खेल

गल्फ खेलाडीद्वय सुवास र युवराज दुबई तर्फ

१४ कार्तिक २०७८, काठमाडाैं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र युवराज भुजेलले दुबईमा आयोजना हुने एसिया प्यासिफिक च्याम्पियनसिपमा भाग लिने भएका छन् । एसिया प्यासिफिक गल्फ महासंघको निमन्त्रणामा सुवास र युवराज त्यसतर्फ जान लागेको हुन् ।

कात्तिक १७ गतेदेखि २० गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा भाग लिन उनीहरु आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल गल्फ संघले जनाएको छ । कात्तिक १५ र १६ मा अभ्यास गरेपछि उनीहरुले प्रतियोगितामा भाग लिनेछन् । सन् २०१० देखि नै नेपाली खेलाडीले एसिया प्यासिफिक च्याम्पियनसिपमा भाग लिदै आइरहेका छन् ।

गत वर्ष भने कोभिडका कारण च्याम्पियनसिप हुन नसकेको बताइएको छ । सुबासले १३ औं सागमा दाहोरो स्वर्ण पदक जितेका थिए । उनी एमेच्योरतर्फको विश्व वरियतामा ३ सय एकौं स्थानमा छन् । युवराज भने ३ हजार ८ सय ५८ औं स्थानमा रहेका छन् । संघले शनिबार उनीहरुलाई विदाई गरेको छ ।

संघिय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, संघका अध्यक्ष तासी घले र गल्फको राष्ट्रिय टोलीको प्रायोजक केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले खेलाडीलाई विदाई गरे । एनओसी अध्यक्ष श्रेष्ठले १३ औं सागमा गल्फले स्वर्ण पदक जित्दै नेपाली खेलकुदमा नयाँ अध्यायको सुरुवात गरेको स्मरण गरे ।

उनले विगतमा नेपालले मार्सल आर्टस्मा बढी सफलता प्राप्त गर्ने गरे प्रसंग कोट्याउँदै अन्य खेलको विकासका लागि पनि नीति निर्माताहरुले ध्यान दिनुपर्नेमा जोड दिए । एनओसी अध्यक्ष श्रेष्ठले अर्को प्रसंगमा अर्को वर्ष आयोजना हुने एसियाली खेलकुदको तयारीका लागि चाँडै सरकारसँग छलफल गर्ने बताए ।

उनले भने, ‘कुन कुन खेललाई प्राथमिकतामा राख्ने लगायतका विषयमा हामी युवा तथा खेलकुद मन्त्रीसँग छलफल गर्नेछौं । सहभागिता मात्र होइन सफलता प्राप्त गर्ने हिसाबले तयारी गरेर जानुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा केल्मी नेपालका निर्देशक न्यौपानेले खेलाडीहरुलाई केल्मीको तर्फबाट पोशाकलगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *