चाबहिल गणेश जात्रा
४ मंसिर २०७८ ।
शरण डंगोल, काठमाडौं ।
विश्वमा गणेशका रुप अनगिन्ती छन् । पुराणानुसार बाल गणेश, तरुण गणेश, भक्ति विघ्नेश्वर गणेश, वीर विघ्नेश गणेश, हेरम्ब गणेश, ध्वज गणेश, उन्मत्त उच्छिष्ट गणेश, विघ्नराज गणेश, भुवनेश गणेश, हरिद्रा गणेश, भालचन्द्र गणेश, सूर्पकर्ण गणेश, प्रसन्न गणेश, नृत्त गणेश, एकदन्त गणेश, शक्ति गणेश, लक्ष्मी गणेश, उच्छिष्ट गणेश, महा गणेश, ऊध्र्व गणेश, पिंगल गणेश आदि इत्यादि । उपत्यकामा चतुविनायक प्रशिद्ध छन्, ति हुन् चन्द्र विनायक, सूर्य विनायक, अशोक विनायक र जल विनायक ।

तस्बीर © राजेश महर्जन र शरण डंगाेल
काठमाडौंको ऐतिहासिक बस्ती ग्वलः क्षेत्रमा चन्द्र विनायक अवस्थित रहेको छ जसलाई श्वेत विनायक, रक्तविनायक, चाबहिल गणेश आदि नामले पुकारिन्छ भने नेपालभाषामा ल्होंसला गणेद्यः भनिन्छ ।
प्रत्येक वर्ष कार्तिक पूर्णिमादेखि कार्तिक कृष्णपक्षको तृतियासम्म यहाँ श्री चन्द्रविनायकसँगै श्री भैरवनाथको पनि जात्रा धुमधामसँग हुने गर्दछ । संस्कृतिविद्हरूका अनुसार यो जात्रा नेपाल संवत् ८००–८०४ देखि भुपालेन्द्र मल्लको राज्य कालमा मनाउन शुरू गरिएकाे हाे । कार्तिक पूर्णिमाको दिन मन्दिर परिसरमा ठूलो धुनि बालिन्छ जसलाई तापेर स्वास्थ्यलाभ र पूण्यलाभ गर्न हजारौं भक्तजनहरु यहाँ उपस्थित हुन्छन् ।

पहिलो दिन कुटुबहालका शाक्यहरुको कुलदेवताको पूजा गरी सो अगाडी रहेको जम्बुक राजा (ध्वँद्य) को प्रस्तर मूर्तिलाई भातले मोडी पूजाआजा गरी सोको अगाडी धुनि जगाई जाग्राम बस्ने गरिन्छ । त्यसै साँझ मन्दिरको मुख्य ढोका अगाडीको मकै भटमास र अन्य गेडागुडी, उसिनेको सखरखण्ड, पिडालु र मला तथा फलफूल आदि कलात्मक रूपमा सजाएर राख्ने गरिन्छ जसलाई ‘हलिमलि ब्वयेगु’ भनिन्छ । मन्दिर प्रांगणको पूर्वी भागमा रहेको गोलाकार पाटीमा कन्या कुमार कुमारीहरुलाई मरःजा खुवाइन्छ ।

भोलिपल्ट कार्तिक कृष्ण प्रतिपदाको दिन श्री चन्द्रविनायक श्री भैरवनाथका रथहरू सजाइन्छ । सांझ जात्रा सम्बन्धि विशेष पूजा गर्ने गरिन्छन् । मुख्य जात्राको बिहान श्री चन्द्रविनायक र भैरवनाथका खटहरू निकासी सरसफाई गर्ने गरिन्छ । साँझ श्री पशुपतिनाथ अमालकोट कचहरीबाट यहाँका पारम्परिक र सांस्कृतिक प्रमुख द्वारेले पूजा ल्याउने गरिन्छ भने गुठियारहरूले आ–आफ्नो पाली अनुसार गजुर, गणेश र भैरबनाथका प्रतिमा ल्याई रथमा आरोहण गराउने गरिन्छ । बेलुकीतिर पूजापछि द्वारेद्वारा सिन्दुर चढाएपछि स्थानिय परम्परागत बाजागाजा सहित गणेश र भैरवका रथ उठाइने र नचाउने गरिन्छ ।

गणेशले आफ्नो छुटेको गहना माग्न मन्दिर जान खोज्ने र भैरवले गणेशलाई त्यसबाट रोक्न खोजे जस्तो गरी केहीबेर मन्दिर परिसरमा दुई रथ बिच प्रतिस्पर्धा हुन्छ । तत्पश्चात् गणेशको गहना लगाई दुवै रथ मन्दिरदेखि उत्तरतर्फ रहेको प्राचीन गंगाहिटीमा लगि मूर्तिहरूको स्नान गराइन्छ त्यसदिन लगभग मध्यरातसम्म मन्दिर नजिकका क्षेत्रका र अगाडी तथा चोकमा राखी पूजा अर्चना गरिन्छ । राती ती रथहरू चारुमति बिहार अगाडी बिसाइन्छ ।

पर्सिपल्ट कृष्ण दुतियाकाे दिन दिनभरि चावहिलका परम्परागत तथा प्राचीन बस्ती रहेका स्थानहरुमा जात्रा गरिन्छ । अन्तिम दिन सफलताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरिन्छ । जसको लागि गणेश र भैरबका मूर्तिहरुलाई सानो खटमा सारीएको हुन्छ ।

श्री चन्द्रविनायकको धार्मिक महत्व यससँग सम्बन्धित सामाजिक मान्यताले गर्दा बढ्दो छ । श्रुतिकथनानुसार प्राचीन समयदेखि नै यस चन्द्रविनायकको पूजा अर्जना र भाकल गर्दा शरीरका घाउ खटिरा र अन्य रोगहरू चाडो निको हुने र हराएका मालसामानहरू प्राप्त हुने प्रवल धार्मिक सामाजिक मान्यता रहेको छ । परम्परागत वैद्यहरूले विद्या अध्ययन पछि यहाँ विशेष पूजा गरेपछिमात्र उपचार सेवा थाल्ने चलन अद्यापी कायमै छ । त्यसैले यस विनायकलाई गुरु गणेश पनि भनिन्छ । त्यस्तैगरी यहाँको जात्राको बेला जगाइने धुनिमा जिउ सेकाउँदा ढाड कम्मर दुखाई निको हुने र चिसोबाट हुने रोगहरु नलाग्ने या निको हुने हुन्छ । त्यस्तै श्री भैरवनाथ मन्दिरको पर निश्चित चार किल्ला भित्र बसोबास गर्नेहरूलाई भाडापखाला लाग्ने अन्यत्रका त्यस्ता रोगका बिरामी पनि यहाँ आई पूजा अर्चना वा भाकल गर्दा त्यस प्रकारको रोग व्याधिबाट मुक्त हुने ठूलो विश्वास रहेको पाइन्छ । त्यस्तै कुनै नयाँ काम शुरु गर्दा, शुभ कार्य गर्दा वा विदेश जाँदा यस चन्द्रविनायकको दर्शन गर्दा कार्य सफल हुने र विघ्नबाधा आइ नलाग्ने जनविश्वास रहेको छ ।



तस्बीर © राजेश महर्जन र शरण डंगाेल