दस बुँदे घोषणापत्र सार्वजनिक गर्दै दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सम्पन्न
२२ असार २०७९, काठमाडौं ।
नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा हिजो एक दिने दोस्राे मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन २०७९ सम्पन्न भयो ।
कामपाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा सुरेश किरण मानन्धरले “नेपालभाषा पत्रकारिता : अवसर र चुनौती” तथा अजितमान तामाङले “मातृभाषामा पत्रकारिता : अवसर र चुनौती” विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि डंगोलले मातृभाषा पत्रकारिता गर्दैको अवस्थामा लिपिलाई पनि सँगसँगै लगेमा अझ राम्रो हुने सुझाव दिँदै समयको माग बमोजिम मातृभाषाबाट पनि डिजिटल पत्रकारिता गर्न पनि अनुरोध गरे । महानगरले महानगरका विद्यालयमा गतवर्षबाट कक्षा १ देखि ८ सम्मको स्थानियभाषामा अध्यापनको कार्य सुरु गरेको स्मरण गर्दै मातृभाषालाई बचाउनको लागि हरेक घर नै एक विद्यालय भएको हामी अभिभावक गुरु हौं र हामीले नै सिकाउनु पर्ने कुरामा जोड दिए ।

नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त सम्मेलनले निम्नलिखित दस बुँदे घोषणा पत्र पनि सार्वजनिक गरेको छ ।
१. आज भन्दा ९७ वर्ष पहिले वि.सं १९८२ साल (नेपाल संवत १०४५) बुद्ध जयन्तिका दिन सुरु भएको मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुँदैछ । यस ऐतिहासिक अवसरमा २०८२ सालको शताब्दी वर्षका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने यो सम्मेलन घोषणा गर्दछ ।
२. विगत ८ वर्षदेखि हरेक वर्ष बुद्ध जयन्तिको अघिल्लो दिन मनाउँदै आइरहेको “मातृभाषा पत्रकारिता दिवस” लाई शताब्दी वर्षदेखि राष्ट्रिय दिवसका रूपमा मनाउने घोषणा गर्दछ ।
३. मातृभाषाको पत्रकारिता सुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकाशित गर्न सरकार समक्ष माग गर्दै त्यसका लागि पहल गर्ने घोषणा गर्दछ ।
४. वि.सं १९८२ सालमा पहिलो पटक नेपालभाषामा बुद्ध धर्म पत्रिका प्रकाशन गरी मातृभाषाको पत्रकारिता मार्फत भाषा, कला, साहित्य, संस्कृतिको विकासमा योगदान पुर्याएका इतिहास पुरुष धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) लाई मातृभाषाको पत्रकारिताको प्रेरक व्यक्तिका रूपमा हरेक वर्ष धर्मादित्य धर्माचार्य जन्मजयन्ती मनाउने परम्परा अब सम्पूर्ण मातृभाषी पत्रकार संघसंंस्थाले राष्ट्रिय उत्सवका रूपमा मनाउने यो सम्मेलन घोषणा गर्दछ ।
साथै, यो दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सरकार समक्ष निम्न मागहरू राख्दछः
५. मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारहरूको क्षमता विकासका लागि सरकारी तहबाट “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्न यो सम्मेलन माग गर्दछ ।
६. मातृभाषामा प्रकाशित/प्रसारित हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यमका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट लोक कल्याणकारी विज्ञापनको विशेष व्यवस्था गर्न यो सम्मेलन माग गर्दछ ।
७. नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न पत्रकारिता पुरस्कारको सवालमा विशेष मापदण्ड बनाई मातृभाषामा पत्रकारिता गर्ने समुदायका पत्रकारलाई अनिवार्य समेट्न यो सम्मेलन सरकारसँग आग्रह गर्दछ ।
८. सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल, नेपाल विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन यो सम्मेलन जोडदार माग गर्दछ ।
९. भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अविलम्ब आवश्यक कानुन बनाई राष्ट्रिय रूपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन सरकार समक्ष माग गर्दछ ।
१०. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको विभिन्न तथ्यहरूबाट पुष्टि भइसकेको सन्दर्भमा श्री श्रेष्ठलाई अविलम्ब महासंघको संस्थापक अध्यक्ष घोषणा गर्दै इतिहास, तथ्य र प्रमाणहरूको सम्मान गर्न पत्रकार महासंघ, नेपाल सरकार लगायत सम्बन्धित सरोकारवाला समक्ष यो सम्मेलन जोडदार माग गर्दछ ।