चन्द्रागिरी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख घनश्याम गिरीलाई खुलापत्र
श्रद्धेय नव निर्वाचित नगर प्रमुख धनश्याम गिरीज्यु,
चन्द्रागिरी नगरपालिका,
काठमाडौं ।
दोश्रो स्थानीय तह निर्वाचनबाट पुनः नगरबासीको सेवा गर्न शुभ अबसर प्राप्त भएकोमा हार्दिक बधाई छ । आजबाट तपाईं फेरि नेपाली कांग्रेसको प्रतिनिधि सहित जनताको प्रतिनिधिमा रुपान्तरित हुनुभयो तर तपाईंको राजनीतिक घर काग्रेस पार्टी हो भन्ने नबिर्सनु होला ।
कानूनी राज्य, विधिको शासन, नगरबासीको जनजिबिका र नगरबासीको खुसी प्राप्ति जनप्रतिनिधिको प्रमुख कर्तब्य हुनपर्छ । जनताभन्दा कुनै नेता सुपर पावर हुँदैनन् । लोकतन्त्रमा जनता नै सर्बाेपरि सुपरपावर हुन् । जनप्रतिनिधि शक्तिशाली जनताका अधिकार प्रयोग गरिदिने जनताले पठाएका, चुनेका एक सदस्य हुन्, बिकास के गर्ने ? कस्ता योजना कार्यान्वयन भए जनता खुसी र खुसी हुन्छन् ? योजना छान्ने अधिकार उनीहरुको हो । यसमा प्रसस्त बहसको जरुरी पर्छ । म मेयर हुँ, मैले बनाएको योजना, मैले गरेको कामबाट नगरबासी सन्तुष्ट हुन पर्छ भन्ने सिदान्त सामन्तबादी सोच हो । यसबाट टाढा रहनु होला योजना छनोट ब्यापक बहस र वडाको माग अनुसार हुन पर्छ । नगरको लगानी सबै बर्ग एवं वडाबासीकालागि समानताको सिदान्तमा आधारित हुन पर्छ । नगरको पहिलो प्राथमिकताको रोजाई निमुखा, गरीब, असहाय, बाल, बृद्ध लक्षित हुन पर्छ अनिमात्र अन्य क्षेत्रमा ।
नगरमा सेवाग्राही आउँदा छिटो छरितो समस्या समाधान गरेर खुसी सहितको बिदाई नै सच्चा जनप्रतिनिधिको कर्तब्य हो । आग्रह पुर्बाग्रह जनप्रतिनिधिमा लाग्ने ग्रहण हुन् । यसले जनप्रतिनिधिको शक्ति क्षय गर्छ जनतामा विभेद जन्माउँछ । राजनीति भनेको समाज मिलाउने प्रकृया हो, जोड्ने प्रकृया हो, न कि समाज विभाजन गर्ने । जब जनप्रतिनिधि तेरो मेरोमा लाग्छ, जनतामा शक्ति प्रदर्शन गर्छ, अहमता देखाउँछ, ऊ आफू बिग्रन्छ र पार्टीलाई पनि नोक्सान गराउँछ । एउटा लोकतन्त्रमा बिश्वास राख्ने साथीको हैसियतले तपाईं मार्फत सबै जनप्रतिनिधिहरुमा पनि मेरो यही सुझाव र सल्लाह छ ।
चुनाब हारेमा नानाभाँती आरोप प्रत्यारोप गर्ने जितेमा मैले जितेको भन्ने अहमता तपाईमा नदेखियोस्, सबै नगर भित्रका काँग्रेस जनको रगत पसिना र मिहेनत जीतको परिणाम हो । सदा लोकतान्त्रिक काँग्रेस विचार जनजनमा, घरघरमा पुर्याउने पार्टीको उद्देश्य साकार पार्न तपाईमा प्रेरणा जागोस् । नगरका जेष्ठले समान पाउन् । युवाले आर्जन, गरीबले आय र निमुखाले न्याय नगरबाट प्रतबिम्बित होस् । नगर बिकास भयो भन्ने पार्टी कार्यकर्ताले होइन जनताले अनुभूति गर्न पाउन पर्याे । गरीब र अल्पआयको भान्छा रमाइलो हुने, किसानलाई खेतीपाती गर्न सहज हुने ब्यापारी उद्योगीलाई ब्यवसाय सहज हुने, बाल बिद्यार्थीलाई क्षमता वृत्तिमा सहज हुने उपायको बहस खोजी अनुसन्धानमा ध्यान पुर्याएर अगाडि बढ्न बिपि बिचारले प्रेरीत गरोस् । शुभकामना छ ।
देश युवाहरुको हो युवामैत्री नगरपालिका बनोस् । बिद्यमान परम्परागतरुपमा रही आएका कर्मचारीमुखी हाकिमवादी ब्यबस्था अन्त्य गरेर जनतामैत्री वडा संचालनमा सबैको साथ र सहयोग तपाईहरुलाई प्राप्त होस् । तपाईंको कर्मले चन्द्रागिरीमा तेस्रो पटक काँग्रेस निर्वाचित हुने अबस्था सृजना भएमात्र तपाइको २ पटकीय मेयरले सार्थकता पाउने र तपाईको राजनीतिक भबिष्य अझ उचाईमा पुग्ने तथ्य नभुल्नु होला । पुनः बधाई एवं शुभकामना ।
जय नेपाल !

– गौरीप्रसाद दवाडी
चन्द्रागिरी न.पा., काठमाडौं
९ जेठ २०७९