जात्रा पर्वसंस्कृति

श्री पचली भैरवको जात्रा हुने निश्चित

आश्विन २२, २०७७, काठमाडौं ।

कोभिडका कारण यस वर्षको श्री पचली भैरव जात्रा हुने हो कि होइन भन्ने अन्यौलता समाप्त भएको छ । आज बसेको श्री पचली भैरव गुथियार खलः र जात्रा व्यवस्थापन समितिको संयुक्त रुपमा सम्पन्न भेलाले परापूर्वकालदेखि चल्दै आएको श्री पचली भैरवको जात्रा भव्यरुपमा नमनाइकन परम्परा, संस्कार र विधि व्यवहार मात्र पूरा गरी मनाउने भएको छ । श्री पचली भैरवको जात्रा परापूर्वकालदेखि हरेक वर्ष कौलाथ्व पारुदेखि पञ्चमीसम्म भव्यरुपमा विविध सांस्कृतिक गतिविधि सहित जीवन्त रुपमा मनाउँदै आएको छ ।


साे भेलामा आफ्नो भनाई राख्दै श्री पचली भैरव गुथिका गुथियार द्यःसिं महर्जनले यस श्री पचली भैरवको आफ्नो छुट्टै द्यःछेँ (देव घर) नभएकोले हरेक वर्षका गुथिया पाःलाको घर नै द्यःछेँको रुपमा परापूर्वकालदेखि चल्दै आएको हुँदा यो जात्रा नगरी द्यःछेँ परिवर्तन गर्न नसकिने हुँदा यसलाई छोटो रुपमा र गर्नैपर्ने विधि मात्र सम्पन्न गरी भए पनि जात्रा सम्पन्न गरिने बताए ।

श्री पचली भैरव जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण महर्जनले काठमाडौंको तल्लो टोलको पहिचान र राष्ट्रिय गौरवको श्री पचली भैरवको जात्रा भव्य रुपमा विगत वर्षमा सम्पन्न गरिदै आएको सर्वविदितै छ । यसवर्ष कोभिडका कारण अन्य जात्राहरु रोकिए पनि श्री पचली भैरवनाथको जात्रा रोक्न नहुने र रोक्न नसकिने जानकारी विभिन्न निकायमा जानकारी गराई त्यहाँबाट अनुमती लिई निश्चित समयमा जात्रा समापन गर्ने गरी स्वीकृति पाएको बताउनु भयो ।

न्हय्मु न्हयेत्वाःका गुथियार रामबहादुर डंगोलले आवश्यक पर्ने सतर्कता अपनाई जात्रा संचालन गर्न श्री पचली भैरव गुथियार र जात्रा व्यवस्थापन समितिलाई सुझाव दिनु भयो ।

सो छलफल कार्यक्रममा अन्य सहभागीहरुले पनि आफ्ना सुझाव र भय रहित रुपमा जात्रा सम्पन्न गर्न आवश्यक सहयोग गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *