जन प्रभात मा.वि. को भवन शिलान्यास सम्पन्न
भदौ ३१, काठमाडौं ।
वि.सं. २००८ सालमा स्थापित का.म.पा. १३, कालिमाटी स्थित जन प्रभात मा.वि. को २४ कोठे भवनको भूमि पूजन एवं शिलान्यास सम्पन्न भएको छ ।

काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिव सुन्दर राजवैद्ययको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै यो विद्यालय २०७२ सालको विनाशकारी भूकम्पबाट रुग्ण भएकाले यसलाई निर्माण गर्न सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले अन्य रुग्ण भएका विद्यालयहरुकाे पनि निर्माण कार्य गर्दै जाने बताउँदै भवनको अभावमा विद्यालयको पठन पाठनमा प्रभाव पारेकाले छिटोभन्दा छिटो भवनको निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिवक्ता रामशरण डंगोलका अनुसार २४ कोठे पक्की भवन एशियाली विकास बैंक र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा ८ करोड ५० लाख आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने र निर्माणको गुणस्तरीयतामा विद्यालय व्यवस्थापनबाट अनुगमन तथा निगरानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
निर्माण सम्पन्न अवधि ५४० दिन रहेको सो को ठेक्का शर्मा खानी जेभी कम्पनीले पाएको छ भने भवन निमार्णको डिपिआर उमर मुन्शी एसोसिएट्स, पाकिस्तानका कन्सल्ट्यान्टले गरेको हो ।




