पाहाँचःह्रेमा भव्यरुपमा मनाइने श्री कंग अजिमा जात्रा
शरण ज्यापु हरि
इतिहास अनुसार राजा गुणकामदेवले कान्तिपुर नगर स्थापना गरेको समयमा देशलाई नकारात्मक तत्वहरुबाट अलग्ग राख्न देशमा खड्गको आकारमा अष्टमातृकाका पीठहरु स्थापना गरेको उल्लेख छ । तर यी अष्टमातृकाहरु कहाँबाट ल्याई स्थापना गरे वा साधना गरी स्थापना गरे भन्ने कुरा उल्लेख गरेको पाइदैन । जस अनुसार खड्गाकारमा नई अजिमा, तकती अजिमा, कंग अजिमा, लुँति अजिमा, जाती अजिमा, म्हयपी अजिमा, डोला अजिमा, फिब्व अजिमा, पासिक्व अजिमा आदि हुन् । त्यस मध्ये शहरभित्र पनि अजिमाका अन्य पीठहरु रहेका छन् जसमा ङतभुलु अजिमा, वचुभुलु अजिमा, लुमरि अजिमा, लुचुँभुलु अजिमा आदि । यी मध्ये कुनै कुनैको जात्रा मात्र हालसम्म जीवन्त रहेका छन् ।
त्यसमध्ये पाहांचःह्रे पर्वमा जात्रा गरिने अजिमाहरु मध्ये यस लेखमा कंग अजिमा, जसलाई आजभोली कंकेश्वरीमाई पनि भनिने गर्दछन्, को जात्राको बारेमा केही उल्लेख गर्ने जमर्को गरेको छ यो पंक्तिकारले ।

कंग अजिमालाई हिन्दू धर्मावलम्बीहरुले आफ्नै किसिमले पूजा आजा गर्दै आइरहेका छन् जसलाई कुमकुम वर्णका कंग अजिमालाई चामुण्डा शक्ती स्वरुपा भनि लिने गरेका छन् । तन्त्रशास्त्र अनुसार कंग अजिमा एक दिन मान्छेको भेष धारण गरी इटुम्बहालका गुरुजुकहाँ यो ठाउँ मलाई फाप्छ कि फाप्दैन भनि सोध्न पुगेछ । गुरुजुले तन्त्रसाधनाबाट साधारण मान्छे नभएको थाहापाई सत्य धारण गराई जात्राको दिनमा यहाँ आउनु पर्ने बचनबद्ध गराएको रहेछ । त्यसैले पाहाँचःह्रे जात्राको दौरान यहाँ खट जात्रा गराई सगुन लिन जानु पर्ने हुन्छ । यो सगुन प्रसाद स्वरुप जसले हात पार्छ त्यसको शुभ हुन्छ भन्ने जनविश्वास रहेको छ ।

त्यस्तै कंग अजिमाको देवगण नाच सम्बन्धमा अर्को एउटा आख्यान पनि प्रचलित रहेको छ । पहिले पहिले यसको देवगण नाच हुन्थ्यो रे । देवघरभन्दा अलिक पर यतखा मजाः देगः सँगै यस देवगणको देवगण नाच नचाउने दबली रहेको थियो । अजिमा नाचमा मग्न रहको बेला एक तान्त्रिकले अजिमालाई फरक फरक रुप लिई जिस्काइरहेको रहेछ । रिसाई अजिमाले त्यस तान्त्रिकको बलि लिए पश्चात अब उपरान्त हरेक बर्ष तिमीहरुले मलाई नरबलि दिनु पर्छ भनेछ । यो शर्त पूरा गर्न सक्दैनौं भनेपछि त्यसो भए अब उपरान्त तिमीहरुलाई दर्शन दिन सक्दिन भनि देवगण नाच रोकेको थियो रे । अनि यससँग सम्बन्धित सम्पूर्ण सरसामान सोही दबलीमा गाडेर देवगण देवघर भित्र पसेको हुँदा आजसम्म पनि सो देवघरको मूलढोका बन्द अवस्था रहेको बताउँछन् गुथियारहरु । कथंकदाचित त्यो ढोका खोलेमा नरबली दिनुपर्छ भन्ने कुरा पनि बताउँछन् ।

पीठ पाला खलःका लाउरे देउलाका अनुसार कंग अजिमाको दैनिक नित्यपूजा केहि समयअघिसम्म ब्राम्हण समुदायबाट गरिदै आएकोमा हाल स्थानिय समाजबाट एक पूजारी नियुक्ती गरिएको छ ।
कंग अजिमा जात्राको निमित्त होली पुन्हिको भोलिदेखि पाहाँ चह्रेको निमित्त चहल पहल शुरु हुन थाल्छ यस क्षेत्रमा । पारुको दिन कंग अजिमा गुथि खलःको ‘लैका चियेगु’ कार्यक्रम हुन्छ । पाहाँ चह्रे पर्वमा जात्रा गरिने कंग अजिमा (कंकेश्वरी) जात्रा कसरी सम्पन्न गर्ने, कस कसले के के काम सम्पन्न गर्ने, कसको काँधमा कुन जिम्मेवारीको बोध गराउने भनि दमाइ टोल स्थित कंग अजिमाको देवघर (द्यःछेँ) झ्यालको तल बसी निकू ला (दुई टुक्रा मासु) गुथि सम्पूर्ण गुथियारहरु बसी सम्पन्न गरिन्छ जसलाई नेपालभाषामा ‘जात्राया नितिं लैका चियेगु’ भनिन्छ । थाकुली, गुरु, बैदार, १० वटा हुद्दा खलः सम्मिलित भै कंग अजिमा पिठमा पूजा आजा पश्चात् यो निकू ला गुठीबाट वितरण हुने मासु, जुन अति नै पिरो गरी बनाइएको हुन्छ, जाँडसँगै प्रसादको रुपमा गुथिका सदस्यहरुलाई बाँडी मनाइन्छ ।
तत्पश्चात् त्रयोदशीको दिन मन्दिर र देवघरमा इँला राखिन्छ खः पालाःहरुले । मध्यरातमा आगम घरबाट देवताका मूर्तिहरुलाई बाहिर ल्याई देवघर तल रहेको आसनमा बिराजमान गराइन्छ । विहानैदेखि पूजा गर्नेहरुको लस्कर लागेको हुन्छ मध्य दिनसम्म ।

कंग अजिमा खलःका नायः रामकृष्ण महर्जन (कंग अजिमा गुथिमा अजिमा हुनुहुन्छ) का अनुसार कंग अजिमा पीठ अलि वरतिर हात्तिख्यःमा योसिं ठड्याइए पछि कंग अजिमा जात्रा शुरु हुन्छ । सो योसिं ठड्याउन देवघरबाट पूजा सामाग्री र बाजागाजा सहित सो स्थानमा गुथियारहरु पुग्छन् । वडाकार्यालयमा सुरक्षित साथ राखिएको योसिं गुथियारहरु मिली बोकी ठड्याउने स्थानसम्म लगिन्छ । तत्पश्चात सेतो र रातो रंग टिका एक फन्को लगाई पुनः नयाँ जस्तो बनाइन्छ र योसिं ठड्याइन्छ । योसिं ठड्याइएपछि कंग अजिमा जात्रा शुरु हुन्छ । चारदिन पछि योसिं ढालेपश्चात जात्राको समाप्त हुन्छ ।
यसै पाहांचह्रेको अवसरमा इन्द्रचोक र भद्रकालीमा पनि त्यहाँका गुथियारहरुले यस्तै योसिं ठड्याउँदै आएको पाइन्छ । अन्य स्थानमा जस्तै यहाँ पनि अष्टमातृकाका चित्र अंकित पताका पनि फहराइन्छ ।
योसिं त धेरै नै पुरानो भएछ नि त भन्ने प्रश्नमा एक गुथियार चन्द्रमान महर्जनका अनुसार यो हरेक बाह्र वर्षमा फेर्ने गर्नु पथ्र्यो तर यसलाई घामपानीबाट जोगाई सुरक्षित साथ राखिएकोले फेर्न आवश्यक नभएको देखिएकोले यसैलाई निरन्तरता दिंदै आएको रहेछ । योसिं झण्डै १४–१५ पुरानो भएको बताए । कुनै कारणबस फेर्नु पर्ने अवस्था आएमा सरकारको स्वीकृति लिई पुजा आजा गरी फर्पिङबाट ल्याइने रहेछ ।

त्यसपछि नायः, न्वकू, थाकुली, बैदार र पाला सबैजना देवताको तिसा(गहना)हरु यथा गजुर, पता, हार माला, किकिंपाः, झण्डा, घण्ट आदि लिन भण्डारमा जान्छन् । पालाले सम्पूर्ण तिसाहरु दुरुस्त बुझी भरपाई गरी देवघरमा आउँछन् । प्रायःजसो देवताका गहनाहरु देवतालाई आफ्नो इष्टदेवता सम्झी चढाएका रहेछन् । देवघरमा ती गहनाहरु बुझ्न जाने जसलाई नेपालभाषामा “तिसा बिचा यायेगु” भनी बुझ्न आएका हुन्छन् । सो गहनालाई वर्षदिनसम्म सुरक्षित साथ राखेकोमा सो बापत निश्चित रकम पालालाई बुझाएपछि भरपाई गराई लिन आएकालाई बुझाइन्छ । पछि जात्रा गर्दै निजहरुको घर या पायक पर्ने स्थानमा खट जात्रा गर्दै पुगेपछि निजहरुले देवतालाई पूजा गरी पुनः सो गहना देवतालाई चढाईन्छ । पुर्खौदेखि चल्दै आएको तिसा बिचा गर्न आउने यो क्रियाकलापका एक साक्षी स्वरुप रहेका छन् पाँचौ पुस्ताका पूर्ण लक्ष्मी सिन्दुराकार । यसरी झण्डै १०० थान गहना यसरी नै बुझ्ने गर्दछन्, कतिले बोकेर जान्छन् त कतिले सोही देवघरको पीठमा चढाएर जान्छन् ।

पाहांचःह्रे (चैत्र कृष्ण चतुर्दशी) को साँझ नित्यपूजा पश्चात् देवघर पीठबाट देवताहरुलाई तीनतल्ले स्वर्णलेपन गरिएको खटमा बिराजमान गराईन्छ । पहिले च्वलामू (शायद पहिले खट ठूलो भएकोले सानो गल्लीबाट बाहिर ल्याउन अप्ठ्यारो भएकोले हुनसक्छ खटलाई दुई खण्डमा विभाजन गर्न मिल्ने गरि तयार गरिएको हुन्छ), जसलाई गजुर खण्ड भन्न सक्छौं, लाई पहिले देवघरबाट बाहिर ल्याइन्छ र पछि अर्को मन्दिर खण्ड बाहिर ल्याई त्यसमा च्वलामु स्थापित गरि फुलमालाले सजि सजाउ गरिन्छ । खट बोक्नको लागि नोल (एक मोटो किसिमको बाँसको एकखण्ड) दुई तिर बाँधिन्छ । अन्य जात्रा गर्ने खटहरुमा दायाँ बायाँ नोल बाँधिन्छ भने यो कंग अजिमा खटमा भने अगाडि र पछाडि गरि बाँधिन्छ । शायद स–साना गल्लीहरुमा पनि जात्रा गर्दै पूजा लिंदै जान सजिलो यसै कारण सम्भव भएको हो कि ।
सो दिन साँझ बाजागाजा र लावा लस्कर सहित खट जात्रा शुरु हुन्छ । खट जात्रा यतखा देवघरबाट शुरु भै पूजा लिंदै, जात्रा गर्दै नगरका केही भित्री भागहरु परिक्रमा पश्चात् कंग अजिमा मन्दिर परिसर पुगी पीठमा देवताका मुर्तिहरु प्रतिस्थापन गरी देउला समाजलाई जिम्मा लगाएपछि सो दिनको जात्रा समाप्त हुन्छ र च्वलामु देवघरमा पुनः फर्काइन्छ । सो दिन साँझबाट भोलि साँझसम्म भक्तजनहरुको घुँइचो हुन्छ मन्दिर परिसरमा । मध्यरातमा इटुम्बहालका बज्राचार्य समाजबाट त्यहाँ म्येँछ्यो (राँगोको टाउको) सहित होम पूजा गरिन्छ ।
औसीको दिन दैसा गुथीका मानन्धर समुदायबाट खट बाँध्न आउने गर्दछन् । उहिलेका दैसा गुथिका एक गुथियार कजि देवबहादुरका पितादेखि हालसम्म निरन्तररुपमा यो कार्य गर्दै आइरहेको बताउँछन् हालका गुथियार शान्तदास मानन्धर । खट बाँधे पश्चात् आखःछेँमा उहाँहरुलाई उचित स्वागत सत्कार गरी विदा पनि गर्दछन् कंग अजिमा गुथि खलःले । परापूर्वकालदेखि चल्दै आएको मानन्धर समुदायको नोचागु गुथि अन्र्तगत दैसा गुथीले अशोक विनायकको खट पनि बाँध्ने गर्दै आइरहेका छन् ।

साँझ तिर देवघरबाट नायः (अजिमा) र नायकाः (कुमारी) देवघरबाट मरु गणेशको देवघरमा जान्छन् भने उता मन्दिरबाट पीठका पाला देउला समाज, खड्गी समाज र मानन्धर समाज चिलाख बाली बाजागाजा सहित मरु गणेशका नायः लिन जान्छन् । सातौं पल्टको निमन्त्रणा पछि मरु गणेश देवघरबाट वहाँहरुलाई समयबजी र जाँड प्रसाद स्वरुप वितरण गर्दछ । उता गुथियारका केही सदस्यहरुले च्वलामूलाई पुनः पीठमा लिएर जान्छन् । मरुस्थित मरु गणेशको देवघरबाट मरु गणेशको नायःलाई साथमा लिई पीठमा पुगेपछि पीठबाट देउला समाजका नायःले पीठबाट देवताका मूर्तिहरु उठाई मरु गणेश नायःलाई जिम्मा लगाउँछ र मरु गणेश नायःले कंग अजिमा नायःलाई बुझाउँछ तत्पश्चात् मूर्तिहरु खटमा बिराजमान गराइन्छ र खट जात्राको लागि लगिन्छ । त्यसपछि देउला समाजका नायः र कंग अजिमा खलः का नायः बिच मन्दिर भित्र एक आपसमा सल्लासाहुती हुन्छ । जात्राको लागि मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गर्न ल्याएवापत कर (सुन्नमा आए अनुसार चुदां, पहिले पहिलेको सानो सिक्का) र चटांमरी (चौमरी) दिई बिदावारी हुन्छ । जसलाई “चुदां बियेगु” भनिने गर्दै आएको छ । जुन किलागल र वँटुमा बाटो करबापत बुझाई (प्रसाद बाँडी) जानुपर्छ । त्यस्तै मरु गणेश खलःलाई “स्वी ख्वाना” (३६ पैसा) दिने गरिदै आएको छ ।
मरु गणेश र कंग अजिमाको सम्बन्धमा एक आख्यान प्रचलित रहेको छ । कंग अजिमाको जात्रा पहिले मरु किसानहरुले गर्ने गथ्र्यो रे । त्यस समय मरु किसानको छोरा नभएको एक छोरीमात्र भएको । तिनको बिहे यतखा टोलमा भएछ । आपूm बु्ढो हुँदै गएको र पूजा आजा गर्न नसक्ने भएपछि अजिमाको दैनिक रुपमा गर्नु पर्ने नित्यकर्मको काम छोरीलाई दाइजो स्वरुप दिएको रे । यो कुराको पुष्टि स्वरुप अहिलेसम्मपनि खट जात्रा मरु किसानको उपस्थितिपछि मात्र मूल जात्रा शुरु हुन्छ ।

