दिगु तलेजु मूल पूजारीमा पुरुषोत्तम सुवेदी राजोपाध्याय नियुक्त

काठमाडौं, ८ चैत्र २०७७ ।

विराजकाजी राजोपाध्याय ।

काठमाडौंको दिगु तलेजु मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो । हिजो नवनियुक्त मूल पुजारी पुरुषोत्तम सुवेदीलाई दिगु तलेजु मन्दिरमा भित्य्राए । दिगु तलेजुका सहायक पूजारी जोशी थकाली पुष्पमान जोशीको अनुपस्थितीमा नारायणमान जोशीले सुवेदीलाई दिगु तलेजु भित्य्राएका हुन् । सहायक पूजारी मदनराज जोशीको संयोजकत्वमा आज मूल पूजारी भित्य्राउने काम भएको हो । मूल पूजारी सुवेदीले आजैबाट नित्य पूजा पनि शुरु गरेका छन् ।

गत कार्तिक १९ गते दिगु तलेजुका तत्कालीन मूल पूजारी नारायण राज सुवेदी राजोपाध्यायको निधनपछि मूल पूजारी पद रिक्त रहेको थियो । यहाँको पूजा दिक्षा प्राप्त राजोपाध्यायले नै सम्पन्न गर्नुपर्ने भएको हुँदा मूल पूजारी पद रिक्त रहेको थियो । मूल पूजारी नहुँदा यहाँका जोशीहरुबाट पूजा सम्पन्न हुँदै आएको थियो । ‘दिक्षा प्राप्त मूलपूजारी नभएको अवस्थामा समस्या भइरहेको थियो, आफ्नो पुर्खाले धानेको परम्परालाई निरन्तरता दिन आफूले योगदान दिन पाउँदा खुसी लागेको छ’ मूल पूजारी सुवेदीले भने ।

दिगुतलेजु मल्ल राजाहरुकी कुलदेवीको रुपमा लिइन्छ । विगतमा नित्य पूजामा राजाहरु स्वयम् नै उपस्थित रहने भनिएको छ । काठमाडौं हनुमानढोकास्थित तलेजु मन्दिरको बाहिर प्रतापमल्लको स्तम्भको ठीक अगाडि श्वेतभैरवको मन्दिरसँगै दिगु तलेजुको प्यागोडा शैलीको ६२ हात उचाइको कलात्मक मन्दिर रहेको छ । भाषावंशावलीअनुसार यो मन्दिर राजा शिवसिंह मल्लले बनाएका थिए । पछि वि.सं. १७२७ भाद्रमा राजा प्रतापमल्लले यस मन्दिरमा सुनको छाना र गजुर हाली मन्दिर जीर्णोद्धार गरेका थिए । कुलदेवता वा देवीलाई अलग्गै कोठामा राख्ने प्रचलन छ । कुलदेवता रहेको मन्दिरमा जो कोही पस्न नपाइने नियम छ र कुलदेवताको पूजा गुप्त रुपमा गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *