ओलम्पिक्समा पदक लक्ष्य हुनु पर्छ – उपराष्ट्रपति पुन
१० असार २०७८, काठमाडौं ।
उपराष्ट्रपति सम्माननीय नन्दबहादुर पुनले ओलम्पिक्समा नेपालले पदक जित्ने लक्ष्य लिनु पर्ने बताउँदै त्यसका लागि नेपाली खेलकूद क्षेत्रले त्यसै अनुसारको योजना बनाउन आवश्यक परेको बताउनु भएको छ । नेपाल ओलम्पिक कमिटीको आयोजनामा बुधबार आयोजित ओलम्पिक डे २०२१ को मुख्य कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्नु हुँदै उपराष्ट्रपति पुनले ओलम्पिक्समा नेपाली खेलाडीको अहिलेसम्मको प्रदर्शनको समीक्षा हुनु पर्ने पनि बताउनु भयो ।
![]()
उहाँले ओलम्पिक डेलाई लिएर भन्नु भयो, ‘विश्व खेलकुद क्षेत्रका लागि यो महान दिन हो । ओलम्पिकको इतिहास भनेको समग्र मानव सभ्यताको उचाइ पनि हो ।’ कमिटीको मुख्यालय सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति पुन् एवं ले नेपालको झण्डा झण्डोत्तोलन पनि गर्नु भएको थियो । यस्तै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा पनि झण्डोत्तोलन गर्नु भयो । ओलम्पियन मुकुन्द श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक खेलाडीको समूहले उपराष्ट्रपतिलाई ओलम्पिक टर्च पनि हस्तान्तरण गरेका थिए ।
कार्यक्रम नेपाल ओलम्पिक कमिटीको आयोजनामा स्पोर्टस फर अल कमिसनको संयोजन भएको थियो । कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले कार्यक्रमका अवसरमा ओलम्पिक डेको महत्वबारे प्रकाश पार्नु भयो । यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले ओलम्पिक डेका अवसर सबै खेलाडीलाई बधाई दिंदै देशका लागि उच्च प्रदर्शनको अपेक्षा रहेको बताउनु भयो ।
![]()
कार्यक्रममा बोल्नु हुँदै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकूदले समाजमा सकारात्मक असर पर्ने र यसले शान्ति, समृद्धि, सद्भावना र विकासका लागि सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘कोरोना महामारीको विषम परिस्थितिमा खेलकूदले दिन चाहेको नारा सबै सुरक्षित, स्वस्थ्य र सचेत रहोस् भन्ने हो ।’
![]()
कार्यक्रमको अवसरमा उपराष्ट्रपति पुनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका संघ तथा ओलम्पिक डे २०२१ मा उत्कृष्ट योगदान दिने संघलाई कदरपत्र पनि प्रदान गर्नु भयो । काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले १३ खेलमा स्वर्ण जितेको थियो ।
कार्यक्रममा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु हुँदै नेपाली खेलकुद विकासका लागि दीर्घकालीन योजना र लगानी आवश्यक रहेकोमा जोड दिनु भयो । कार्यक्रम कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले संचालन गर्नु भएको थियो । त्यस अवसरमा कमिटीका उपाध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरू साथै विभिन्न राष्ट्रिय खेल संघका अध्यक्ष तथा पदाधिकारी, ओलम्पियन्स, सेना, प्रहरी र शसस्त्र प्रहरीका प्रतिनिधिको पनि उपस्थिति थियो ।
![]()
यसै बिच नेपाल ओलम्पिक कमिटीले अलिबाबा ग्रुप अन्तर्गतको कम्पनी दराजले टोकियो ओलम्पिक २०२० का क्रममा नेपालमा ओलम्पिक गतिविधिको प्रवद्र्धनका लागि बुधबार एक अनुबन्धमा हस्ताक्षर गरेका छन् । त्यसमा कमिटीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका कार्यकारी निर्देशक लिनो अहलेरिङले हस्ताक्षर गर्नु भयो । त्यस अनुबन्ध अन्तर्गत दराजले अब कमिटीलाई ओलम्पिक भावना, कार्यक्रम र खेलाडीको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गरेर सहयोग गर्नेछ ।