मलमासको मेला र मच्छेगाउँ स्थित मत्स्यनारायण

विष्णु प्रसाद रुपाखेती
लेखक
यो वर्ष २०७७ साल आश्विन २ देखि ३० गतेसम्म अधिकमास परेकोले मत्स्यनारायणको मन्दिरमा मेला लागिरहेको छ । यो वर्ष कोरोना भाइरस (कोभिड १९) को कारण चन्द्रागिरी नगरपालीकाको कार्यालय तथा चन्द्रागिरी नगरपालीका वडा नं. ९ को कार्यालय मच्छेगाउँले कोभिडको महामारीको कारणले थप फैलन नदिन मन्दिरमा विहान र साँझ ४ बजेदेखि ६ बजेसम्ममात्र भक्तजनहरुलाई दर्शन गर्न पाउने गरी मन्दिर खुल्ला गर्ने निर्णय गरेकोले उक्त समय बाहेक अन्य समयमा मन्दिर बाहिरबाटै दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
राजधानी काठमाडौंको मुटुदेखि १२ कि. मि. दक्षिण पश्चिम दिशामा पर्ने समुन्द्री सतहदेखि ५००० फिट उचाईमा रहेको मच्छेगाउँको नाम नसुन्ने काठमाडौं उपत्यकावासी सायद कमै होलान् । अझ यस गाँउको मध्ये भागमा अवस्थित ”मच्छेनारायण मन्दिर” ले काठमाडौं उपत्यका मात्र नभै यसका आसपासका धेरै जिल्लावासीहरुलाई मच्छेगाउँको पूर्ण परिचय दिलाएको छ । पश्चिममा मातातीर्थ कुण्ड, पूर्व दक्षिणमा चम्पादेवी तथा पुष्पलाल स्मृति प्रतिष्ठान, दक्षिणमा चन्द्रागिरी, भष्माशुर पहाडहरु जस्ता पर्यटकिय र ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थलहरु माझ रमणिय, स्वच्छ, हरियाली पहाडको फेदीमा अवस्थित यस मच्छेनारायण मन्दिरको आफ्नै ऐतिहासिक र पर्यटकिय परिचय तथा महत्व छ । अझ प्रत्येक ५ वर्षमा २ पटक नेपाल अधिराज्यभर यसै मन्दिरमा मात्र लाग्ने एक महिना लामो मलमासको मेलाले त यसलाई प्रख्यात बनाएकोे छ ।
शाब्दिकरुपले ‘मल’ भन्नाले मयल, फोहोर वा कस हो भने, ‘मास‘ भन्नाले महिनालाई जनाउँदछ । चन्द्रमाको तिथि, घडी, पला जम्मा भई बन्ने अतिरिक्त महिना मलमास हो । चन्द्रमासमा ३५४ दिनको १ वर्ष मानिन्छ, जबकि सौरमासमा १ वर्षको ३६५ दिन पर्दछ । यस हिसाबबाट १ वर्षमा सौरमासमा ११ दिन बढी हुन्छ । प्रत्येक ३ वर्षमा ३३ दिन (१ महिना) बढी भई मानीने अधिकमास नै मलमास हो । प्रत्येक १ वर्षमा बाह्र महिना हुनेमा मलमास पर्ने वर्षमा १३ महिनाको एक वर्ष हुन्छ तथापि यो १३ महिना दिनगन्तीको हिसाबले मात्र पत्ता लाग्दछ । यो हिसाबले प्रत्येक ३१ महिना १६ दिन १ घण्टा ३६ मिनेटपछि १ अधिकमास पर्दछ । सामान्यतया प्रत्येक ५ वर्षमा २ पटक मलमास पर्दछ । यो वर्ष २०७७ साल आश्विन २ देखि ३० गतेसम्म अधिकमास परेकोले मत्स्यनारायणको मन्दिरमा मेला लागिरहेको छ । यो वर्ष कोरोना भाइरस (कोभिड १९) को कारण चन्द्रागिरी नगरपालीकाको कार्यालय तथा चन्द्रागिरी नगरपालीका वडा नं. ९ को कार्यालय मच्छेगाउँले कोभिडको महामारीको कारणले थप फैलन नदिन मन्दिरमा विहान र साँझ ४ बजेदेखि ६ बजेसम्ममात्र भक्तजनहरुलाई दर्शन गर्न पाउने गरी मन्दिर खुल्ला गर्ने निर्णय गरेकोले उक्त समय बाहेक अन्य समयमा मन्दिर बाहिरबाटै दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

मलमासमा कुनै चाडपर्व, पुण्यकर्म आदि केहि गर्न योग्य मानिदैंन । यसैले पुरुषेत्तममास महात्म्य अनुसार अधिकमासलाई साह्रै चिन्ता लागि हरि भगवान्कोमा गई दुःख पुकारा गर्न लागे । “बलियाहरुले मेरो नाम मलमास राखे र तिरस्कार गरे, शुभकर्म त्यागे, त्यसैले मलाई शरणमा लिई रक्षा गर्नुहोस् ।” हरिले दुःख, शोकका कुराहरु के के हुन् बताउन भने । तब अधिकमासले भने, ‘हरेक क्षण‘, निमेष, मुहूर्त, पक्ष, महिना, दिन रातका आ–आफ्नै स्वामि छन्, त्यसैले सबै खुशी छन् । मेरो न नाम छ, न स्वामी, न आश्र्रय नै । यसैले अधिष्ठित द्यौता हुने सबैले शुभकर्मबाट मलाई निकाली दिएकाले मलमासमा शुभकर्मको निषेध गरीएको छ, गरेमा खाल्डोमा जाकिन्छ भन्दछन्, यसैले म मर्न चाहन्छु । खराब किसिमले बाँच्नु भन्दा मर्नु निको‘ भनेर भगवानको अगाडि लडे । तत्काल देवताहरुको सभा बस्यो र नजिक रहेका गरुडले हम्केर बौराईदिए । हरिले भगवान् श्री कृष्णकोमा जाऊ उहाँले दुःख हरिदिनु हुन्छ, भनि सल्लाह दिएकाले उनी गोलोकमा भगवान् श्री कृष्णलाई भेट्न गए र इतिवृतान्त सुनाए ।
श्री कृष्णले भन्नुभयो, ‘यो मलमासलाई म आफैंतुल्य सर्वोच्च गराउादछु, गुणले, कीर्तिले, कृपाले, छ ऐश्वर्यले, पराक्रमले, भक्तहरुलाई वर दिने शक्तिले, मेरा अरु पनि गुणहरुले । जसरी संसारमा म पुरुषोत्तम भनिएर प्रख्यात छु, यस्तैमा तिमि पनि यिनै गुणहरुले संसारमा पुरुषोत्तम भनेर विख्यात हुनेछौ । जो गुण म मा रहेका छन् ती सबै गुण मैले तिमिमा समर्पण गरीदिए । पुरुषोत्तम भन्ने नाम लोकमा र वेदमा पनि विख्यात छ, अव मलमासको स्वामि भएँ भन्ने जान । यो नामले सारा जगत् पवित्र हुनेछ । तब तिमि पनि म जस्तै हुन पाएर सबै महिनाहरुको राजा हुनेछौ । यो मासलाई पुजा गर्नेहरुको सबै दुष्कर्महरु भष्मिभूत हुनेछन्, फल प्राप्त हुनेछ ।’ यसैले मलमासलाई यो शब्दले भन्दा ‘पुरुषोत्तम मास‘ भन्ने शब्दले पुकारिन्छ ।
