श्री मत्स्यन्द्रनाथ जात्रा र घःकु
काठमाडाैं, ६ बैशाख २०७८ ।
शरण ज्यापु हरि
नेपालमा वर्षै भरि अनगिन्ती जात्राहरु प्रचलनमा रहेका छन् । हरेक पूर्णिमा, औंसी, चह्रे, पारु आदिमा कुनै न कुनै जात्रा, पर्व परेको हुन्छ । जसलाई यहाँका बासिन्दाहरुले जीवन्त बनाइरहेका छन् भने कुनै कुनै विविध कारणले लोप भैसकेका छन् ।
त्यसैको शिलशिलामा काठमाडौंमा चौलाथ्वः अष्टमीदेखि पूर्णिमासम्म भव्यरुपमा, उल्लासमय वातावरणमा, राजकिय सम्मानसाथ श्री मत्स्येन्द्रनाथको रथजात्रा गरिदै आएको छ । पहिलो दिन अर्थात् अष्टमीको दिन श्री मत्स्येन्द्रनाथलाई केलटोल स्थित मन्दिरबाट खटमा जात्रा गर्दै जमलमा तयार गरिएको ३२ हात अग्लो रथमा रथारोहण गराई घण्टाघर, भोताहिती हुँदै असनमा पुगेपछि सो दिनको रथजात्रा समाप्त हुन्छ । दोश्रो दिन असनबाट केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका स्थित कालभैरबसम्म रथजात्रा हुन्छ । तेश्रो दिन हनुमानढोकाबाट मरु, चिकंमुगः, मजिपाः, जोशिदेगः, ज्याबहाः हुँदै श्री मत्स्येन्द्रनाथको आमाको मन्दिर रहेको लगःसम्म रथजात्रा हुन्छ । चौथो दिन लगः स्थित मत्स्येन्द्रनाथकाे आमा र लगःमा रहेकाे डबली एवं रूखकाे तीन चक्कर लगाई (जसलाई ‘मासिमा चाहिकेगु’ भनिन्छ) रथ जात्रा समाप्त हुन्छ भने त्यसको भोलिपल्ट अर्थात पाँचौ दिन ज्याबिलीपिसालेगु पछि रथबाट निकालेर श्री मत्स्येन्द्रनाथलाई खटमा राखी विशेष पूजाआजा पश्चात् खट जात्रा गर्दै पुनः केलटोलस्थित मन्दिरमा पुर्याएपछि त्यस वर्षको मत्स्येन्द्रनाथ रथ जात्रा समाप्त हुन्छ । कथंकदाचित भवितव्य पर्न गै रथ जात्रा पूरा हुन सकेन भने पूर्णिमाको दिन विधिपूर्वक रथबाट निकालेर खटमा राखी मन्दिरमा पुर्याइन्छ ।

विगतमा रथ ढलेर, कतै ठोक्कीएर, जमिन भासिएर, चक्का गाडीएर, लगायत विविध कारणले पूर्णिमासम्म जात्रा चलेको देखिन्छ । शहरमा बढ्दै गएको यातायात चापका कारण वटुवाको सुविधाको लागि रत्नपार्कमा आकाशेपुल बनिसकेपछि छेउ छेउबाट रथ तान्दै गर्दा अनियन्त्रित भै रथ ढलेको थियो । तत्पश्चात यो रथजात्रामा घःकु (म्यानुअल ब्रेक) को अवधारणाको प्रयोग भएदेखि कुनै ठूलो दुर्घटना भएको छैन र रथ जात्रा पनि समयमै सकिदै आएको छ । यो पंक्तिकारको विचारमा बिना कुनै अवरोध समयमै जात्रा सकिनुको श्रेय जान्छ घःकुको व्यवस्थापन गर्ने युवा जमातलाई ।

