौं र परनिर्भरता बढेको छ । हामीसँग पहिल्यै प्रमाणित भइसकेको आदिवासी अभ्यासहरू छन्, त्यसलाई ब्रान्डिङ गरौँ न’ डंगोलले भन्नुभयो ।

कार्यक्रममा उपप्रमुख डंगोलले भूमि एमडिआर इन्डस्ट्रिजले उत्पादन गरेको यचु हेयर आयलको औपचारिक घोषणा गर्नुभएको थियो । कार्यक्रममा कपालमा लगाउने तीन थरी तेलको घोषणा गरिएको थियो । नयाँ कपाल उमार्ने, कपाल झर्न रोक्ने र चायाँको समस्या समाधान गर्ने तेलको घोषणा गरिएको थियो । कपाललाई प्राकृतिक रूपमा कालो बनाउने तेल पनि योजनामा रहेको भए पनि यसको केही परीक्षण बाँकी भएको र यसलाई पनि चाँडै नै बजारमा ल्याउने भूमिका प्रबन्ध निर्देशक उज्वल मानन्धरले बताउनुभयो ।
३३ थरीका विभिन्न प्राकृतिक जडीबुटीलगायतका वस्तुहरूको सम्मिश्रणबाट यी तेल बनाएको कम्पनीले जानकारी दिएको छ । तीन वर्षको अनुसन्धान र परीक्षणपछि यचु हेयर आयल बनाउन सफल भएको प्रबन्ध निर्देशक मानन्धरले बताउनुभयो ।

कपाल झर्ने, कपाल नउम्रिने र चायाँ लगायतका समस्यामा यस तेलको सफल परीक्षण भइसकेको र परिणाम पनि राम्रै पाएको दाबी मानन्धरको हो । ‘यही तेलबाट हामीले करिब एक महिना निःशुल्क शिविर चलायौँ । कपाल नभएकाहरूको पनि कपाल बढेको, चायाँको समस्या समाधान भएको पाइएको छ । कसैले पनि यसको बारे नराम्रो प्रतिक्रिया दिनुभएको छैन’ मानन्धरले भने । कपालको समस्यालाई लिएर आफैँले अनुमानको भरमा तेल प्रयोग नगर्न र विज्ञको सल्लाह अनुसार यचु तेल प्रयोग गर्न मानन्धरले अनुरोध गरे । सही ढङ्गले तेलको प्रयोग गरेमा कपाल सम्बन्धी समस्या ग्यारेन्टीका साथ समाधान हुने मानन्धरले दाबी गरे ।

सोही कार्यक्रममा यचु हेयर आयललाई लिएर भएको टिकटक प्रतियोगीताका विजयी प्रतियोगी ३ जनालाई जनही १०,१० हजार र एक मेगा विजेतालाई एक लाख नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।