लघुकथा – बाटो

साहित्यकार
रमेश मानन्धर अणु
कालिमाटी, काठमाण्डौ
नारा गुञ्जिनै रहयो ।
“डोजर आतंक बन्द गर ।
राज्य आतंक मुर्दावाद ।
जनताको मौलिक हक सुनिश्चित गर ।
जग्गा प्राप्ती ऐन लागु गर ।
प्रहरी दमन मुर्दावाद ।”
एक महिना अगाडि सडकको चौडाई बढाउनु पर्यो भनेर घर घरमा चिन्हो लगाउन आएको, अनि घर भत्काउन एक महिनाको म्याद दिएर गएको थियो सरकारी पदाधिकारीहरुले । आज एक महिना बितेको दिनमा पुलीस प्रशासन अगाडि राखेर डोजर लिएर आएको छ, घर भत्काउन । न मुआब्जा, न क्षतिपुर्ती, न त ब्यवस्थित पुनस्र्थापनको पहल । राज्यले गरेको आतंकको विरुद्ध टोलवासीहरु मिलेर विरोधको आवाज बुलंन्द गरिरहेको थियो ।
हुन त त्यहि सडकमा १५ बर्ष अगाडि पनि सडक चौडा गर्नको लागि घर भत्काएको थियो । त्यसबेला अलिअलि क्षतिपुर्ती पनि दिएको हो । देश विकासको लागि आ—आफ्ना घर भत्काएर योगदान दिएको थियो जनताले । त्यसबेला लक्ष्मी र नारायणको घर भने भत्काउनु परेको थिएन । घर अगाडिको जग्गा छोडेर नपुगेता पनि त्याहाँ घर नभत्काई पेटी केहि साँघुरो बनाई सडक चौडा गरेर लगेको थियो ।
आज फेरी सडक चौडा गर्ने नाममा डोजर घर अगाडि आइरहेको छ । पहिलो पल्ट घर नभत्काएको कारणले लक्ष्मी नारायणको घरदेखि भत्काउन सुरु गर्ने बिचार रहेछ उनिहरुको ।
एक महिना भित्र टोलवासीहरु सबै मिलेर कहाँमात्र गएन ? नेताहरुको घर घर, अड्डा अदालत । सामुहिक रुपमा मुद्धा राखेको पनि हो । अदालतले घर नभत्काउन भनी अन्तरीम आदेश पनि दिएको छ । तर पनि अदालतको आदेशलाई कुल्चिएर घर भत्काउन आएको छ सरकार । लक्ष्मी नारायणको यो एउटा मात्र घर परेको हैन । पहिला घर भत्काएर नयाँ घर बनाएकाहरुको पनि फेरी परेको छ । फेरी घर भत्काउनु परेको छ । विकासको नाममा सर्वसाधारण जनताले कति मात्र सहने ? यसपालि त मुआब्जा र पुनस्र्थापनाको कुरा त के मन्त्रालयको टेवुलमा बसेर कोरेको सडक मापदण्ड भित्र परेको भनि क्षतिपुर्ती दिने समेत कुरो गरेन ।
लक्ष्मी र नारायण साँच्चै भगवान लक्ष्मी नारायण जस्तै । नारायणको आमा बुवाले उसलाई अंश दिंदा अंशको नाममा त्यही सडक छेउको २ आना जग्गा दिएको । बाटोमा परेको जग्गाको मूल्यांकन धेरै हुन्छ भनेर अरु गरगहना त के एक पैसा पनि दिएको थिएन । नारायणलाई थाहा थियो आमा बुबाले उसलाई अंशमा अरु दाजुभाइहरुलाई भन्दा पक्षपात गरेको छ भनेर । तर पनि लक्ष्मी नारायणले बिरोधको एक शब्द पनि नराखि त्यहि जग्गाको लालपुर्जा हातमा लिएर घरवाट बाहिर आएको थियो ।
जग्गा मात्र भएर के गर्ने ? घर बनाउन एक पैसा कतैबाट आएको हैन । घर ठड्याउने नै उद्धेश्य लिएर नारायण विदेश उड्यो । यता लक्ष्मी र एक्लो छोरी तारा अर्काको घरमा बहालमा बसी, खालि जग्गामा कुटो कोदालो चलाएर बसिन् । विदेशी भूमीमा १० बर्ष भन्दा बढी रगत पसिना बगाएर कमाएर ल्याएको पैसाले आफ्नो जग्गामा दुईतले घर पनि बनायो । छोरीको बिवाह पनि गरिदियो ।
तारा लक्ष्मीको एक्लो छोरी जस्तै लक्ष्मी पनि आफ्नो आमा बुबाको एक्लो छोरी । लक्ष्मीले आफ्नो आमा बुबाको सम्पत्तीमा आँखा लगाएनन् । बुबाको मृत्यु पश्चात् आमालाई राम्रोसँग पाल्ने सर्तमा काकाको छोरा भतिजलाई सबै सम्पत्ती लेखी दियो तर लक्ष्मीले लिइनन् । आफ्नै घरको एउटा पसल कवल र एउटा कोठा बहालमा दिएर दुई बुढाबुढीले हात मुख जोडिरहेका लक्ष्मी र नारायण, अहिलेको सडक बिस्तारले उनिहरुको बाँकी रहने जग्गा भनेको कुनामा रहको ६ फुट चौडाइ ९ फुट लम्वाइ मात्र हो । अझ भनौं भएको घर सबै भत्काउनु पर्ने अबस्था ।
‘हे … हे …… पर्ख पर्ख’ भनिरहेको छ, डोजर अगाडि बढिरहेको छ । लक्ष्मी र नारायण डोजरलाई रोक्न डोजरको अगाडि अगाडि गयो । त्यहि बेला पुलिसले लठ्ठी हल्लायो । लक्ष्मी नारायणको टाउकोबाट रगत बगेको दुबै जनाको सेतो निधारमा देखेपछि मात्र थाहा भयो । नारा गुञ्जिरहेको त्यो स्थान एकाएक यूद्धभुमीमा परिणत भयो । पुलिसहरुले लाठीचार्ज गर्यो, स्थानिय मानिसहरुले ढुंगा, ईंटाले हान्न थाल्यो । क्षणभरमै सबै मानिसहरु तितर बितर भए ।
लक्ष्मी नारायणलाई डोजरको अगाडिबाट हटाउन पुलिसहरुले तान्न थाल्यो । लक्ष्मी नारायण दुई एक भइ डोजरलाई रोक्ने प्रयास गरिरह्यो । डोजर घुसुघुसु अगाडि आइरहयो । डोजर र घरको बिचमा मात्र लक्ष्मी नारायण । डोजरले एक पटक लक्ष्मी नारायणको घरको बरण्डामा ध्वाक्क के गर्यो बरण्डाको एक ढिक्का भ्वाक्क तल खस्यो । लक्ष्मी नारायण दुबै जना चिल्लायो “पर्ख ….. पर्ख ….. हामीलाई हाम्रो सामान निकाल्न देउ, बिन्ती बिन्ती । १० मिनेत पर्ख । १० मिनेत पर्ख …..।” भनेर आत्मसमर्पण झैं गर्यो ।
पुलिसको एक अधिकारीले डोजरलाई पर्खने इसारा गर्यो साथै १० मिनेट भित्र आपूmलाई चाहिने सामान बाहिर ल्याउन समय दियो । लक्ष्मी नारायण दुबै घर भित्र गयो । घरको मूलढोकामा उभिएर नारायणले आवाज राख्यो “हेर्नुहोस् दाजु भाई दिदि बहिनीहरु हामीले तपाईंहरुलाई न्यायको लागि एउटा बाटो देखाएर जाने छौं” भनेर ढोका बन्द गरेर भित्र गयो ।
१० मिनेट पछि घरको पहिलो तल्लाबाट लक्ष्मी नारायणहरुको आवाज सुनिन थाल्यो । नारामा आकाश गुञ्जायमान भयो । “प्रहरी दमन मुर्दावाद । राज्य आतंक मुर्दावाद । जनताको मौलिक हक सुनिश्चित गर ।”
बाहिर रहेका प्रहरी लगाएत अन्य मानिसहरु समेत यो के हुन लागेको भनेर बिचार नै गर्न नपाउँदै घरमा दनदनि आगो बलेको देख्न थाल्यो । कोठा सिंगै मत्तितेल छर्केर, आ—आफ्नो जिउमा पनि मत्तितेल खन्याई, बन्द कोठामा ग्यांस खोलेर आत्मदाहा गरेका थिए लक्ष्मी नारायणले ।
मानिसहरु स्तब्ध । के भयो अनि के हुन लागेको हो केहि भन्न सकेन मानिसहरुले । एकछिन सबै लाटाले केरा हेरे जस्तै हेर्न थाल्यो आगो बलि रहेकोे । पुलिसहरु पनि अवाक । अक्क न बक्क । के गरुँ, के नगरुँ ? घरको मुल ढोका ढपढपायो, भित्रबाट बन्द । आगो झन्झन् दन्दनि बल्न थाल्यो । नारा गुञ्जिनै रहयो । तर लक्ष्मी नारायणको स्वरमा आगोले पोलेको पिडा छैन । दृढ स्वरले नारा गुञ्जि नै रहयो, “सरकारी आतंक बन्द गर । जनताको मौलिक हक सुनिश्चित गर । प्रहरी दमन मुर्दावाद ।” लक्ष्मी नारायणको नाराको स्वर बिस्तारै बिस्तारै सानो हुंदै गयो । तर नारा गुञ्जिनै रहयो ।
(नेपालभाषाबाट अनूदित)