रथ ढलेको अर्को वर्ष रथजात्रामा घःकु वा घःचुकुको प्रयोगको अवधारणा गुरुजुबाट आएपछि सोही सालदेखि हालसम्म निरन्तररुपमा यसको जिम्मा लिंदै आएका युवाहरुमध्ये अग्रपंक्तिमा हुनुहन्छ स्थानिय नरेश महर्जन । अरु कोही अगाडि नआएपछि देवताको काम त हो नि, जीवन्त संस्कृतिमा केही योगदान गर्न सकिन्छ कि भन्ने अठोट लिई म गर्न सक्छु भन्ने आँट गरि अघि बढेका नरेश महर्जनलाई साथ दिनेमा गोपाल कृष्ण डंगोल हुनुहुन्छ । घःकु, घःमा, पाङ्ग्रामा बसी सहयोग गर्ने अन्य युवाहरुमा किरण महर्जन, विनोद चित्रकार, पूर्णभक्त श्रेष्ठ लगायत झण्डै २० जना स्थानिय युवाहरु हुनुहुन्छ ।

प्रचलित स्थानिय जनजिब्रोको भाषामा घःकु वा घःचुकु वा अहिले पाश्चात्य शब्द ब्रेक जुन रथलाई रोक्न, मोड्नमा प्रयोग गरिन्छ । झण्डै झण्डै एक घनाकार काठको मुढो, एकातिर अलि चेप्टो भिरालो किसिमले बनाइएको हुन्छ । त्यसको बिचमा प्वालपारी त्यसमा डण्डी छिराई रिङ्ग जस्तो बनाई बिचमा लामो हेण्डिल राखि अगाडि पछाडि सार्न सजिलो हुने गरि तयार पारिएको हुन्छ, काठमाडौंको श्री मत्स्येन्द्रनाथ जात्रामा । तर पाटनमा काठको मुढोलाई विशेष किसिमले काटछाट गरी बिचमा प्वाल पारेर त्यसमा रुखको हाँगा अड्काई अगाडि पछाडि गर्ने गरिन्छ ।

पाटनमा रातो मत्स्येन्द्रनाथको जात्रामा घःकु राख्नेहरुले घरबाट सगुन लिएर आउने गर्दछन् भने यहाँ त्यस्तो रहेनछ । जो कोहीले गर्न शायदै सक्छ होला यो घःकु व्यवस्थापन गर्ने काम । अति नै जोखिमपूर्ण यो कार्य गरेको थुप्रै वर्ष भइसकेता पनि जात्रा व्यवस्थापन समिति, गुठि संस्थान, स्थानिय सरकारको ध्यान यी युवाहरुमा नपुगेको देखिन्छ अर्थात् उहाँहरुलाई कुनै भत्ता या पारिश्रमिकको व्यवस्था भएको रहेछन । घःकु व्यवस्थापन गरेबापत पारिश्रमिकको लागि कतै पहलकदमी नगरेको र आफूले सकुञ्जेल सेवाभाव लिई गर्ने बताउँछन् नरेश महर्जन । “तर सहि मूल्यांकन गरेमा नकार्ने पनि छैनौ” विचैमा थप्नु हुन्छ ।

कतै यसको अभ्यास नगरेको, कसैबाट यसको दिक्षा नलिएका महर्जनले आफ्नो कर्मक्षेत्रसँग सम्बन्धित कामले यो काम पनि गर्न सक्छु भन्ने आफ्नो आत्मविश्वासले अहिलेसम्म साथ दिएको रहेछ वहाँलाई । घःकुको प्रयोग भएको वर्षदेखि हालसम्म कुनै दुर्घटना नभएको, कतै रथ नअड्किएको, जात्रा सयममै सम्पन्न भएको उदाहरणले यसको व्यवस्थापनको जिम्मा लिएकाहरु धन्यवादका पात्र हुन् भन्दा कुनै अत्युक्ति नहोला ।

आफूले होस सम्हालेदेखि आफ्नो स्वइच्छाले यहाँको पहिचान जोगाउनको निमित्त लागि परिरहेका रहेछन् यी युवाहरु । धर्म संस्कृतिलाई जीवन्त राख्न लालायित भै जात्राभरि समय निकाल्न पाएकोमा औधि खुशि पनि छन् र आत्म सन्तुष्टि पनि हुँदो रहेछ ।
साभार ः स्वतन्त्र सञ्चारग्राम, वर्ष ७ अंक २९, पूर्णांक २०७६ बैशाख ६, पृ. २