यःमरि पुन्हि एवम् ज्यापु दिवसको अवसरमा डल्लु आवास महोत्सव हुने
१० पौष २०८०, काठमाडौं ।
सम्पदा संरक्षण तथा साँस्कृतिक सम्वर्धनमा समर्पित श्री गणेश सामुदायिक बिकास सेवाले यस बर्ष यःमरि पुन्हि एवम् ज्यापु दिवसको अवसरमा पुष १४ गते शनिबार डल्लु आवास महोत्सव गर्ने भएको छ ।
हरेक वर्ष डल्लु क्षेत्रका १२ वटा सामाजिक संस्थाले पालैपालो गर्दै आएको सकुन्दा -याली भन्दा फरक ढंगले यस वर्ष श्री गणेश सामुदायिक बिकास सेवाले महोत्सव आयोजना गर्न लागेको हो । ज्यापु दिवसको अवसरमा गर्न लागिएको सो कार्यक्रममा चर्या नृत्य, धिमे नृत्य, नेवार खानाका स्टलहरु तथा सांस्कृतिक कार्यक्रम हुनेछ।
सेवाका अध्यक्ष धर्म महर्जनका अनुसार यस वर्ष युवाहरुको ढुकढुकी कुमार सागर, रोजमान महर्जन, निशा देसार, उजन शाक्य, निभा डंगोल, रत्नशोभा महर्जनलगायतले प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी गराउनु भयो । साथै कार्यक्रममा नेवार पहिचान जोगाउन आफूहरुले सो कार्यक्रम गर्न लागेको जानकारी गराउनु भयो । फनोलोजिक सोलुसनले कार्यक्रमको व्यवस्थापन (इभेन्ट म्यानेजमेन्ट) गर्दैछ ।