यस मन्दिरको वरीपरी मत्स्यकुण्ड, ज्ञानकुण्ड, र सुवर्णधारा नामका ३ कुण्डहरु छन् । यि मध्ये ज्ञानकुण्डमा माछाको आकारको नारायणको मूर्ति रहेकोले मसलाई मच्छेनारायणको नाम दिईएको हो । उल्लेखित ३ कुण्डहरुमध्ये नेपाल भाषामा “वासाहिती” भन्ने गरीएको “सुवर्णधारा” को सन्धर्भमा एउटा किम्बदन्ति पाईन्छ । जस अनुसार काठमाडौंका एक लिच्छविकालीन राजाका रानीलाइं शूल भएछ । सयौं उपचारले ठिक नभएपछि काठमाडौं भिमसेनस्थान नजिकका एकजना झा ब्राम्हणले यसै मच्छेनारायणमा आई नारायणको पूजा गरी यसै कुण्डको जल लगि पिलाउँदा रानीको शूल निको भएकोले नेपाल भाषामा “वास” भनेको औषधि, “हिती” भनेको पानी अर्थात औषधियुक्त पानी आउने धारा भनिएको हो । आफन्तकहाँ गएर भोजभत्तेर खाँदा पेट फुलेमा मच्छेनारायणको मन्दिर पछाडि गएर नबोलीकन ३ अञ्जुली पानी पिउने प्रचलन अद्यापि पाईन्छ, जसबाट पेट सम्बन्धि रोग निर्मूल हुने कुरा स्थानिय बृद्धहरु बताउँदछन् । तर विगत १० वर्षदेखि यो कुण्डको पानी सुकेकोले मन्दिरको २०० मिटर पुर्वतर्फ बोरीङ्ग गरी कुण्ड भर्ने गरीएको छ ।

शूरुमा मत्स्यनारायणको नामले परिचित यो मन्दिर पछि अपभ्रंस भई मच्छेनारायण भएको मानिन्छ । यो नारायण माछाको मुखबाट उत्पति भएको भन्ने श्रुति पाईन्छ । यो मन्दिरको दक्षिण पश्चिममा ढुङ्गाका १४ वटा धाराहरु रहेका छन् भने उत्तरमा कुण्ड प्रवेशद्धार भई मन्दिरको ढोका रहेको छ । घण्टा आकारको छानो र पित्तलको गजुर रहेको मन्दिर हालसालै जिर्णोद्धार गरिएको छ । शुरुमा सुनको गजुर रहेकोमा वि. सं. २००५ मा चोरिएपछि पित्तलको राखिएको हो । मन्दिरको चारैतर्फ ढोका सिधा जलसाहीको मूर्ति रहेको छ भने यसपछि वरीपरी रहेकोे कुण्डलाई ढुङ्गा र इँटाको पर्खालले घेरिएको छ । नारायणको मूर्तिको दाँयापट्टी महादेव र पार्वती, बायाँपट्टी गणेश, दक्षिणतर्फ सरस्वती र उत्तरतर्फ देवगणहरु रहेका छन् । नारायणको पाउमा लक्ष्मी सहितको नारायणको स–साना मूर्तिहरु पनि छन् । मूर्तिहरुको रङ्ग र वनौटले यी सबै मूर्तिहरु एकै समयमा बनाईएको भान हुन्छ । विगतमा मच्छेगाउँको करिब आधा जनसंख्याले पिउने पानीको श्रोत रहेको यस कुण्डको दक्षिण तर्फ अग्ला खरी, सिप्लेकान र मयलका वृक्षहरुले यस कुण्ड र मन्दिरको शोभा बढाईरहेका छन् ।
विगतमा भौगोलिक रुपले अचम्म त यो थियो कि वर्षायाममा यस कुण्डको पानी सुक्दै जान्थ्यो भने हिउँद शूरुवात भएपछि यसको वरिपरि रहेका १४ वटै धाराहरुवाट पानी झर्न थाल्दथ्यो । विगत केहि वर्षदेखि पानीको स्रोत पुर्ण रुपले सुकेको छ । कुनै पनि भूगोलविद्हरुले हालसम्म अध्ययन र अन्वेषण नगरेकाले यसको कारण हालसम्म पत्ता लागेको छैन । किम्बदन्ति अनुसार मत्स्यनारायण चम्पादेवीसँग पानी माग्न गएछन् । शेषनारायण पनि पानी माग्न उहीं पुगेका रहेछन् । मलाई जसले पहेंलो फूल ल्याईदिन्छ, म त्यसैलाई पानी दिन्छु भनेर चम्पादेवीले भनिछन् । दूबै पहेंलो फूल खोज्न हिंडे । शेषनारायणले चलाखि गरी काँक्रा र फर्सिको फूल टिपि लगिदिए र चम्पादेवीले पानी उनैलाई दिईछन् । पछि मत्स्यनारायण सुनको फूल लिई पानी माग्न पुगे । शेषनारायणलाई पानी दिई सकेकाले उनलाई अप्ठयारो प¥यो । भैगयो दुबैलाई पालैपालो दिन्छु, ६÷६ महिना लैजानु भन्ने आदेश भएकाले नागपञ्चमीदेखि श्री पञ्चमीसम्म मत्स्यनारायणलाई र श्रीपञ्चमीदेखि नागपञ्चमीसम्म शेषनारायणलाई गरी वण्डा गरीएकोले यसो भएको हो भनिन्छ । तर यस कुण्डमा आउने पानीको मुहान सायद टाढा रहेको र कुण्डमा आईपुग्न लामो समय लाग्ने भएकोले वर्षामा जम्मा हूँदै हिउँदमा बग्ने गरेको हुनसक्ने तर्कमा धेरैको विश्वास रहेको छ ।
मत्स्यनारायणको उत्पतिको सम्बन्धमा एउटा धार्मिक प्रसंग यहाँ खुबै प्रचलित छ । जस अनुसार उहिल्यै यस मन्दिरको आमनेसामने कुटि बनाई एक महामानव बस्दथे । एकपटक रातको १२ बजेको समयमा सो स्थानमा अकस्मात ठूलो आवाज सुनियो । यो के आश्चर्य भयो भनी नारायणको नाम लिई महामानव उक्त आवाज आएको ठाउँमा पुगे । उनको अगाडि योगिरुप धारण गरेको व्यक्ति प्रकट भई ”हेर बालक म यस कुण्डमा उत्पति भएको छु । यो मेरो प्रथम उत्पति हो र म माछाको मुखबाट निस्केको शिलारुपी सोहि कुण्डमा हुनेछु, संरक्षण गरी राख, अस्तु” भनी अन्तध्र्यान भए । पछि हेर्न जाँदा माछा आकृतिको मुखबाट भगवान निस्कि जलभित्र अन्तध्र्यान भएको देखि उक्त आकृतिलाई जलबाट निकाली कृटितर्फ लगि विश्राम गराई सधैं जल चढाई अर्घ दिन थालेछन् । पछि एक दिन उही मानव ध्यानमा मस्त भएको बखत पहिल्यैका योगी भेषका व्यक्ति प्रकट भई, ”हेर बालक तिम्रो ध्यान हरिनाथमा छ र म नर भङ्ग गर्न आएको होईन, नर भनेको मानव, हरि भनेको भक्ति र नाथ भनेको प्रभु हो । तिम्रो भक्ति प्रभुमा छ, त्यसैले तिम्रो नाम नरहरिनाथ र तिमि बसेको ठाउँ नरहरिपुर हो ।” भनी अन्तध्र्यान भएछन् । यसैले यो गाउँको पूरानो नाम नरहरिपुर पनि रहेको पाईन्छ । पछि पुनः उही योगी प्रकट भई “हेर नरहरिनाथ, मलाई बढी जलको विश्राम चाहिन्छ, त्यसैले कुण्ड गहिराऊ” भन्ने आकाशवाणी भएकाले उक्त महामानवले कुण्ड गहि¥याएका हुन् भन्ने जनश्रुति यहाँका बृद्धहरुबाट सुन्न पाईन्छ । यस श्रुतिलाई एकातर्फ मन्दिरको दक्षिणतर्फ रहेको नेपाल संवत् ७९४ को शिलालेखले प्रष्ट्याउँदछ भने अवतार निर्गुण भजनको प्रथम श्लोकले समेत यसलाई विश्वासयोग्य बनाउँदछ । जसमा प्रथम श्लोकमा नै भनिएको छ,
”प्रथम अवतार प्रभू मत्स्यरुप धारणम्,
श्ांखचक्र गदा पद्म शंखाशूर छेदनम् ।”
पछि यस मन्दिरमा यसै कथामा आधारीत मूर्ति स्थापना भएको पाईन्छ । चार हात पाउमा शंख, चक्र, गदा, पद्म लिएका औंला भएको ढुङ्गाका नारायणको मूर्ति मन्दिरभित्र जलमा शयन गरार्ईएको छ । पछि माथि उल्लेखित कथालाई आधार बनाई तत्कालिन पूजारीले कल्पना गरेर माछाको मूखबाट नारायण निस्केको मूर्ति बनाई राखे । दर्शन गर्न आउने भक्तजनहरुले मूर्ति दर्शन गर्न माग गर्ने र चाँदीको मूर्ति प्रत्येकलाई देखाउने, राख्ने काम अव्यवहारीक भएकाले उक्त हाल पित्तलको बनाई सबैलाई देखाउन सकिने गरी राखिएको छ ।
यो मन्दिरको ऐतिहासिकतालाई अध्ययन गर्ने हो भने यसको वरिपरि रहेका शिलालेखहरुको अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ । गुठि संस्थानको अभिलेख र पुरातत्व विभागको शिलालेख तथा मत्स्यगाउँको पोखरीको सिंढिमा तथा पर्खालमा रहेको नेपाल संवत् ७९४ (वि. सिं. १७३१) को दुई शिलालेखहरु साथै मत्स्यनारायण स्थानको तुलसीको मठ तथा मच्छेनारायण मन्दिर पछाडी रहेको नेपाल संवत् ८४७ (वि. सं. १७९४) को शिलालेखले यो मन्दिर शत्रौं शताब्दिमा बनेको भन्ने देखाउँदछ । १९७१ सालमा आएर यहींका वासिन्दा ईन्द्र बहादुर विष्टलाई १९६४ मार्ग ११ गतेको सनद बमोजिम ज्यूँताभर गुठियार बन्न पाउने र निजको शेषपछि जे गर्नुपर्छ गर्ने भनी गुठियार बनाईएको पाईन्छ ।
मन्दिरको वरिपरिको भौगोलिकतालाई हेर्ने हो भने पश्चिमबाट पूर्वतर्फ क्रमशः चन्द्रागिरी, भष्मासुर, चम्पादेवी पहाडहरु एउटै पर्वत श्रृंखलामा पर्दछन्् । स्कन्द पुराणमा ”चन्द्रागिरी पर्वतको तल नारायण भएको चक्र पोखरी छ” भन्ने उल्ल्ोख भएको छ । पोखरी मात्र नभई माछा समेत गोलो रहेको थियो, मच्छेगाउँकै बृद्धबृद्धाहरु बताउनु हुन्छ । यो मन्दिर अगाडि पहिले जलशाहीको मूर्ति राखिएको थियो । यसको दायाँबायाँ ढुङ्गाको बलिया दुईवटा खम्बाहरु राखि पाताको छाप्रो हाली सो भन्दा माथि पञ्चनारायण शाल्मीहरुको ५ वटा मूर्ति बनाई राखिएको रहेछ । वि. सं. २०२४÷०२५ तिरको कुरा हो, यिनै कृतिमताको कारणले यहाँको पानी सुक्न थालेको शंकामा तत्कालीन समयका युवाहरुले यि सबै खम्बा, छाप्रो र मूर्तिहरु निकालीदिएका रहेछन् ।

मच्छेनारायण मन्दिरमा मलमासको मेला शुरु भएको इतिहास जान्नको लागि जङ्गबहादुरको समयसम्म फर्किनु पर्दछ । तत्कालिन समयमा मच्छेनारायण क्षेत्रकै केशर बहादुर विष्ट भन्ने एकजना धनाड्य व्यक्ति एकदिन दक्षिणकालीमा चामल र मुद्रा सरोवर पारी गरीब, मगन्तेहरुलाई बाँडिरहेका थिए । संयोगवस जङ्गबहादुर समेत सोहि दिन त्यहिँ पुगेका रहेछन् । अरुको प्रगति देख्न नसक्ने राणाकालीन सोच भएका जङ्गबहादुरले उक्त व्यक्तिले आफुलाई उछिन्न सक्नेदेखि निजलाई अल्मल्याई राख्न भोलिपल्ट दरबारमा बोलाई वार्षिक २८ मुरी धान र ४ मुरी गहूँ पूजारीलाई दिने र मन्दिरको मर्मत, संभार र रेखदेख गर्न उनलाई ४० मुरी गहूँ दान गरी दिने शर्तमा केशरबहादुरलाई जिम्मा लगाए । केशरबहादुरले पाउनु अघि भाटवंशले पूजा गर्ने गर्दथे । यसै क्रममा शत्ता हत्याउने राजनीतिको क्रममा भण्डारखाल पर्व र कोतपर्व पछि मन्दिरको पूजारी तुल्सीरामलाई बनाए । मलमासको समयमा कुनै पनि चाडपर्व मनाउन नहुने, मठ मन्दिरमा बली नचढ्ने, ब्रत लिन र तीर्थ गर्न नहुने तथा विवाह, व्रतबन्ध तथा श्राद्ध समेतको पूण्य कर्म गर्न नहुने भएकोले ब्राम्हणहरु फूर्सदमा रहने भएकोले उक्त समयावधि भरी मेला लगाउन आदेश गरेकोले सोहि समयदेखि मलमासमा पुरुषोत्तम मासको मेलाको शुरुवात भएको पाईन्छ । ब्राम्हणहरुको लागि मात्र शुरु भएको यो मेला पछि सबै जात, वर्णका मानिसहरुले कुण्डमा स्नान गरी नारायणको दर्शन गर्ने परम्परा शुरु गरेका हुन् । यो मलमासको समयमा मेला भर्न आउने श्रद्धालु भक्तजनहरुले यस मन्दिरको कुण्डमा स्नान गर्नाले जिउमा रहेका घाउ खटीराहरु, चर्मरोगहरु निको हुने, आफूले चिताएको पूरा हुन्छ भन्ने बुढापाकाको भनाई छ । साथै स्नान र दर्शन पश्चात ३३ वटा मालपुवा काँसको थालले ढाकी पहेंलो वस्त्रले छोप्ने, त्यसमाथि काँचको कचौरामा नै घ्यू, सूवर्णप्रतिमा राखी एउटा बोहतामा कालो तिल पनि राखी कासैंको थालले ढाकी पहेंलो वस्त्रले छोप्ने, त्यसमाथि काँचको कचौरामा नै घ्यू, सूवर्णप्रतिमा राखी एउटा वोहतामा कालो तिल राखी ३३ वटा नामले नारायणको पूजा गर्ने र मालपुवा दान गर्ने गरिएको कुरा पञ्चाङ्गमा उल्लेख गरीएको पाईन्छ ।

मत्स्यनारायण मन्दिरको ऐतिहासिकता, महत्व आदिलाई बचाउने हो भने थुप्रै कामहरु गर्नुपर्ने यहाँको बृद्धहरुको भनाई छ । यहाँका झण्डै, आधा जनसंख्याले पिउने पानीको श्र्रोत सुक्नुको कारण के हो ? सो को अध्ययन, अनुसन्धान गरी श्रोतको संरक्षण गर्नु प्रथम आवश्यकता हो । वस्तीको माझमा रहेको मूल भएकोले सफा सुग्घर गर्नुपर्ने प्रमुख दायित्व मत्स्यगाउँ वासिको नै हो । मन्दिरको दक्षिणतर्फ खेलमैदानको निर्माण हुनु, मन्दिर वरिपरिका वासिन्दाहरुले प्रयोग गर्ने चर्पीको निकाश मन्दिर नजिक हुनु, जग्गाको प्लटिङ्ग भई वस्ती विकास हुनु, फोहोर जथाभावी फालिनु, मन्दिरको नजिकबाट यातायातका साधनहरुको आवत–जावत हुनुले पनि पिउने पानी समेतको कुण्ड सुकेको हुन सक्ने अनुमान विज्ञहरुको रहेको छ । अझ भौगोलिक र पुरातात्वीक अनुसन्धानकर्ता र विष्लेषकहरुबाट अध्ययन गराई यसको वरिपरि गरिने विकाश निर्माणका कार्यहरुमा उपयुक्त नीति अपनाउनु अपरिहार्य देखिन्छ ।
लेखक अनुसन्धाता, कानूनविद तथा शिक्षाविद् पनि हुनुहुन्छ ।