जात्रा पर्वफाेटाे फिचरसंस्कृति

बुंगद्यःका प्रतीक जल पानेजुले कीर्तिपुरमा याकःमिसालाई फूल प्रसाद दिए

१२ जेष्ठ २०८२, काठमाडौं ।
आज बुंगद्यःका जल पानेजु कीर्तिपुरको प्यंगःथांमा परम्परागतरुपमा हिँडेरै पुगी फूल प्रसाद वितरण गरिने परम्परालाई निरन्तरता दिएको छ ।


बुंगद्यः (रातो मत्स्येन्द्रनाथ)को रथ ईटी टोलदेखि जावलाखेलसम्म पु-याउने साइत निकालिएको ४ दिन अघि जल पानेजुद्वारा कीर्तिपुरको प्यंगःथांमा कीर्तिपुरका याकःमिसालाई फूल प्रसाद दिन जाने परम्परा रहिआएको छ । यस प्रकार बुंगद्यःको साथसाथै मीननाथको फूल प्रसाद पनि दिने गरिन्छ ।

यस वर्ष बुंगद्यः (रातो मत्स्येन्द्रनाथ)को रथ ईटी टोलदेखि जावलाखेलसम्म पु-याउने साइत जेठ १५ गते निकालिएकाे थियाे । १५ गते रथ जावलाखेल पुगेमा १८ गते भाेटाे जात्रा लगायत अन्य परम्परागत कार्यक्रमहरू सम्पन्न गरी साेही दिन रातो मत्स्येन्द्रनाथलाइ रथबाट सानाे खटमा राखी जात्रा गर्दै बुंगमतीमा लगिनेछ ।

यस वर्ष कीर्तिपुरका कन्या स्वरुपा याकःमिसा ७७ वर्षीय लक्ष्मी कुमारी प्रधानलाई फूल प्रसाद दिएपछि अन्य भक्तजनहरूलाई पनि फूल प्रसाद दिए भने भक्तजनहरूले पनि आफ्नो गच्छे अनुसार आफूले उत्पादन गरेका वस्तुहरू धान, चामल, गहुँ, मकै आदि भगवानलाई चढाए ।


याकःमिसा सम्बन्धमा एक किम्बदन्ती
याकःमिसा कर्कोटक नागराजकी रानी हुन् जो कीर्तिपुर प्यंगःथांको याकःमिसाको (अविवाहित महिला) भेषमा प्रकट भएकी हुन्छिन् । जसले कर्कोटक नागराजको नाममा जात्रा नचलाएको भएर आफ्नो शक्ति बलले बुंगद्यःको रथ तानेर टौदह पु-याउन खोज्दा तान्त्रिक बन्धुदत्त आचार्यको तन्त्र शक्तिको अगाडि सकेन र बुंगद्यःको एउटा लक्षण चोरेर टौदह तिर जान लागेको हुन्छ । यो कुरा तान्त्रिक गुरु बन्धुदत्त आचार्यले थाहा पाई साधना गरी टौदहको सट्टा कीर्तिपुरको प्यंगःथांमा त्यस कन्यालाई पु¥याई अलप हुनबाट जोगाएको थियो । पछि कर्कोटक नागराजको नाममा (इति टोलदेखि जाह्वलाख्यःसम्म) पनि जात्रा चलाउने र बुंगद्यः वर्षको एकपल्ट भेट्न आउने सर्तमा बुंगद्यःको एउटा लक्षण फर्काउन सफल हुन्छ । त्यसपछि उनलाई पनि शक्ति स्वरुपा कन्याको रूपमा फूल प्रसाद चढाउन प्रत्येक वर्ष जल पानेजु प्यंगःथांमा जाने गरेको पाइन्छ ।
यसरी बुंगद्यःसँग सम्बन्धित अन्य शक्ति स्वरुपा कन्याहरूमा जीवित देवी कुमारी र रथ चक्र ज्यापु कुलकी कन्या मलिनी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *