शीतला मा.बि.मा नेपालकै पहिलो कोड क्लबको स्थापना
२० जेठ २०८०, काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजुस्थित शीतला माध्यमिक विद्यालयमा नेपालकै पहिलो विद्यालय कोड क्लबको उद्घाटन का.म.पा.का उपमेयर सुनिता डंगोलले हिजो एक कार्यक्रम बिच गर्नुभयो ।
उद्घाटन कार्यक्रममा महानगरपालिका उपमेयर सुनिता डंगोलले शीतला मा.वि.ले पछिल्लो समयमा गरेको प्रगतिबाट आफू खुसी रहेको र विद्यालयको लागि हरेक प्रकारको सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनमा महानगरपालिका महत्त्वाकाङ्क्षी कार्यक्रमका साथ लागि परेको हुनाले सबैको साथ र सहयोगका खाँचो रहको बताउनुभयो ।
कार्यक्रममा शिक्षा अधिकारी सिताराम कोइरालाले परिवर्तन सम्भव छ, अनि यसका लागि हामी आफै अपनत्व लिने र वाधा छिचोल्दै अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । साथै वहाँले राम्रो काम र राम्रो अनुकरणीय योजना ल्याएमा शीतला मा.वि.लाई सदैव साथ दिने पनि बताउनुभयो ।
त्यस्तै का.म.पा.का शिक्षा विज्ञ रेसु अर्यालले शिक्षकहरूको DIGITAL LITERACY सिपमा स्तर उन्नति गर्ने उद्देश्य सहित, सबै सामुदायिक विद्यालयलाई Google Workspace for Education प्रयोगमा ल्याउने काम सुरु गरिएको बताउनु भयो ।
कार्यक्रममा वि.व्य.स.का अध्यक्ष शुक्रलाल श्रेष्ठले विद्यालयमा गठित सबै क्लबहरू सक्रिय रहेको र ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत सौन्दर्य कला र कपाल शैली (हेयर स्टाइल) सम्बन्धी तालिममा शीतला मा.वि.का छात्रछात्रा दुवैको सहभागी रहेको उल्लेख गर्नुभयो ।
कोड क्लबका विद्यार्थीहरूले खेल मैदानमा फुटबल, बास्केटबल खेले जसरी रमाउँदै कप्युटरबाट नयाँ कार्यक्रम बनाउन सक्छन् । यसको आधार स्क्य्राच कोडिङ् हो । यसरी निर्माण गरिएका कार्यक्रमहरू १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ र यही प्लेटफर्मबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा समेत गर्न सकिन्छ ।

केही विद्यालयबाट सुरु गर्न लागिएको यो कोड क्लब महानगरको सबै सार्वजनिक विद्यालयमा स्थापना गर्ने तयारी रहेको छ । उक्त क्लब मार्फत विद्यार्थीहरूले कोडिङ, एनिमेसन, सिम्पल प्रोग्रामिङहरूका साथै वेबसाईट तथा विभिन्न एप्लिकेशन बनाउने क्रियाकलापहरू सिक्नेछन् ।
डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न र विद्यार्थी र शिक्षकहरूलाई नवीनतम प्राविधिक उपकरणहरूको साथ सशक्त बनाउने सोच बमोजिम, महानगरपालिकाले Digital and Beyond सँग सहकार्य गरी प्रत्येक सामुदायिक विद्यालयमा Raspberry–Pi Foundation Code Club गठन गर्ने कार्य सुरु गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले बताउनु भयो ।
शिक्षक सगुन ढुंगानाका अनुसार कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर CODING सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको र यस कार्यक्रमले विद्यार्थीको सिप, विद्यार्थीहरूको शैक्षिक तथा सोच विकास र आलोचनात्मक बिचारको विकासमा सहायता पुग्ने विश्वास रहेको छ ।
शीतला मा.वि. र महानगरको सहकार्यमा सो विद्यालयको आफ्नै वेबसाइट निर्माण सम्पन्न भई कन्टेन्ट म्यानेजमेन्टको कार्य भइरहेको छ। जसले गर्दा सामुदायिक विद्यालयहरूको आफ्नो पहिचान अब विश्व सामु पुग्न मद्दत पुग्ने छ ।
शीतला माविमा उपप्रमुख ज्युसँगै शिक्षा विभाग प्रमुख सिताराम कोइराला, शिक्षा सल्लाहकार रेशु ढुंगाना अर्याल, आइटि विज्ञ सगुन ढुंगाना लगायतको टोलीले सो विद्यालयको बुक फ्री फ्राइडे, शिक्षामा सिप अन्तरगत ब्युटिशियन एण्ड हेयर स्टाईल, नियमित कक्षामा भइरहेका ह्याण्डस अन अन्तरगतका अन्य कार्यहरूको अनुगमन गर्नु भएको थियो ।
उक्त अनुगमनमा शीतला स्कुलमा स्काउट, नेपाल भाषामा सङ्गीत, चित्र बनाउने सीप तालिम लगायतको सिकाइ भएको छ भने विद्यालयमा जुरेस, इको क्लब, जर्नल पब्लिकेशन क्लब, डिआरआर क्लब, स्काउट, कोड क्लब, बाल क्लब, डिबेट क्लब लगायत १० वटा क्लबहरू संचालनमा रहेको विद्यालयका प्र.अ. लक्ष्मण श्रेष्ठले ब्रिफिङ्ग गर्नुभयो ।
