यसै वर्षबाट हुन्छ कि इखा नारायणको खट जात्रा ?
१८ कार्तिक २०८२, काठमाडाैं ।
काठमाडौंको मुटु असनबाट दक्षिणमा रहेको थायमदु टोलमा रहेको इखा नारायणको खट जात्रा रोकिएको ३ वर्ष भएको छ । झण्डै २५० वर्ष पुरानो ऐतिहासिक जात्रा विगत ३ वर्षदेखि विविध कारण हुन सकेको छैन ।
विगत ३ वर्षदेखि भगवानको मूर्तिलाई हातमै बोकी मन्दीर परिक्रमा पश्चात जात्रा सम्पन्न गर्दै आएको पाइन्छ ।
विगतमा कामपा २५ वडामा रहेको ऐतिहासिक इखा नारायण मन्दिरमा सकिमना पुन्हीको दिन साँझ नारायण भगवानलाई खतमा राखी बाजागाजा सहित भव्य सिन्दुर जात्रा गर्दै थाय् मदुबाट, असन, बालकुमारी, जनबहाल, वंघः, मखः, हनुमानढोका, प्याफल, यटखा, नरदेवी, त्यंघः, न्ह्योखा परिक्रमा पश्चात पुनः थाय् मदुस्थित मन्दिर पुगेपछि इखा नारायणको जात्रा सम्पन्न गरिन्छ ।

स्थानियका अनुसार तीन वर्ष अघि जात्रा गर्ने खट राखिएको घर अवैध भन्दै महानगरबाट भत्काउने कोशीस गरेपछि अदालतबाट घर नभत्काउन आदेश दिएको र अदालतमा मुद्दा विचाराधिन भएकोले सो घर भित्र राखिएको सरसामान निकाल्न सकिएन जसमा जात्राको खट पनि भएकोले खट जात्रालाई निरन्तरता दिन नसकिएको बताए ।
यो जात्रा संचालनकोे निमित्त कुनै गुठि नभएको हुँदा स्थानियको सक्रियता र सहभागितामा यो जात्रा सम्पन्न गर्दै आइरहेको थियो । विविध बाधा अड्चनलाई हटाई यस वर्षबाट खट जात्रा पुनः सुचारु गर्न प्रयास भैरहेको छ ।