नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखाको कार्यालय समुद्घाटन सम्पन्न
लखतीर्थ काठमाडौं, १८ माघ २०७७ ।
हिजो नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं शाखाको कार्यालय समुद्घाटन का.म.पा. १५ लखतीर्थमा सम्पन्न भयो ।

का.म.पा.का मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सांसद जीवन डंगोल, प्रदेश सांसद राजेश शाक्य, पूर्व मन्त्री तीर्थराम डंगोल, पूर्व संघिय सांसद जीवन राम श्रेष्ठ लगायत नेवाः पत्रकार एवं शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि शाक्यले काठमाडौं शाखाले महानगरलाई भरपूर सहयोग गरेकोमा धन्यवाद दिंदै कार्यालय स्थापना भएपछि काम गर्न छिटो छरितो हुने बताए ।

कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष सुरज बज्राचार्यले काठमाडौं शाखाको वर्तमान कार्यसमितिले प्रसंशनीय कामहरु सम्पन्न गरेकोमा आफू लगायत सम्पूर्ण संस्थानै गौरवान्वित भएको बताउँदै भाडामै भए पनि आफ्नै कार्यालय भएपछि अझ आफ्नो क्रियाकलापमा गतिशीलतामा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं शाखाका अध्यक्ष अरविन्द्र मानसिंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा काठमाडौं शाखाले निर्वाचित भएको पहिलो महिनामै कामपासँगको सहकार्यमा येँयाः फोटो प्रदर्शनी र येँयाः फोटो पुस्तक प्रकाशन गरेको, भिजिट नेपाल २०२० को अवसरमा स्वयम्भूमा स्वयम्भु सम्बन्धी फोटो प्रदर्शनी गरेको, कोभिडका कारण अस्तव्यस्त भएका दबूका पत्रकारहरुलाई राहत स्वरुप मायाको चिनो प्रदान गरेको बताउँदै समय गतिशील छ यसैसँग हामी क्रियाशील हुन सकेमा सफल हुने विश्वास व्यक्त गर्दै काठमाडौं शाखालाई सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा कामपाका मेयर र उपमेयरद्वारा कार्यालय संचालन गरेकोमा बधाई ज्ञापन गर्दै काठमाडौं शाखालाई मायाको चिनो प्रदान गरिएको थियो भने काठमाडौं शाखालाई विभिन्न समयमा सहयोग गर्ने सहयोगी हातहरुलाई पनि सम्मान गरेको थियो ।
