मध्यपुरमा खेलाडीहरू सम्मानित
२ आश्विन २०७९, केके मानन्धर, भक्तपुर ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बधाई तथा सम्मान गरेको छ । असोज २७ गतेदेखि पोखरामा सुरूहुने प्रतियोगितामा राष्ट्रिय जिम्न्याष्टिक खेलाडीहरू क्रमशः सुमन तामाङ, सुबी भासिमा, जेनिसा थापा र प्रकृति थापामगरलाई मध्यपुरको विनायक शिक्षा निकेतन स्कूलले सम्मान गरेको हो । विनायकमा अध्ययन गर्ने राष्ट्रिय खेलाडीहरूलाई प्रोत्साहन स्वरूप ट्रयाकसुट र टिसर्ट समेत प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मध्यपुर थिमिका मेयर सुरेन्द्र श्रेष्ठले नगरभित्रका खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । नगरभित्रका राष्ट्रिय खेलाडीहरूको पहिचान गरी ठोस कार्यक्रम ल्याउने उहाँको भनाइ थियो ।
स्कूलका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले आफ्नै विद्यार्थीहरू राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदा गौरव महसुस भएको बताए । पढाइसँगै खेलकुदमा इच्छा राख्ने बच्चालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । ‘खेलकुदमा लाग्दा बच्चाहरूको पढाइ बिग्रिन्छ भन्ने अभिभावकको सोचमा परिवर्तन ल्याउनुपर्छ । हामीले अनुभव गरेकोमा खेलकुदमा आवद्ध भएका विद्यार्थीहरू झन् अनुशासित छन् । त्यसैले पढाइसँग उनीहरूको प्रतिभा देखाउनको लागि हामीले मौका दिनुपर्छ ।’ प्रजापतिको भनाइ थियो । उहाँले पोखरामा हुने खेलकुदमा पुरस्कृत हुने खेलाडीहरूलाई स्कूलले पनि नगद तथा पुरस्कारको घोषणा गरे ।
कार्यक्रममा भद्रौ २९ गते राष्ट्रिय बाल दिवसमा सम्पन्न भएको हस्तलेखन प्रतियोगितामा उत्कृष्ट भएका कक्षा ११ र १२ विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको छ ।