फाेटाे फिचरमहानगर समाचारशिक्षा

का.म.पा.का मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ अभिनन्दित (फोटो फिचर)

काठमाडौँ, २५ चैत्र २०७७ ।

काठमाडौँ महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय भाषाको पाठ्यक्रम लागू गरेर स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई सदाकालका लागि जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं शाखाले महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई हिजो एक कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरेको छ ।

उहाँहरुलाई अभिनन्दन गर्नुअघि उहाँहरुलाई ‘नेपा झीगु मांदेय् खः नेपाल भाषा झीगु मांभाय् खः’ अर्थात ‘नेपाल हाम्रो आमा हो, नेपाल भाषा हाम्रो मातृ भाषा हो’ भन्ने नारा लेखिएका व्यानर र नेवारी संस्कृति झल्किने बाजा–गाजासहित परम्परागत काठमाडौँको भित्री शहरको परिक्रममा गराइएको थियो । र्यालीपछि बसन्तपुर डबलीमा औपचारिक कार्यक्रम गरी उहाँहरुलाई उप्रधानमन्त्री ईश्वर पोख्रेलको प्रमुख आथित्यतामा सम्मान गरिएको थियो । विशेष अतिथिको रुपमा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ र अतिथिको रुपमा मंका खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठ सहभागी हुनु भएको थियो ।

अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोख्रेलले स्थानीय भाषाको पाठ्यक्रम लागू गरेर स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई सदाकालका लागि जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुखसहितलाई धन्यवाद दिनुभयो । ‘नेवार जाति इतिहासका जिवित तथ्य हो,’ मन्त्री पोखरेलले भन्नुभयो, ‘नेपालीहरुको इतिहास जातिय पहिचान हो । यहि कुरालाई ख्याल गरेर काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रमसहित पठन–पाठन सुरु गर्नु ठूलो कुरा हो । केही ढिला सुरु भयो तर, यो उत्तम काम हो ।’

कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल भाषाको पाठ्यक्रमलाई व्यवस्थित ढंगले लागु गर्नुपर्ने भन्दै सरकारको पनि पूर्ण समर्थन रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘काठमाडौँ महानगरपालिकाले पाठ्क्रमसहित पाठ्यपुस्तक छापेर पठन–पाठन सुरुका लागि शिक्षक छनोटको काम समेत सम्पन्न गरेको सुन्दा खुशी लाग्यो,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘अब यो सबै स्थानीय तह र १०, ११, १२ मा पनि लागू गर्दै उच्चशिक्षासम्म राष्ट्रव्यापि बनाउनुपर्छ ।’

कार्यक्रममा प्रमुख शाक्यले यो चुनौतिपूर्ण काम भएको भन्दै केन्द्र सरकारले समेत स्वामित्व ग्रहण गरेकोमा खुशी लागेको बताउनुभयो । ‘हामीले स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई जिवन्त राख्न यो चुनौतिपूर्ण कामलाई अघि बढाएका हौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘स्थानीय तहले गरेको कामलाई केन्द्र सरकारले समेत स्वामित्व ग्रहण गर्दा खुशी लागेको छ । केन्द्र सरकारको समेत साथ र सहयोगले व्यवस्थित ढंगले लागू गरेर अघि बढ्न सकारात्मक सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

उहाँले नेपाल भाषा पढाउन भन्दा पनि माध्यम नेपाल भाषा भएको स्मरण गराउनुभयो । उहाँले शुद्ध नेपाल भाषा नै पठान–पाठन गराउन नलागेको पनि बताउनुभयो । ‘हामीले नेपाल भाषा पढाउन लागेका होइनौँ । माध्यम मात्रै नेपाल भाषा हो,’ उहाँले भन्नुभयो, ‘यहाँको कला, संस्कृति, रहन–सहन, यहाँको रिति–रिवाज, यहाँको भूगोल, इतिहासबारे जानकारी गराउने माध्यम स्थानीय पाठ्यक्रम बनाएर पठाउने माध्यम मात्रै नेपाल भाषा गरेका हौँ । यो शुद्ध नेपाल भाषा होइन, माध्यम मात्रै हो ।’ उहाँले सबैको साथ–सहयोगले सम्भव भएको पनि जानकारी दिनुभयो । उहाँले काठमाडौँको सम्पदालाई पर्यटनसँग जोड्न चाहेको पनि बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख खड्गीले मेरो काठमाडौँ, हाम्रो काठमाडौँ भने जस्तै यहाँको भाषालाई पनि मेरो भाषा, हाम्रो भाषा भनि सिक्नुपर्छ भनेर स्थानीय भाषाको पठन–पाठन सुरु गरेको बताउनुभयो ।

कार्यक्रममा सम्वोधन गर्नेक्रममा जनकवि दुर्गालालले लामो समयदेखिको सपना पूरा भएको भन्दै भाबुक बन्नुभयो । ‘नेपाल संसारमा परिचित गराउन चाहिने उसको पहिचान भनेको राष्ट्रिय सम्पदाको सुरक्षा पहिलो हो । त्यो सुरक्षा कहिले हुन्छ त ?,’ उहाँले भन्नुभयो, ‘जब बच्चाहरुबाट त्यहाँको पहिचान सम्बन्धी कुरालाई आत्मसात गरेको हुन्छ । त्यसैबाट मात्रै हामी अभिमानकासाथ विश्वको सामू हाम्रो नेपाल भनेर उभिन सक्ने हुन्छौँ ।’

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरज वीर बज्राचार्यले स्वागत मन्तव्य र काठमाडौं शाखाका अध्यक्ष अरविन्द्रमान सिंहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अशोक विनायक गुठी, मंगलादेवी स्मृति प्रतिष्ठान, मुदिता सेवा गृह, सामाजिक क्रिया संजाल नेपाल, नेपाल वज्रयान महाविहार, ज्ञानमाला भजन खलः, मेत्तागार धम्म परिवार, पाको पुखुद्यां मानन्धर सनाःखलः, पहिको युथ क्लब, मासंगाः नेवाः पुचः, ओलम्पस क्लब, नेवाः वस्ती नेवाः स्कूल अभियान, मोडर्न नेवाः इङलिस स्कूल, देउला समाज, , ख्वताबजी कलाकार समूह, नेवाः स्यनामि दबू, आश्रय विद्यासदन, नेपाल आदर्श मा.वि., १५ वडा खड्गी ग्वाहाली पुचः, नेपालभाषा मिसा खलः, थहिती मानन्धर गुथि, श्री आकाश भैरवनाथ गुथि, नेपाः डान्स एकेडेमी, दिं–प्याखँ, किलाघः नासः खलः, नेवाः शिक्षा गुथि, नेवाः ग्वाहाली पुचः, जगतसुन्दर ब्वनेकुथि, जागरुक युवा समाज, संसार अनलाइन, उजय नेवाः आर्टिष्ट ग्रुप लगायतका संघ–संस्थाले पनि प्रमुख एवं उपप्रमुखलाई अभिनन्दन गरेका थिए ।

फोटो ः श्याम था, शरण ज्यापु हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *