संस्कृति

भीष्म पितामहको अन्तिम संस्कार

भक्तपुर, ६ फागुन २०७७ ।

महाभारत कथामा इच्छा मृत्यूवरणको वरदान पाएका भिष्म पितामहको अन्तिम क्षणको सम्झनामा उक्त घटनालाई जीवन्त बनाई राख्न हरेक वर्ष नेपाल उपत्यका लगायत भारतका विभिन्न स्थानहरुमा आज माघ शुक्ल षष्ठीकोे दिन एक चिता बनाई अन्तिम संस्कार गर्ने परम्परा चल्दै आएको पाइन्छ ।

महाभारत युद्धका क्रममा अर्जुनको आक्रमणबाट घाइते भएका भीष्म पितामहलाई बाणको शैय्या बनाई महिनौंसम्म आराम गराएर राखिएको थियो । मृत्यू शैय्यामा हुँदा पानीको अति तिब्र आकांक्षालाई पूर्ति गर्ना खातिर अन्यले स्वर्ण घडा लगायतमा पानी लिएर आएता पनि अर्जुनले आफ्नो बाणद्वारा पातालबाट पानी निकाली उक्त ईच्छालाई पूर्ती गरिदिएका थिए । पिता शान्तनुबाट इच्छा मृत्यूको वरदान पाएका भीष्म पितामहले सूर्य उत्तरायणमा हुँदा मृत्यू वरण गरेका थिए । किम्बदन्ती अनुसार उत्तरायणको क्रममा जसको मृत्यु हुन्छ उनको सिधै स्वर्गमा वास हुन्छ ।

यसैको प्रतीक स्वरुप माघ शुक्ल षष्ठीका दिन भक्तपुरको हनुमान घाटमा भक्तपुरको भोलाछेँँका कुम्पाकः परिवारको लःला गुथीका सदस्यहरुले गुथी पूजाको प्रसाद ग्रहण पश्चात आ–आफ्नो घरबाट काठ र पराल ल्याई यहाँ एक अग्लो चिता बनाइन्छ । भोलिपल्ट बिहान गुथीका सम्पूर्ण सदस्यहरु आई चिताको तीन कुनामा दागवत्ती दिइन्छ भने एउटा कुनामा स्थानीय द्यःला खलःबाट दागबत्ती दिने गरिन्छ जुन हिजो आज बन्द भैसकेको रहेछ ।

जलाई सकेपश्चात सो चिताबाट खरानीको टीका लगाउने गरिन्छ र परिवारको लागि पनि लाने गर्दछन् जसले रोगब्याधीको भयबाट मुक्त हुने जनविश्वास रहेको छ ।

हाल भक्तपुरमा मात्र निरन्तरता पाएको यो परम्परा पहिले पहिले ललितपुरको शंखमूल लगायतका स्थानमा पनि थियो भन्ने जनश्रुति रहेको छ ।

यो परम्परा परापूर्वकालदेखि अनवरत रुपमा यही गुथीका सदस्यहरुको आफ्नै आयश्रोतबाट सञ्चालन गर्दै आइरहेको देखिन्छ । नेपालमा महाभारतकालीन इतिहासको यो पर्व कसरी शुरु भयो भन्ने बारेमा हालसम्म कुनै अभिलेख पाइएको छैन । कतै यस गुथिका पूर्खाहरु महाभारतकालीन त हैनन् यो एक अध्ययन अनुसन्धानको विषय पनि हुन सक्छ ।

फोटो भिडियो ः श्याम था/हाम्रो जात्रा
लाइभ भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

https://www.facebook.com/108779070598748/videos/1060936187743734

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *