सेतो मत्स्येन्द्रनाथको रथयात्रा शुरु
काठमाडौं, ८ बैशाख २०७८ ।
शरण ज्यापु हरि
वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा चौलाथ्व अष्टमी वा चैत्र शुक्ल अष्टमी वा चैते दशैंका दिनबाट दरबारमार्गस्थित तीनधारा पाठशालाबाट शुरु गरिएको छ ।
रथ यात्रा गर्न हरेक दिन फरक फरक रङ्गको ज्याकेट प्रयोग गरी फरक फरक व्यक्तिले तान्ने व्यवस्था गरिएको छ जसबाट कोरोना सर्नबाट बच्न सकिने आशा आयोजक कमिटिको रहेको छ ।
महिला भक्तजनहरुद्वारा रथ तान्न शुरु गरिएको दृश्य यस वर्षबाट एक नयाँ शुरुवातको रुपमा देखिएको छ ।
रथ यात्राका क्रममा जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी शुरुवातदेखि अन्त्यसम्म स्यानिटाइजर पनि छरेको देखिएको छ ।
रथ यात्राको लागि केलटोलस्थित मच्छिन्द्रबहालबाट सेतो मत्स्येन्द्रनाथलाई खटमा बिराजमान गराई गुरुजुहरुद्वारा तीनधारा पाठशालामा बनाइएको रथमा रथारोहण गराई रथ यात्रा शुरु गरिएको थियो ।
रथयात्राको क्रममा शार्दुलजंग गुल्मको धिमे सहितको गुरुजुको पल्टन, स्थानिय बाजागाजा र भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्राको क्रममा शार्दुलजंग गुल्मको धिमे सहितको गुरुजुको पल्टन, स्थानिय बाजागाजा र भक्तजनहरुको सहभागिता रहेको थियो ।


रथयात्रा शुरु हुँदा राजकीय सम्मान स्वरुप गुरुजुको पल्टनले सलामी सहित तोप पड्काइएको थियो भने असनमा पुगिसकेपछि याःन्यायेकेगु पछि पनि तोप सहितको सलामी दिइएको थियो ।
रथयात्राको क्रममा आज असनबाट हनुमानढोकास्थित कालभैरव अगाडि पुर्याइने छ भने भाेलि कालभैरवबाट आमासँग भेटघाट गराउन लगन पुर्याइनेछ जहाँ राजकीय जीवित देवी श्री कुमारीले पनि श्री मत्स्येन्द्रनाथको दर्शनको लागि सवारी चलाइने छ ।