सो दिन साँझ जात्रा गर्दै लगि मध्यरातमा टुँडिखेलमा वँचुभुलु अजिमा (वटु भद्रकाली) र लुमरि अजिमा (टेबहाल भद्रकाली) बिच खट जुराउने जात्रा पश्चात पुनः देवघर यतखामा पुगेपछि सो दिनको जात्रा समाप्त हुन्छ । जसलाई खट जुधाउने भन्ने पनि गरिन्छ । खट जुधाउने भनेर खट जुधाउने नभई एक आपसमा चिराग साटासाट गर्ने गरिन्छ । जसलाई दिदी बहिनीको बिचको मेलमिलाप भन्ने गरिएको छ ।
पारु (चैत्र शुक्ल प्रतिपदा) को दिन सिन्दुर जात्रा गर्दै कंग अजिमाको यतखा स्थित देवघरबाट बिहानै जात्रा शुरु गरी माथिल्लो टोलका विभिन्न स्थानहरुको परिक्रमा पश्चात मध्य दिनमा असनमा पुनः वँचुभुलु अजिमा र लुमरि अजिमा बिच खट जुराउने जात्रा हुन्छ । तत्पश्चात तल्लो टोलको परिक्रमा पश्चात् जात्रा पुनः यतखा स्थित देवघरमा पुगेपछि त्यहाँ गुरुजु, नायः र नकिं (नायःको श्रीमती) ले देवतालाई पुजा आजा गरी चौरासी व्यञ्जनयुक्त सब्जंब्वः भोजन गराई देवतालाई देवघरमा भित्र्याई आसनमा बिराजमान गराइन्छ । द्वितीयाको दिन योसिं पाला तथा सम्पूर्ण गुथियार पूजा सहित हात्तिख्यः (हाथुख्यः) मा गै योसिं ढाले पश्चात जात्रा समाप्त हुन्छ ।
यो खट जात्रामा एउटा अनौठो चलन यो छ कि यसलाई जात्रा अवधिभर कहिं पनि बिसाउन हुँदैन मात्र देवघर अगाडि जात्रा शुरु हुँदा र अन्त्य गर्दा बिसाइन्छ । त्यसबाहेक इटुम्बहालमा च्वलामू झिकी बिसाइन्छ भने भद्रकाली त्वाःखलःको १२ बर्षे जात्राको दौरान टेबहालमा उगः(ल) मा बिसाइन्छ त्यो पनि केही क्षणको लागि मात्र । कथंकदाचित बोक्नेको काँधबाट फुस्केर भुईमा परेमा देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेको छ ।

बाहिर जात्रा समाप्त भएपनि गुथि भित्र जात्रा अन्तर्गतका अन्य विभिन्न क्रियाकलापहरु बाँकी रहेको हुन्छ । तृतियाको दिन ख्यः पूजा, चौथिको दिन तिसा बिचा पूजा अन्तर्गत गरगहना पूजा, सो गरगहना पालाःबाट गुथिले बुझी लिने र अन्तमा खटलाई यथास्थानमा राख्ने कामहरु हुने गर्दछ ।
श्री श्री श्री कंग अजिमा शरणः ।
अस्तु ।
साभार ः स्वतन्त्र सञ्चारग्राम साप्ताहिक, वर्ष ७, अंक २८, पूर्णांक ३१०, २०७५ चैत्र २९, पृ. ३–४ ।