कामपा २२ को आयोजनामा दोस्रो मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप २०८३ हुने
६ पौष २०८२, काठमाडौं ।
काठमाडौं महानगरपालिका २२ वडाको आयोजनामा यही आउँदो २०८३ जेठ २९ र ३० गते दोस्रो मिस्टर महानगर बडीबल्डिङ च्याम्पियन्सीप राष्ट्रिय सभागृहमा हुने भएको छ । हिजो यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा कामपा २२ का वडाध्यक्ष श्री चिनीकाजी महर्जनले सो बारे जानकारी दिएका थिए ।

नेपाल शारिरीक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ कूल ९ विधामा प्रतिस्पर्धा गराइनेछ जस अन्तर्गत छ तौल समूह, दुईवटा स्पोर्ट फिजिक्स र एउटा ओभरअल प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ स्पोर्ट फिजिक्स अन्तर्गत खुल्ला प्रतिस्पर्धा हुनेछ । गत वर्ष पुरुष तर्फमात्र प्रतिस्पर्धा भएकोमा यस वर्ष महिला तर्फ पनि प्रतिस्पर्धा थप गरिएको हो ।
पुरुषतर्फ तौल समूह अन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमुहमा प्रतिस्पर्धा गराइनेछ भने स्पोर्ट फिजिक्स अन्तर्गत १७० सेमी भन्दा माथि र १७० सेमीसम्मको दुई विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रत्येक तौल समूहका विजेताहरु दोस्रो मिस्टर महानगरको दावेदारिताका लागि ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट गरी ओभरअल प्रतिस्पर्धाका विजेता खेलाडीलाई दोस्रो मिस्टर महानगरको टाइटलसहित नगद रु. पाँच लाख, ट्रफी र ब्यानेटले सुसज्जित गरिनेछ ।

फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक खेल समूहबाट प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुने खेलाडीलाई पदकसहित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । यस वर्ष तौल समूहका विजेताहरुको लागि नगद पुरस्कारको राशी पनि बढाइएको छ । गत वर्ष हरेक तौल समूहका विजेता खेलाडीलाई ७५ हजार नगद पुरस्कार दिइएकोमा यसवर्ष विजेतालाई १ लाख नगद पुरस्कार दिइनेछ । त्यस्तै उपविजेता, तेस्रो, चौथौं र पाँचौं स्थानमा रहने खेलाडीलाई क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार दिइनेछ । त्यस्तै स्पोर्ट फिजिक्स तर्फ पनि पुरुष र महिला दुवै विधामा प्रथम, दोस्रो, तेस्रो, चौथौं र पाँचौं हुने खेलाडीलाई पदकसहित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । नगद पुरस्कार अन्तर्गत प्रथम, दोस्रो, तेस्रो, चौथौं र पाँचौं हुनेलाई क्रमसः १ लाख २५ हजार, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
