कलामनाेरञ्जन

नेवाः हुला प्याखं धें धें बल्ला कासा ११४३ मा अग्रिया सिंह उत्कृष्ट

१५ माघ २०७९, काठमाडाैं ।

काठमाडौंकाे बसन्तपुरमा आयोजित ‘नेवाः हुला प्याखं धें धें बल्ला कासा ११४३’ को उपाधि अग्रिया सिंहले जितेकी छन् । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा हिजाे सम्पन्न साे प्रतियोगितामा सिंहलाई प्रमाण–पत्र, शिल्डसँगै नगद दस हजार प्रदान गरिएको छ ।

विभिन्न जातजातिका किशोरकिशोरीहरुको सहभागिता रहेको नृत्यको विधागत विषय भने नेपालभाषाको गीतसंगीतमा नृत्य गर्नुपर्ने रहेको थियो । नेपालभाषाको गीत ‘वांगु सिमाचाय् ह्याउंम्ह झंग’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी सिंहले सयभन्दा बढी प्रतियोगीहरुलाई पछाडि पार्दै एकल नृत्यतर्फको प्रतियोगिता जितेकी हुन् ।

त्यस्तै, ‘सुनां जित धाःवइ, सुनां जित काःवइ’ बोलका गीतमा नृत्य प्रस्तुत गरेकी रियाना मानन्धर दोस्रो हुँदै नगद सात हजारसहित प्रमाणपत्र र शिल्ड पाएकी छन् । त्यस्तै, तेस्रो हुने सुजाता नकर्मीलाई पाँच हजार तथा शिल्ड र अन्य दुई जना मध्ये स्वस्तिहिरा शिक्राकार र दृष्टि मानन्धरलाई सान्त्वना पुरस्कार स्वरुप दुईदुई हजार नगदसहित शिल्ड प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट निर्णायक पुरस्कार सोहन शाही र रुमिका राईलाई दिइएको छ । पहिरणमा सुस्मा घले, अभिव्यक्तिमा सनिया शाही तथा उत्कृष्ट श्रृंगारतर्फको पुरस्कार एजस्वी प्रजापतिले हात पारे ।

राजन शाहीको संयोजनमा सम्पन्न उक्त प्रतियाेगितामा राष्ट्रिय नाचघर तथा प्रज्ञा प्रतिष्ठानका निर्देशक नारायण देवी प्रधान, नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पूर्व कलाकार श्यामप्रसाद खड्गी, तीन दसकदेखि निरन्तर नृत्य क्षेत्रमा लाग्नुभएका भुवनदास श्रेष्ठ तथा वरिष्ठ नृत्य निर्देशक राजु शाहले मुख्य निर्णायकको भूमिका निर्वाह गरेका थिए भने अमरराज शर्मा राजोपाध्याय, बालकृष्ण बंशी, जुगल डंगोल तथा गोबिन्द ह्युमतले पनि नृत्यको मूल्यांकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *