संस्कृति

आज छठ पर्व धुमधामका साथ मनाउँदै

आज छठ पर्व धुमधामका साथ मनाउँदै

मंसिर ५, काठमाडौं

छठ पर्व नेपाल र भारत लगायत विश्वमा रहेका हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी देवीको पूजा आराधना गरी सम्पूर्ण परिवारको कल्याणको कामना गरिन्छ । नेपालमा विशेष रूपले तराई मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ ।

यस पर्वको पहिलो दिन कार्तिक शुक्ल चतुदर्शीका दिन नहान खानका दिनदेखि ब्रत शुरु गरी पञ्चमीका दिन खर्ना हुन्छ भने छठ पर्वको मुख्य दिन षष्ठीमा नदी, तलाउ, पोखरी, कुवा जस्ता जलाशयमा सपरिवार पुगि अस्ताउँदो सूर्यको उपासना गरिन्छ र सप्तमीका दिन पारण अन्तर्गत उदाउँदो सूर्यको पूजा उपासना पश्चात छठ पर्वको समाप्ती गरिन्छ ।

फाइल फाेटाे

यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी साँझपख खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतका अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । त्यस्तै सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको मानिदैं आएको विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *