संस्कृति

आज जावलाखेलमा भोटो जात्रा

१८ जेठ २०८२ ।

आज ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइदैछ । यसअघि पुल्चोकमा तयार गरिएको रथमा रातो मच्छिन्द्रनाथलाई विराजमान गराई नगर परिक्रमा पश्चात अन्तिमदिनमा जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिन्छ जसलाई भोटो जात्रा भनिंदै आएको छ । मल्लकालमा कर्कोटक नागराजकी पत्नीको आँखाको उपचार गरेवापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित् भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको छ ।
हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा ‘यो भोटो कसको हो’ भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिदै आएको छ । परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरूप नागराजले दिएको किंवदन्ती छ । आफ्नो खेतमा काम गर्दै गर्दा उक्त भोटो हराएपछि कृषकले व्यापक खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा एकजना राक्षसले लगाएको देखेपछि ती कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच व्यापक विवाद हुनपुग्दा दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोकारूपमा उक्त भोटो रातो मच्छिन्द्रनाथको जिम्मामा राखिएको बताइन्छ । उक्त विवादलाई राजासमक्ष पु-याइएपछि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा राजा र प्रजाबिच सम्पन्न गरिँदै आएको छ ।
करिब १४ सय वर्षपहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौँका, ललितपुर र भक्तपुरका राजा, तान्त्रिक र ज्यापुले भारतको कामरूप कामाख्यबाट रातो मच्छिन्द्रनाथलाई नेपाल भित्र्याएको बताइन्छ ।

भाेटाेजात्रा सम्बन्धमा किम्बदन्ती
किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक नागराजा वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले के गरुँ के गरुँ भन्ने मनमा दुबिधा लिई मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटक नागराजालाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । नागराजाले पुरस्कारस्वरुप बहुमूल्य मणि जडित भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे तर पाएनन् । रातो मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागराजालाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जन विश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान भने सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *